मत-विमत

मिथिला कलामा कचनी र भरनी

एससी सुमन २०७८ जेठ ३ गते ६:५१ मा प्रकाशित

एस.सी. सुमन

कायस्थ परिवारको बिहेमा दुलहाको घरबाट पाँचवटा छुट्टाछुट्टै कागजमा कोबर, दशावतार, बाँस र कमलदहका चित्र बनाई दुलही पक्षको घरमा पठाइन्छ । त्यसरी पठाउनुभन्दा पहिले प्रस्तुत चित्रमा सिन्दुर हाली कागजलाई विशेष रूपमा पट्याएर रातो मौलिक पहिचान धाँगोले बाँधिन्छ । त्यही सिन्दुर विवाहमा वरले बधूको सिउँदोमा हाल्ने चलन छ । यो चलन परम्परागत भएका कारण कायस्थ परिवारका महिला यस्तो चित्र तयार पार्न हस्तसिद्ध हुन्छन् ।

काल्पनिकताले परिपूर्ण र कला सिद्धान्तको दबाबबाट मुक्त भएको कारणले लोककलामा सौन्दर्य र सहजताको अनुभूति हुने गर्छ । जसले आफ्नो देशको माटोको सुगन्ध, मौलिकता र परम्परासँग जोडिएको अनुभूति गराउँछ । तसर्थ आजको समकालीन परिदृश्यमा लोककलाको चर्चा अत्यन्त आवश्यक हुन जान्छ । लोककलाको नाम लिनेबित्तिकै हाम्रो मस्तिष्कमा सबभन्दा पहिले मिथिला कलाका विभिन्न रूपको उपस्थिति हुन्छ । जसमा अरिपन, कोहबर, तान्त्रिक, गोदना आदि लोक चित्रको स्मरण हुन आउँछ । जसलाई यसरी बुभ्mन सकिन्छ– कचनी, भरनी, अरिपन, कोहबर, गोदना र तान्त्रिक । मुख्यतया कचनी, भरनी र तान्त्रिक शैलीको प्रयोग नेपाल र भारतको मिथिला क्षेत्रमा बसोबास गर्ने ब्राह्मण र कायस्थ जातिका महिलाद्वारा गरिँदै आएको पाइन्छ । लिखियामा प्रयोग हुने अधिकांश सामग्री दिनानुदिन प्रयोग हुने वस्तुबाट नै भित्ता, भुइँ तथा कागतमा लेखिन्थ्यो । घर बनाउँदा प्रयोग हुने बाँस, खरको टाँटीलाई समतल तुल्याउन माटो, भुस र गोबरको मिश्रणले कडा लेपन गर्नुपर्ने प्रविधि आजसम्म छ । रेखाचित्र कोर्ने हो भने सतहलाई चिल्लो बनाउन मलिलो रङको माटो प्रयोगमा ल्याइन्छ । मैथिलीमा यस्तो माटोलाई ‘चिकनी’ माटो भनिन्छ । चिकनी माटोको घोलले पुनः पोत्नुपर्छ, यस प्रक्रियालाई मैथिलीमा भित्तालाई ‘लेबनु र छ्छार्नु’ पनि भनिन्छ । कतिपय भित्तामा चित्राकृतिसमेत माटैले बनाइन्छ । पक्की भित्तालाई सजाउन चुना पोते पुग्छ । यसरी तयार पारिएको भित्ता हुन वा कागतको सतहमाथि चित्र कोर्न सुरु गरिन्छ ।

करचीको कलम मूलतः बाँसको मसिनो हाँगालाई ताछेर आवश्यकता अनुसारको बनाइन्छ । मसी वा रङको सहज बहाव होस् भनी तेर्सो काटिएको बीच भागमा चिरा लगाइन्छ । आजको आधुनिक पेनको निब करचीको कलमको विकसित रूप हो । ब्रस बनाउन करचीको टुप्पामा आवश्यकता अनुसारको कपास वा पातलो पुरानो सुतीको नरम कपडा बेरी ‘पिहुआ’ को रूप दिइन्थ्यो । लिखियामा करचीको कलम र पिहुआको प्रयोग भित्तामा र बसहा कागत दुवैमा गरिन्थ्यो । कायस्थ समुदायमा सुलेखन अभ्यासका लागि करचीको कलमको प्रयोग यदाकदा भइरहे पनि लिखियामा यसको प्रयोग प्रायः लोप भइसकेको छ । आजको पुस्तालाई यो प्रविधि अनौठो लाग्छ ।

मिथिला लोक–चित्रकलामा सरल वक्र दुई चार ठाडो, तेर्सो, समानान्तर आदि रेखाबाट त्रिकोण, वृत्त, चक्र भएका प्रारम्भिक अतिरिक्त अनेक ऐतिहासिक तथा वैदिककालीन उपनिषद् तथा उत्तर मध्यकालीन तत्वहरू पाइन्छ । आधुनिक वैज्ञानिक आधारमा खोजी गर्दा सिन्धुघाँटी सभ्यतामाथि आर्यले कब्जा गरेपछि आर्य सभ्यताको प्रभाव, हडप्पामा पाइएका माटाका भाडाका अवशेषमा अंकित चित्र र मिथिलाको ग्रामीण भित्तामा लेखिएका शिवलिंग, हात्तीको पेटमा बच्चा, हात्तीको चित्र अंकित, दुईपट्टि सम्मुख चरा वा पशुको अंकित चित्र, फूलपत्तिको अंकित चित्र आदिसँग तुलना गर्न सकिन्छ ।

लिखियालाई (मिथिला चित्रकला) पढ्न र बुझनको लागि यसको चित्र शैलीलाई बुझ्न आवश्यक हुन आउँछ । लिखियाको विभिन्न शैलीमध्ये मुल शैली कचनी र भरनी नै हुन् । कुनै पनि सतह भित्ता हुन् वा कागत साधारणतया चित्रांकन सुरु गर्दा विन्दुबाट सुरु गरिन्छ । गणितमा सरल रेखा दुई भाग विन्दुको बीचको छोटो दुरी प्रदर्शित गर्छ । यिनै रेखाको माध्यमले आकार र प्रकारको ज्ञान हुन्छ । जसले हामी कसैको रूप र उपस्थिति हेर्न पाउँछौँ ।

यसभित्र परोक्ष र प्रत्यक्ष रेखा रहेको हुन्छ । परोक्ष रेखालाई काल्पनिक रेखा पनि भनिन्छ । कलाकृतिमा परोक्ष रेखाको प्रयोगले आकारको सीमालाई समाप्त गर्छ । प्रत्यक्ष रेखाद्वारा कलाकृतिको निर्माण हुन्छ । यो गणित हो, जहाँ नाप–जोख हुन्छ । किनकि प्रत्यक्ष रेखा आकारको अनुपात र अनुरूप हुने गर्छ । जसले आकृतिको रूप निर्माण हुन्छ । पाषाण युगमा त्यसभन्दा पहिले गुफाकालका कलाकारले नै प्रत्यक्ष रेखाको खोज गरे । आदिमानव गुफाको भित्तामा पहिलो रेखा कोरी आफ्नो अभिव्यक्ति चित्रित गरे । यहाँ अभिव्यक्तिमा कुनै परिवर्तन भएको छैन । त्यही अभिव्यक्ति आज पनि छ । किनकि अभिव्यक्ति प्रकृति हुने गर्छ, अभिव्यक्ति बदलिँदैन त्यसको आयाम बदलिने गर्छ । ४० हजार वर्ष पहिला इन्डोनेसियाको गुफामा भेटेका भित्तिचित्र यसको प्रमाण हो ।

अचेल मिथिला लोकचित्र परम्पराले लैंगिक एवं जातीय विभाजनका रेखालाई मेटाइसकेको भए पनि परम्परागत लिखिया मूलतः कायस्थ एवं ब्राम्हण परिवारका नारीको अभिव्यक्तिको माध्यम थियो । कचनी शब्दको शब्दार्थ हो कचनु, काटनु अर्थात् विभक्त गर्नु हो । समानान्तर रेखाभित्र तल र माथि ठाडो, तेर्सो रेखाको प्रयोग गर्दा ज्यामितीय आकारको निर्माण हुने गर्दछ । कचनीको माध्यमले दुई बक्ररेखाको बीचमा ठाडो, तेर्सो रेखाको प्रयोग गरी विभिन्न प्रकारको फूलपत्ति, जनावर र मानव आकृति लेख्ने गरिन्छ । लिखियामा सर्वप्रथम विषय अनुसारको रेखाचित्र लेखिन्छ । तत्पश्चात् मसिनो रेखाले आकृति अनुसार कलमले मसिनो रेखाले भर्ने गरिन्छ । रेखा गणितीय आकृतिको बीचमा खाली स्थान भर्नको लागि विभिन्न आकारका फूलपत्ति, पशुपंक्षीका चित्र बनाइन्छ । कचनी शैलीको चित्रमा प्रायः कालो र रातो रङको बाहुल्यता रहेको पाइन्छ । कहिलेकाहीँ चित्रको मागनुसार विभिन्न रङको प्रयोग कलाकारको रुचिमा भरपर्दछ ।

भित्ताबाहेक भोजपत्र, ताडपत्र, कागज, क्यानभास र कपडा आदिमा बनाइने चित्रलाई पटचित्र भनिन्छ । पटचित्र संस्कृत शब्द हो । विशेष गरी कायस्थ जातिका महिला यसप्रकारका चित्र बनाउन निकै सिपालु हुन्छन् । कायस्थ परिवारको बिहेमा दुलहाको घरबाट पाँचवटा छुट्टाछुट्टै कागजमा कोबर, दशावतार, बाँस र कमलदहका चित्र बनाइ दुलही पक्षको घरमा पठाइन्छ । त्यसरी पठाउनुभन्दा पहिले प्रस्तुत चित्रमा सिन्दुर हाली कागजलाई विशेष रूपमा पट्याएर रातो मौलिक पहिचान धाँगोले बाँधिन्छ । त्यही सिन्दुर विवाहमा वरले बधूको सिउँदोमा हाल्ने चलन छ । यो चलन परम्परागत भएका कारण कायस्थ परिवारका महिला यस्तो चित्र तयार पार्न हस्तसिद्ध हुन्छन् । यी चित्र प्रायः कचनी शैलीमा बनाइन्छ । परम्परागत रुपमा कायस्थ परिवारमा प्रशासनिक तथा लेखापढीका लागि कलमको प्रयोग हुँदै आएकाले कायस्थ परिवारका महिला कलाकारले व्यापक रूपमा कलम र कागजको प्रयोग गर्ने गरेको पाइन्छ । मुलतः पातलो वा मोटो रेखाको भरमा अभिव्यक्त हुने आयामिक प्रकृतिको ‘कचनी शैली’ विकसित हुँदै गएको पाइन्छ । यो शैली प्रायः एकल कलाको उपासना हो । तसर्थ यो शैलीलाई कायस्थ शैली पनि भनिन्छ । मिथिला चित्र लोकप्रिय बन्नु र त्यसको अन्तर्राष्ट्रियकरण हुनुमा कायस्थद्वारा निर्मित यसप्रकारका पटचित्रको प्रमुख भूमिका रहेको छ । कचनी शैलीका हस्तसिद्ध कायस्थ परिवारका कलाकार पद्मश्री गंगादेवीको नाम अगाडि आउँछ । उनका कलाकृति टोकियो हासेगावाद्वारा स्थापित जापानको निगाता प्रान्तको टोकामाची सहरमा अवस्थित विश्वप्रसिद्ध मिथिला म्युजियममा छ । यस म्युजियममा १५ हजारभन्दा बढी दुर्लभ कलाकृति संग्रहित छन् । सबै कलाकृतिको आफ्नै पृथक तथा रोमाञ्चक कथा छ ।

मिथिला चित्रकलाको विषय मुख्यतया धार्मिक हुने गर्छ । जसमा देवीदेवतामा सीताराम, राधाकृष्ण, कृष्ण र गोपिनीको रासलीला, शिवपार्वती, दुर्गा, काली, सुर्य र चन्द्रमाको चित्रण देखिन्छ । केही तान्त्रिक प्रतीकको प्रयोग भएको पाइन्छ । लेबि–छ्छारि तयार पारिएको भित्तामा ठूल–ठूलो आकृतिमा पिहुआको सहाराले रङ भरिन्छ । भरनी भनेको रङ पोत्नु वा रङ भर्नु हो । यस्ता चित्र बनाउन ब्राम्हण परिवारका महिला कलाकार निपुण हुने गर्दछन् । कालो रङले तयार पारिएको रेखाचित्रभित्र रातो, पहेँलो, सुन्तला, बैगनी, हरियो रङको व्यापक प्रयोग गरिन्छ । सहजताले उपलब्ध हुने दैनिक प्रयोग हुने चीजबीजवाट बनाइने परम्परा अनुरूप, मैथिल ब्राह्मण परिवारमा पठनपाठन तथा पूजाआजाको परम्पराले गर्दा कथा चित्रणलाई सहज हुने ‘भरनी’ शैली खोज्न उत्साहित भएको हुनसक्छ । घरमा उपलब्ध हुने सिन्दुर, अबिर, चन्दन, विभिन्न रङका फूलको प्रयोगले यस्ता चित्र बनाएको पाइन्छ । तसर्थ यो शैलीलाई भरनी वा ब्राह्मण शैली भनिन्छ । भरनी लिखियामा एकल कलाकारको समर्पण जरुरी छैन । दक्ष चित्रकार हजुरआमा, आमाले कोरेको चित्रमा रङ भर्ने नयाँ सिकारु पुस्ताहरू कालान्तरमा कुशल चित्रकार हुने गर्छन् । त्यसैले यसलाई जीवन्त परम्परा भनिएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय