उद्वेगभित्र घोत्लिँदा

                      रमेश खतिवडा

उद्वेग (२०७५) हाइकू तथा सेन्यूहरूको सँगालो हो । यसका सर्जक चितवन इच्छाकामना–३ का कवि तथा हाइजिन तेजविलास अधिकारी (२०३२) हुन् । उनी श्रमशीलका उपनामले समेत चिनिन्छन् । साहित्यका सिर्जना र समालोचनाका दुवै पाटामा निरन्तर कलम चलाइरहेका अधिकारीको उच्छ्वास (२०७३), उद्वेग (२०७५), उच्छलन (२०७६) गरी तीनओटा हाइकूसङ्ग्रहहरू प्रकाशित छन् भने समीक्षा सन्दर्भ (२०६५), समय सन्दर्भ (२०७०) आदि समालोचना सङ्ग्रह प्रकाशित छन् ।

अधिकारले अस्तित्वको खोजी (२०६६), समालोचकको आँखामा हरिहर खनाल (२०७०) आदि ग्रन्थको सम्पादन गरेका छन् । साथै अधिकारीको विभिन्न पत्रपत्रिकामा सिर्जना र समालोचना छरिएर रहेको पाइन्छ । कानूनका समेत विद्यार्थी रहेका अधिकारी मूलतः नेपाली विषयका आचार्य हुन् । प्राध्यापनका अतिरिक्त अधिकारी विभिन्न साहित्यिक, सांस्कृतिक तथा सामाजिक सङ्घसंस्थमा आबद्ध छन् । निरन्तर तीनओटा हाइकूसङ्ग्रह प्रकाशित गरिसकेका अधिकारीको दोस्रो हाइकूसङ्ग्रह उद्वेगको छोटो चर्चा गर्ने प्रयास तल गरिएको छ ।

जापानी साहित्यको कविता विधाको लघुतम रूप हाइकूलाई नेपाली सहित्यमा पनि कविताकै लघुतम उपभेदमा राखेर हेरिएको पाइन्छ । हाइकू ५, ७, ५ को आक्षरिक संरचनामा तीन हरफका सत्र अक्षरमा रचना गरिन्छ । हाइकूमा जीवन जगत्सँग जोडिएर प्राकृतिक, साँस्कृतिक बिम्बहरू प्रस्तुत हुन्छन् । यो सूक्तिमय रहन्छ । सेन्यू हाइकूकै संरचनामा व्यङ्ग्य प्रधान हुन्छ । कवि अधिकारीले आफूले बाँचिरहेको समाजको यथार्थलाई विविध बिम्बका साथ हाइकूमार्फत प्रस्तुत गरेका छन् । आशा, निराशा, वितृष्णा आदिका कारण कवि मनमा उठेका उद्वेगहरू उद्वेग हाइकूसङ्ग्रहमा आएका छन् ।

इच्छाकामना साहित्य प्रवाह वितरक रहेको प्रस्तुत उद्वेग हाइकूसङ्ग्रहलाई भगवती अर्यालले प्रकाशनमा ल्याएको देखिन्छ । आवरण पृष्ठबाहेक भूमिका तथा समीक्षा खण्डसहित असी पृष्ठमा फैलिएको प्रस्तुत उद्वेग हाइकू सङ्ग्रहको मूलभाग पृष्ठ एकदेखि साठ्ठीसम्म फैलिएको देखिन्छ । यस उद्वेग हाइकूसङ्ग्रहमा २४० ओटा हाइकू तथा सेन्यूहरूलाई कवि अधिकारीले समेटेका छन् ।

कवि अधिकारीले जीवनयात्राका क्रममा देखे भोगेका सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक विकृति विसङ्गति तथा सङ्गतिबाट कवि मनमा उठेका उद्वेगहरूलाई उद्वेग हाइकूसङ्ग्रहका विषयवस्तु बनाएका छन् । सकारात्मक पक्षका समर्थन गरेका छन् भने नकारात्मक पक्षको कटु आलोचना गरेका छन् । सच्चिनका लागि व्यङ्ग्यमार्फत् घच्घच्याएका छन् । चेतनाथ धमलाले उद्वेगमा झिल्किएका अधिकारी शीर्षकको लेखमा उद्वेगका विषयवस्तुबारे उद्वेग भित्र हाइकू र सेन्यूहरू केही न केही सामथ्र्यवान् छन्, तिनले प्रकृति, विश्व संस्कृति र जीवनका क्रियाकलापलाई गहन चित्रण गरेको छ भनेका छन् ।

समयको माग शीर्षकको लेखमा कृष्णप्रसाद पोखरेलले उद्वेग हाइकूसङ्ग्रहका हरेक पङ्क्तिहरूको व्यङ्ग्यभाव उत्कृष्ट छ भन्दै कुनै कृत्रिम रङ्ग भर्नुपर्ने आवश्यकता देखिँदैन भनेका छन् । सुदर्शन थापाले एउटा अनुराग शीर्षकको लेखमा हाइजिन अधिकारीको उच्छ्र्वास र उद्वेग दुवैमा राष्ट्रप्रतिको गहिरो चिन्ता रहेको बताएका छन् ।

पाात्रहरू उनै परिवेश उही शीर्षकको लेखमा विदुर तिमल्सेनाले उद्वेगका हाइकूमार्फत सर्जकले समाज र समग्र राष्ट्रलाई नै लुछेर भञ्जन गर्न पल्केका दुष्ट ब्वाँसाहरूलाई निर्मम शब्दवाण प्रहार गरेर आफ्नो. आक्रोशलाई कलात्मक निकाश दिएका छन् भनेका छन् । गीता बास्कोटाले हाइकूकार युवापिँढी र आम जनतालाई आह्वान गर्दै देश र राजनीतितर्फ सचेत हुन आग्रह गर्दछन् (उद्वेग, अन्तिम गातो) भनेकी छन् ।

रामचन्द्र फुयालले विचार पक्षको प्राधान्यबाट आफूलाई च्युत हुन नदिनु र अन्योलग्रस्त वर्तमान जीवनमा दिशानिर्देशसहित सङ्गतिको आह्वानतर्फ सङ्केत गर्नु कवि तथा हाइकुकार मित्र तेजविलास अधिकारीको कव्यिक उपलब्धि हो (उद्वेग, अन्तिम गातो) भनेका छन् । कमल खत्रीले भ्रष्टाचार मौलाएको छ । शान्ति खलबलिएको मात्र होइन देशको अस्तित्व पनि धर्मराएको छ भन्ने विचारले आकुलव्याकुल अधिकारी यस कृतिबाट जनतालाई जागरूक हुन आग्रह गर्दछन् (उद्वेग, अन्तिम गातो) भनेका छन् ।

उपर्युक्त विद्वान्–विदुषीका धारणाले पनि उद्वेग हाइकूसङ्ग्रहको रचनागर्भ र विषयवस्तुबारे बोलिसकेका छन् । उद्वेगका हाइकूमार्फत नै उद्वेग हाइकूसङ्ग्रहका विषयवस्तुलाई नियाल्ने प्रयास तल गरिएको छ । अधिकारीको उद्वेग हाइकूसङ्ग्रह देशप्रेमले छताछुल्ल भएको छ । देशप्रेमले कवि हृदयलाई कुत्कुत्याउँदा प्रस्तुत हाइकूसङ्ग्रह सिर्जना हुन पुगेको देखिन्छ ।

मूलतः देशप्रेमकै सेरोफेरोमा उद्वेग हाइकूसङ्ग्रह घुमेको देखिन्छ । नेपाली समाजको सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक बेथिति, विकृति विसङ्गतिलाई कवि अधिकारीले व्यङ्ग्यपूर्वक प्रस्तुत गर्दै वर्गीय, जातीय, लैङ्गिक विभेदरहित समानतायुक्त सुन्दर समाज निमार्णको चाहना उद्वेग हाइकूसङ्ग्रहमार्फत गरेका छन् ।

प्राकृतिक विपत्ति भूकम्पको पीडा भोग्नुपरेको तीतो यथार्थ प्रस्तुत गर्दै त्यस समयमा राहत वितरण आदिमा राज्यले देखाएको उदासीनता र राहत वितरणमा देखिएको बेथितिलाई कवि अधिकारीले हाइकूमा प्रस्तुत गरेका छन् । राहत सम्बन्धित व्यक्तिमा पुग्न नसकेकोमा हाइकूकार यसरी व्यङ्ग्य गर्छन्ः
भूकम्प प्रभावित
एक्लै भिडिरहेछ
के को राहत । (उद्वेग, पृ.१)
रातो मच्छिन्द्र जात्राको साँस्कृतिक महत्त्व देखाएका छन् । देश र जनता अझै पनि गरिबीको रेखामुनि रहेको यथार्थलाई प्रस्तुत गरेका छन् । देश समृद्ध हुन नसकेको तीतो यथार्थलाई सांस्कृतिक बिम्बसँग जोड्दै व्यङ्ग्यपूर्वक हाइकूकार यसरी प्रस्तुत गर्छन्ः
रातो मच्छिन्द्र
हाम्रो आङ नाङ्गै छ
भोटो जात्रा रे । (उद्वेग, पृ.२)
पैसा खर्च गरी चुनाव जिती सांसद बन्ने राजनीतिक दलको घिन लाग्दो चरित्रप्रति कवि अधिकारीले खेदप्रकट गरेका छन् । पैसा खर्च गरेर सांसद बनी रातारात आफू धनी बन्ने र देशलाई खोक्रो बनाउने, राजनीतिलाई पेसा बनाउने घिनलाग्दो नेपाली राजनीतिमा मौलाएको कविले यसरी प्रस्तुत गरेको पाइन्छः
नोट व्यापार
छिट्टै धनी हुुनु छ
बन सांसद । (उद्वेग, पृ.४ )
राजनीति लुटिखाने भाँडो, व्यवसाय भएको तीतोे यथार्थलाई कविले यसरी प्रस्तुत गरका छन्ः
राजनीति त
बन्यो खेती लुटको
हिस्स जनता । (उद्वेग, पृ.१४)
राज्यसत्ता परिवर्तन भएर देशमा गणतन्त्र आए तापनि सर्वसाधरण, गरिब, मजदुर, किसानले राज्यव्यवस्था परिवर्तन भएको महशुस गर्न सकेका छैनन् । दाल भातकै लागि ठूलो सङ्घर्ष गर्नु परेको यर्थालाई कवि यसरी प्रस्तुत गर्छन्ः
हाम्रो ध्याउन्न
बिहान र बेलुका
दाल र भात । (उद्वेग, पृ.६)
सधैँ त हामी
दास जस्तो पो भयौ
खै उन्नयन । (उद्वेग, पृ.४१)
जीवनयात्रा त सङ्घर्षपूर्ण छँदै छ । त्यसमा पनि प्राकृतिक प्रकोप पहिरोलो मानिसमा थपिदिएको पीडाको मर्मस्पर्शी अनुभूति हाइकूकार यसरी गर्छन्ः
पहिरो खस्छ
पहाडी भूगोलमा
सकस यात्रा । (उद्वेग, पृ. ७ )
हाइकूकार व्यवस्था मात्र परिवर्तन भएर नहुँदो रहेछ भन्ने निष्कर्षमा पुगेका छन् । देशले असल नेतृत्व कर्ता पाउन नसकेकोमा उनी यसरी चिन्ता व्यक्त गर्छन्ः
खोजी छ यहाँ
असल राजनेता
उत्पादन खै ? (उद्वेग, पृ.१०)
देशका मूलभूत समस्या समाधानका लागि बनाइएका संवैधानिक आयोगहरू जागिर खाने ठाउँ मात्र भएकोमा हाइकूकार यसरी व्यङ्ग्य गर्छन्ः
समस्या आयो
आयोग बनाउँ है
भो समाधान । (उद्वेग, पृ. १०)
आजीवन भाषा साहित्यका मार्फत सेवा गरेका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई हाइकूकारले यसरी स्मरण गरेका छन्ः
गुरु हौ तिमी
हामी भाषा सेवीको
लक्ष्मीप्रसाद । (उद्वेग, पृ. ११)
साहित्य जनभावनामुखी नभएको पुरस्कारमुखी हुँदै गएको भाव सङ्केत गर्दै साहित्यिक आदि कार्यक्रममा पुरस्कार वितरणमा देखिएको घिनलाग्दो चरित्रप्रति हाइकूकार यसरी रोष देखाउँछन्ः
साहित्य खेती
पुरस्कारको धन्दा
आम्दानी स्रोत । (उद्वेग, पृ.१५)

राज्यसत्तका नेतृत्वकर्ताहरूको व्यवहारले जनता निराश भएका छन् । जनतालाई सत्तामा जाने भ¥याङ बनाएका छन् । देशलाई समृद्ध बनाउनेभन्दा पनि सत्तामा गएर आफू बन्ने र देशलाई खोक्रो बनाउने राजनीतिक दलका चरित्रप्रति खेद प्रकट गर्दै हाइकूकार यसरी विमति राख्छन्ः
बन्ने हो बन्ने
बनाउने होइन
छि : राजनीति । (उद्वेग, पृ.१७)
जनताले सामान्य स्वास्थ्योपचार नपाउँदाको पीडा हाइकूकारले प्रस्तुत गरेका छन् । सार्वभौम देशको नागरिक भनेर छाती फुलाए तापनि एक चक्की सिटामोल र एक चम्ची जीवन जल नपाएर छट्पटी छट्पटी मर्नुपरेको दुःखदायी यथार्थलाई कवि यसरी प्रस्तुत गर्छन्ः
जीवन जल
नपाएको जनता
के सार्वभौम ? (उद्वेग, पृ.१९)
अध्यापन सेवामा समेत संलग्न रहेका अधिकारी विद्यालयमा अध्यापनका लागि नियुक्त हुने तर एकघण्टी पनि नपढाउने संस्कार भएका गुरुलाई हाइकूमार्फत यसरी व्यङ्ग्य गर्छन्ः
एक घण्टी त
अध्यापन नगर्ने
असल गुरु । (उद्वेग, पृ.२१)
हाइकूकार जस्तोसुकै परिस्थिति आए तापनि राज्यव्यवस्थाले निराशै निराशा भरे तापनि आफ्नो अग्रगामी विचार नछोड्ने प्रतिज्ञा यसरी राख्छन् र निराशामा आशाको खोजी गर्न पुग्छन्ः
रोकिन्न अब
वैचारिक यात्रा त
बढिरहन्छ । (उद्वेग, पृ.२२)
मान्छेलाई लोभ, मोह, क्रोध, राग, तृष्णा आदिले सताएको छ । मान्छे मान्छे बन्न नसकेकोमा हाइकूकार यसरी चिन्ता गर्छन्ः
मान्छे बनेन
अर्कै धातुको मान्छे
राग मात्र पो । (उद्वेग, पृ.२६)
देशलाई समृद्ध बनाउन जनता स्वयम् जाग्नु पर्ने र राज्यसत्तका नेतृत्वकर्ताहरूलाई घच्घच्याउनु पर्ने निष्कर्ष हाइकूकार यसरी राख्छन्ः
खोल्नु छ बाटो
चेतना यात्रा अब
बन्न समृद्धि । (उद्वेग, पृ.२९)
स्वकीय भाषिक प्रेम देखाउँदै नेपाली समाजमा मौलाएको भाषिक औपनिवेशप्रति हाइकूकार यसरी चिन्ता गर्छन्ः
हाम्रो भाषा त
निल्ने भो साम्राज्यले
के को साहित्य । (उद्वेग, पृ.४२)
कविले देशका श्रमिक, किसान, मजदुर वर्गप्रति सहानुभूति राखेका छन् भने सित्तैमा लुटिखान पल्केकाप्रति यसरी कटाक्ष गरेका छन्ः
देशका स्तम्भ
गरेर खानेहरू
अरू लुटाहा । (उद्वेग, पृ.४४)
हाइकूकार अधिकारीले देशमा सङ्घीयता गणतन्त्र आएपछि जनताको जीवनशैली परिवर्तन हुन नसकेकोमा दुःख व्यक्ति गरेका छन् । लोकतन्त्रको सुन्दर पक्ष चुनाव, सहीदहरूको बलिदानबाट प्राप्त भएको गणतन्त्र,सङ्घीयता आदिलाई लुटिखाने भाँडो बनाएकोमा चिन्ता व्यक्त गरेका छन् । सङ्घीयता, गणतन्त्र कतै विफल हुने होइन भन्ने चिन्ता उस्तै छ ।

स्थानीय सरकारमा छोटे राजाहरूको गतिविधि लाजमर्दो देखिन्छ । शिक्षा व्यवहारोपयोगी हुन सकेन । बेरोजगारी बढ्दो छ । देशको मौद्रिक आम्दानीको स्रोत खाडी पसेका नेपाली युवाका पसिना रहेको देखिन्छ । राजनीतिक दलहरू देश विकासका लागि भन्दा पनि स्वार्थसिद्धका लागि गठबन्धन भएका छन् । मिलीजुली राजनीतिक दलहरू देश लुट्नमै व्यस्त छन् ।

कानून फितलो भएको, न्याय मरेको गुण्डागर्दीको राज चलेको पत्रकारितामा नैतिकता हराएको कुरा हाइकूमा प्रस्तुत भएका छन् । कर र महँगीले जनताको ढाँड सकेको तर राज्यसत्ताका नेतृत्वकर्ताहरू भाषणमै रमाइरहेको तीतो यथार्थ हाइकूका आएका छन् । यस्ता तमाम नेपाली समाजको यथार्थमय बेथितिलाई विविध बिम्बका साथ अधिकारीले हाइकूमार्फत अघि सारेका छन् ।

नेपाली समाजको सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक विकृति विसङ्गतिको यथार्थ प्रस्तुत गर्दै सच्चिनका लागि आग्रह गरेका छन् । जनतालाई समृद्ध देश बनाउनका लागि सचेत हुन आह्वान गरेका छन् । राज्यसत्ताका नेतृत्वकर्ताहरूको चरित्र र व्यवहार असल नभएसम्म देश समृद्ध हुन सक्दैन भन्ने निष्कर्ष उद्वेग हाइकूसङ्ग्रहमार्फत कवि अधिकारीले निकालेका छन् ।

हाइकूकार अधिकारीले मात्र आक्षरिक संरचना मिलाएर हाइकू भनेका छैनन् । अधिकारीले विचार तथा भाव पक्षमा जोड दिएका छन् । सूक्तिमयता भुलेका छैनन् । कतिपय ठाउँमा हाइकूको भाषाशैली सरल हुँदाहुँदै पनि जटिल बन्न पुगेको छ । पाठकलाई घोत्लिन बाध्य बनाएको छ । भाषाशैली सरल छ तर त्यसमा घोलन हुन पुग्ने अर्थगत व्यङ्ग्यकको कारण कतै कतै जटिल भाषाशैलीको भान हुन पुग्छ ।

तत्सम र तत्भव र झर्रो भाषाशैलीकै आधिक्य रहेको यस उद्वेग हाइकूसङ्ग्रहमा थोरै मात्रामा आगन्तुक शब्दको प्रयोग देखिन्छ । उद्वेगको अनुशीलनपछि उद्वेग हाइकूसङ्ग्रह समकालीन नेपाली साहित्यमा छुट्टै पहिचान बनाउन सफल जीवनबोध, युगबोध भएको राष्ट्रप्रेमले सबल, विद्रोहीचेतले रङ्गिएको अग्रगामी प्रगतिशील चेतले सशक्त उद्भूत काव्यको रूपमा रहेको निक्र्यौल निकालिएको छ ।

प्रतिक्रिया