गायनमा छलाङ मार्दै मनिष

काठमाडौं । गायक क्षेत्रमा लोकपप तथा आधुनिक गीतमा मनिष ढकाल–२५, चिनिएको नाम हो । ‘बटौली’, ‘रकेट’, ‘खोवामीत’, ‘प्रदेशी नभन’, ‘तिलहरी’ लगायतका उनका गीतले निकै चर्चा कमाउन सफल छन् । उनले गाएका प्रापःजसो गीत चर्चामा रहेका छन् । उनको पछिल्लो गीत ‘बटौली’ ले युट्युबमा राम्रो भ्युज बटुलेको छ । उनका पाँच नयाँ गीत रेकर्ड भइसकेका छन् भने ‘चुरापोते’, ‘उडूँउडूँ’, ‘तलतल’, ‘यो के भयो’ र ‘केटाभन्दा केटी धेरै’ गीत बजारमा आउँदै छन् । ‘अब आउन लागेका गीत पनि उत्तिकै मिहिनेत गरी बनाइएको छ’, उनी भन्छन्, ‘सबै गीतले दर्शक स्रोताको मन जित्ने विश्वास लिएको छु ।’

गीत संगीतको लतले उनलाई एक सफल गायकको परिचय दिलाउन सकेको हो । सार्वजनिक गीतले उनको सांगीतिक यात्रालाई अझै फराकिलो बनाउने देखिन्छ । उनका गीतमा चर्चित कलाकारले अभिनय तथा शब्द संगीत गर्ने गरेका छन् । केही गीतमा ढकालको आफ्नै अभिनय छ । उनका प्रायः गीत उनकै एकल स्वरमा सार्वजनिक भएका छन् । सार्वजनिक हुने तर्खरमा रहेको उनको गीत ‘चुरापोते’ मा भने उनी र रचना रिमालको आवाज रहेको छ ।

बाल्यकालदेखि नै गीत, संगीतमा रुचि राख्ने उनले २ कक्षा पढ्दा स्टेजमा गीत गाएको सम्झिए । उनले भने, ‘कक्षा २ मा पढ्दा पहिलो पटक स्टेज चढेर गीत गाएको हुँ ।’ २०७२ सालमा पहिलो पटक गीत रेकर्ड गरेर औपचारिक रुपमा सांगीतक क्षेत्रमा लागेका गायक ढकाल भन्छन्, ‘विभिन्न मेला, महोत्सव तथा आइडलमा पनि भाग लिएको छु ।’

उनले अन्य युट्युब च्यानलबाट गीत बजारमा ल्याइने गरे पनि अब आफ्नै व्यक्तिगत च्यानलबाट ल्याउने तयारी गरिरहेको सुनाए । उनी गीत संगीतका क्षेत्रमा प्रशस्तै सम्भावना रहेको देख्छन् । ‘राम्रो गर्न सके थोरै सिर्जनाबाट पनि चर्चा बटुल्न सकिन्छ’, उनले भने, ‘मिहिनेतपूर्वक सिर्जना गरियो भने छिट्टै दर्शक, स्रोताको नजरमा पर्न सकिन्छ ।’ उनले गीत संगीतका क्षेत्रमा केही विकृति रहेको बताए । गायक ढकालले भने, ‘यस क्षेत्रलाई इज्जत र सम्मानजनक पेशाका रुपमा विकास गर्न अग्रज तथा स्थापित कलाकारले विशेष ध्यान पु¥याउनुपर्छ ।’ घरपरिवारको प्रोत्साहन, हौसला र प्रेरणाका कारण आफू सांगीतिक क्षेत्रमा सफल हुँदै गएको बताउँदै संगीत मेरो नशामा बहिरहेको जिकिर गरे । उद्योग व्यवसायीका रुपमा परिचित उनका बुवा रामप्रसादले गायन क्षेत्रमा लाग्न उत्प्रेरणा दिएको मनिषले बताए । उनी भन्छन्, ‘मलाई गायक बनाउने बुवाको ठूलो चाहना थियो । बुवाको सपना साकार पार्न पाएकामा निकै खुसी छु ।’

प्रतिक्रिया