नागरिक जोगाउन सहयोग जुटाउँदै डोल्पाली युवा

डोल्पा । विश्वभर महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट डोल्पाली नागरिक जोगाउन स्थानीय युवाले सहयोग संकलन अभियान सुरु गरेका छन् । जिल्लाको ठूलिभेरी नगरपालिका अन्तर्गत पर्ने जुफाल बस्ने बालकृष्ण डाँगी, मनराम ठकुल्ला, ज्ञानेन्दविक्रम शाहीले सुरुमा सामुहिक २५ हजार रकम जम्मा गरेर यो अभियान थालेका हुन् ।

आधारभूत स्वास्थ्य सुविधामा पछि परेका दुर्गम डोल्पामा संक्रमित नागरिक जोगाउन पूर्व तयारी स्वरुप हेल्पिङ ह्याण्डमार्फत आर्थिक सहयोग जुटाउन अभियाननै चलाइएको हो । एकसाताबाट थालिएको यस अभियानमा विभिन्न व्यक्ति र संस्थाबाट दश लाख नगद रकम संकलन भइसकेको अभियान्ता बालकृष्ण डाँगीले जानकारी दिए ।

उनका अनुसार संकलित रकममध्ये ६ लाखबाट अक्सिजन सिलिण्डर, औषधि, मास्क, स्यानीटाइजर लगायतका सामग्री खरिद गरिएको छ । त्यसमा स्वास्थ्यकर्मीका लागि पनि आवश्यक सामग्री खरिद भएको र अवस्था हेरेर जिल्ला अस्पताल लगायतका आठवटै स्थानीय तहमा पठाउने योजना रहेको जनाइएको छ ।

सदरमुकाम दुनैमा पनि नागरिक सहायता कोष मार्फत दुई लाख रकम संकलन गरिएको छ । नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा, युवा समाजसेवी ओमेन्द्र केसी, पत्रकार टेकबहादुर शाही, समाजसेवी युवा योगेन्द्र बुढा लगायतले यो अभियान थालेका हुन् ।

संकलित रकम अत्यतै विपन्न नागरिकको उपचारमा खर्च गरिने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए । कोषको सदरमुकाम दुनै स्थित सिटिजन्स बैंकमा रहेको खाता नं ०४२०१ ००००००४६३०१ मा रकम जम्मा गरि सहयोग गरिदिन अपिल समेत गरिएको छ ।

प्रतिक्रिया