‘भविष्यबारे प्रश्न उठ्नु स्वभाविक’ : कोम्यान

लण्डन । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो पद धरापमा पर्न सक्ने स्वीकार गरेका छन् । लेभान्टेविरुद्धको दोस्रो हाफमा टोलीले खराब प्रदर्शनका कारण उनले आफ्नो पदमा रहनुबारे प्रश्न उठ्नु स्वभाविक रहेको अभिव्यक्ति दिए । ला लिगामा गए राती बार्सिलोनाले २–० ले अग्रता लिएको खेल ३–३ को बराबरीमा अन्त्य भएपछि कोम्यानमाथि दबाब बढेको छ ।उपाधि दौड बलियो बनाउनका लागि बार्सिलोनामाथि जित्दै पर्ने दबाब थियो । टोलीले सुरुआत पनि त्यहि ढंगले गर्दै पहिलो हाफमा २–० को बनाएको थियो । तर, टोलीले त्यसलाई जोगाउन सकेन ।

दोस्रो हाफमा २ मिनेटको फरकमा २ गोल गर्दै लेभान्टे खेलमा फर्किएको थियो । २–२ को बराबरीपछि पनि बार्सिलोनाले अग्रता लिएको थियो । तर, त्यसलाई पनि टोलीले जोगाउन सकेन । बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, पेड्री र औसमाने डेम्वेलेले गोल गर्दा लेभान्टेका गोन्जालो मेलेरो, जोस लुइस मोरालेस र सर्जियो लिओनले गोल फर्काए । सर्जियोले ८३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । ‘प्रशिक्षकमाथि जहिले पनि प्रश्न तेर्सिन्छ । म त्यो राम्ररी बुझ्दछु । दोस्रो हाफको प्रदर्शनपछि मेरो भविष्यकै बारे स्वभाविक रुपमा प्रश्न उठ्छ’, कोम्यानले भने,’जे भयो त्यसले हामीलाई निराश बनाएको छ । हामीले अगाडि बढ्नु पर्दछ र नयाँ सिजनका लागि तयार रहनुपर्दछ ।’

प्रशिक्षक सधै जिम्मेवार रहने पनि कोम्यानले प्रष्ट पारेका छन् । ‘प्रशिक्षक सधै जिम्मेवार हुन्छ । हामीले मध्यान्तरमा रक्षपंक्तिमा सुधार गर्नुपर्ने विषयमा पनि छलफल गरेका थियौं’, उनले थपे, ‘२–० अग्रतामा थियौं । त्यस्तो परिस्थितिबाट बराबरी कल्पना गरिएको थिएन । आफ्नो टोलीका प्रदर्शनले मात्र बार्सिलोनाले अब लिग जित्न सक्ने अवस्था छैन ।’ अन्तिम २ खेल बाँकी रहँदा बार्सिलोना ७६ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल कम खेलेका शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७७ र तेस्रो स्थानको रियल म्याड्रिडको ७५ अंक छ ।

‘हामीले सबै ३ खेल जित्ने र आशा थियो अरुले अंक गुमाउनेछन । तर अब त्यो कठीन भएको छ । हामीले दोस्रो हाफमा खराब खेल्यौं’, उनले भने, ‘लेभान्टेले हामीहरु माथि संकट पारिरहे । हामीले त्यसलाई विफल पार्न सकेनौं । यो साह्रै निराशाजनक नतिजा आयो । के भयो बुझ्न पनि असम्भव जस्तै छ । यसलाई व्याख्या गर्न कठीन छ ।’ ‘ओस्माने डेम्बेलेले खेलमा बढी जसो रक्षात्मक भूमिका निर्वाह गरेपनि उनी १ गोल गर्नुका साथै अर्को गोलका लागि एसिस्ट गर्न सफल भए । उनले विङ्सबाट विपक्षीमाथि दबाब बनाइराखे । रक्षात्मक भूमिकामा पनि उत्तिकै राम्रो रहे’, कोम्यानले डेम्बेलेका बारेमा भने,’उनी सबै हिसाबले आक्रमण र रक्षात्मक दुवैमा उत्तिकै सफल रहे ।’

प्रतिक्रिया