हाम्रो स्वाभिमानमाथि एमसिसिको नंग्रा

मानधोज मोक्तान

भीम रावल, ज्ञानेन्द्र शाही, पूण्य प्रसाई, डा.युवराज संग्रौलाहरू त कराउँदै छन् । भरत दाहालको यससम्बधी विश्लेषण सुन्दा खुन उम्लिन्छ । अब यो देशमा नाथुराम गोडसेहरू जन्मिछन् । कानुनी क्षेत्रमा डा.युवराज संग्रौला डा. सुरेन्द्र भण्डारी, विकास क्षेत्रमा डा. गोविन्द पोखे्रल, कूटनीटिक क्षेत्रमा भरत दाहाल, अरुण सुवेदी, आर्थिक सुधारको क्षेत्रमा अच्युत बाग्लेजस्ता धेरै विज्ञहरू छन् ।

सरसर्ती हेर्दा एमसिसि भनेको नेपालको सडक स्तरोन्नति, विद्युत् प्रशारण लाइन विस्तारलगायत अन्य पूर्वाधार निर्माण परियोजनाका लागि अमेरिकाद्वारा गरिने ५० करोड डलर अर्थात ५५ अर्ब रुपैयाँ अनुदान हो । तर, गहिरिएर विश्लेषण गर्ने हो भने एमसिसिको मक्सद धेरै डरलाग्दो छ । एमसिसि अमेरिकी सरकारकै एउटा निकाय हो । शेरबहादुर देउबाको प्रधानमन्त्रित्वकालमा माओवादी सम्मिलित सरकारले यो संझौतामा हस्ताक्षर गरेको हो । सम्झौता एमसिसिका तर्फबाट सहायक कार्यकारी र नेपालका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन् । नेपालका मन्त्रीलाई अमेरिका पुग्नु नै सबथोक हो । आफनो प्रोटोकलको पनि ख्याल गर्दैनन् । कति लाछी, कति कमजोर, कति लम्पट । नेपालका धेरैजसो नेता मन्त्रीहरू पढ्दैनन, अध्ययन गर्दैनन् । यसै कारण उनीहरूमा तार्किक क्षमता पनि छैन । सम्झौता भित्रका गुदी कुरा पनि बुझ्न सक्दैनन् ।

यो सम्झौताअनुसार नेपालले अमेरिकाको अहिलेको मात्र होइन पछि हुने नियम कानुन पनि मान्नुपर्नेछ । एमसिसी सम्झौता अन्तर्गतका परियोजनाका लागि लिएको जग्गा जमिन, अन्य सम्पत्ति अनन्तकालसम्म उनीहरूकै स्वामित्वमा रहनेछ । पाँच वर्षमै उक्त परियोजना सम्पन्न गर्ने प्रतिवद्धताचाहिँ नेपालीहरूको ढिलासुस्तीप्रतिको व्यंग पनि हुन सक्छ । यस्ताखाले सम्झौतामा हस्ताक्षर गर्ने मन्त्रीलाई सम्झीसम्झी रिस उठ्छ । एमसिसिसँग इन्डो प्यासिफिक स्टाटिजी गाँसिएको यथार्थता नेपालका दौरासुरुवाल लगाउनेहरू नबुझेका होइनन् । तिनीहरूको मुख सिआइएको पैसाले बन्द गरिदिएको छ । कतिपय नेता अध्ययन गर्दैनन् पनि । आइपिएस भनेको अमेरिकाको चीनलाई एकल्याउने रणनीति हो । यो साधारण मानिसले पनि बुझेका छन् ।

यस्तै नीतिमार्फत अमेरिकाले सन् १९६१ मा राष्ट्रपति जोनएफ केनेडीको पालामा लेटिन अमेरिकी देशलाई आफ्नो प्रभुत्वमा राख्न एउटा जाल फालेको थियो एलायन्स फर प्रोग्रेस अर्थात प्रगतिका लागि ऐक्यवद्धता भनेर प्रस्ताव आव्हान गरिएको थियो । यसैका निम्ती उरुग्वेको पुण्टा ढेल स्टेटमा अमेरिकी राष्ट्रपतिका विषेशदूतहरूसँग बृहत् छलफल कार्यक्रमको लागि लेटिन अमेरिकी देशका प्रतिनिधिहरू भेला भएका थिए । क्युबाका प्रतिनिधि चे ग्वराले आफ्नो तार्किक क्षमताले त्यहाँ सबैलाई चकित बनाएका थिए । त्यस प्रस्तावको प्रतिवाद गर्दै चे ले भनेका थिए, ‘गरिब र विकाशील देशहरूलाई धनी र साम्राज्यवादी देशहरूले आफ्नो अधिनमा राख्न आर्थिक प्रलोभनका जाल फाल्छन् । अर्थ नीतिलाई राजनीतिबाट अलग गर्न सकिन्न ।’ उनले यो योजना नै फेल गराइदिएका थिए । चे ग्वेवराको जस्तो साहास अध्ययन र तार्किक क्षमता भएको मान्छे नेपालमा जन्मन सकेनन् ।

भीम रावल, ज्ञानेन्द्र शाही, पूण्य प्रसाई, डा.युवराज संग्रौलाहरू त कराउँदै छन् । भरत दाहालको यससम्बधी विश्लेषण सुन्दा खुन उम्लिन्छ । अब यो देशमा नाथुराम गोड्सेहरू जन्मिछन् । म आफूलाई धिकार्छु ०२८ सालदेखि कम्युनिस्ट पार्टीको सदस्य लिएको मलाई अहिले कम्युनिस्ट नेताहरूकै गतिविधि देख्दा थुक्न मन लाग्छ । यो साढे तीन वर्षको अवधिमा हाम्रो सरकर अर्थात कम्युनिस्टको सरकार बन्यो तर के भयो ? सडक कालोपत्रे भएको छ । तर जनताको हित हुने कुनै एउटा काम भएको छ ? कुनै सरकारी कार्यलयमा छिटोछरितो काम बन्दैन । प्रशांसनतन्त्रमा सुधारको आवश्यक छ । प्रधानमन्त्री भुक्छन्, ‘खान नपाएर कोही मर्दैन ।’ तर पहिलो कोरोना कहरमा एभिन्युजले प्रशारण गरेको न्युजमा एउटी आमा दुइटा बच्चालाई पालिदिने कोही भएमा आत्महत्या गरेर मर्न तयार रहेको विवरण प्रशारण भएको थियो । त्यो प्रधानमन्त्रीको कानमा पर्यो होला ? मानिसहरू गफ र तुक्का जोड्ने प्रधानमन्त्री भन्छन्, त्यही सरकार सञ्चालन गर्ने पार्टीको सदस्य भएका कारण रिस उठछ । पार्टीप्रति, सरकारप्रति सर्वत्र जनताको आक्रोश छ । जनताले नयाँ सोच भएको र नयाँ अनुहार खोजिरहेका छन् । तर, एमसिसिलाई संसद्बाट पारित गराउन प्रधानमन्त्री स्वयं लागिपरेको देख्दा झन् आक्रोशको पारो बढेको छ । एमसिसिमार्फत अमेरिकी सेना नेपालमा परेड खेल्ने प्रवल सम्भावना छ । एमसिसिको मुख्य उद्देश्य नै चीनविरुद्ध गतिविधि गर्ने हो । यसलाई पास गराउनेहरू कहाँ जान्छन् ? देशभित्र जनताले पनि छाड्दैनन् बाहिर जाने ठाउँ हुँदैन कि अमेरिका नै भासिने हो ? त्यहाँ त काम गरेर खानुपर्छ त्यो तागत छ ? अझै समय छ । कारणहरूसहित यो ठीक छ, यो यो हाम्रो हितमा छैन भनेर निर्भिकतापूर्वक बोल्ने साहस गर्नुहोस् । त्यसरी साहसपूर्वक बोल्नुभयो र एमसिसिकै हितमा मात्र लेखिएका बुँदाहरू हटाएर लागू गर्न सक्नुभयो भने तपार्इं साच्चै राष्ट्रवादी नेता दरिनुहुनेछ । तर, एमसिसी जस्ताको तस्तै पास गराएर सुिम्पनुभयो भने जनताको पहिलो तारो तपार्इंहरू बन्नुहुनेछ । जो जो एमसिसि पास गराउन र लागू गराउन लागि पर्नुभएको छ कसैको पनि खैरियत छैन । किनभने देश रणभूमी बन्छ ।

जसरी चे ग्वेवाराले सन १९६१ मै जोडदार तर्क राख्दै राष्ट्रपति केनेडीको त्यो योजना फेल गराइदिएका थिए हाम्रा प्रधानमन्त्रीले पास गर्न लाग्नुभएको एमसिसि ठ्याकै चे ले भनेजस्तै छ । यो इन्डो प्यासिफिकसँग जोडिएको छ । नेपालको भूमि प्रयोग गरेर चीनमाथि खेल्ने अमिरिकी नीति कसले बुझेको छैन ? यति कुरा नबुझने देउबा, प्रचण्ड र तपार्इंको दिमागमा कसले लादी भरिदिएको छ ? त्यही हो सर्वहारा वर्गको पक्षमा राजनीति गरेको ? शेरबहादुरको त के न कुनै विचार छ न कुनै सिद्धान्त । प्रचन्ड ‘र’ द्वारा पालित पोषित । सम्माननीय प्रधानमन्त्री ज्यू, बाँकी रहनुभो तपाइ ।

सन् २००० सालतिर होला तपाईँ अमेरिका आउनु हुँदा म्याग्दीका साथी जनक रानाको घरमा सँगै करिब एक महिना बितायाैं । भुटानी शरणार्थीबारे कुरा हुँदा हाम्रो मन्त्रीहरूको अध्ययनको कमीको कारण भुटानसँग पनि तर्क गर्ने क्षमता नभएर नेपालमै राखेर बाहिर पठायो । नेपालले भुटान फिर्ता पठाउन सकेन भन्ने गुनासोराख्दा मलाई ‘मोक्तान जी तपाईं अलिक सेन्टिमेन्टल हुनुहुँदोरहेछ’ भनेर टार्नुभएको थियो । भुटानीहरूको सेन्टिमेन्टल बारे मैले बिएल दासको पुस्तक ‘मिसन अफ् भुटान’ पढेको छु । मेरा भित्र देवमणि दाहाल वाणिज्य विभागमा हुनुहुन्थ्यो र उहाँले भन्नुभएको भुटानका वाणिज्य विभागबाट ३६ जनाको टोली नेपालमा आएको थियो र वाणिज्य विभागले गोदावरीमा पिकनिक लगेछ ।  त्यहाँ एउटा रुखको नाम गलत लेखिएको त्यो टिमलिडरले पत्ता लगाएछ र भनेछ । त्यो नाम परिवर्तन गर्नुपर्छ । वनभोज सकिएपछि हिँड्ने बेलामा पनि अडान लिएछ र नाम परिवर्तन गरेर मात्र त्यहाँबाट हिँडेछ । टिमका सबै आफनो विषयमा ‘प्रफेक्ट’ थिए रे !

यसै सन्दर्भमा हाम्रो कमचारीतन्त्रलाई कसरी चुस्तदुरुस्त, अनुशासित बनाउने ? घुसखोरी ढिलासुस्ती, असक्षमता देशको ठूलो रोग हो । राजनीति परिवर्तन हुँदा पनि यसतर्फ कसैको ध्यान गएन । देशमा व्यापक सुधारको आवश्यक छ । अब नेपालमा कुनै वादको राजनीति होइन देश बनाउने अठोट र भिजन लिएर मार्ग चित्रसहित अघि बढ्छ भने सम्पूर्ण जनता उसको पछि लाग्ने माहोल तयार भएको छ । अहिलेसम्म राजनीति गर्दै आएका कुनै पनि अनुहारले अब देश हाँक्छ भन्ने जनताबाट विश्वास हटिसकेको छ । तसर्थ कानुनी क्षेत्रमा डा.युवराज संग्रौला डा.सुरेन्द्र भण्डारी, विकास क्षेत्रमा डा.गोविन्द पोखे्रल, कूटनीटिक क्षेत्रमा भरत दाहाल, अरुण सुवेदी, आर्थिक सुधारको क्षेत्रमा अच्युत बाग्लेजस्ता धेरै विज्ञहरू छन् । आउनुहोस् देश बनाउन र बचाउन । सिरिया र अफगानिस्तानको नियती हामीले भोग्ने नपरोस् । अब फिल्डमै उत्रिएर केही काम गर्नुपर्छ लेखेर र बोलेर यो देशमा केही हुनेवाला छैन ।

प्रतिक्रिया