कोरोना महामारीमा प्रवासीले दिए साथ

बागलुङ । कोरोना महामारीविरुद्धको लडाइँमा प्रवासी नेपालीले साथ दिएका छन् । विश्वभर छरिएर रहेका बागलुङेको संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजले महामारीका बेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका हुन् ।

समाजको सहयोग र नेपाल पत्रकार महासंघ बागलुङको समन्वयमा मङ्गलबार धवलागिरि अस्पताललाई ५० थान व्यक्तिगत सुरक्षा कवच (पिपिइ), १५ लिटर स्यानिटाइजर, सर्जिकल मास्क १० प्याकेट र सर्जिकल ग्लोब्स तीन प्याकेट हस्तान्तरण गरिएको हो ।

समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेल र महासंघका अध्यक्ष नरेश कँडेलले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरलाई सामग्री हस्तान्तरण गरेका थिए । यस्तै बागलुङ नगरपालिकाद्वारा सञ्चालित आइसोलेशन कक्षका लागि पाँच थान पिपिइ, १० प्याकेट सर्जिकल मास्क, एक प्याकेट सर्जिकल ग्लोब्स र १० लिटर स्यानिटाइजर प्रदान गरिएको समाजले जनाएको छ ।

ताराखोला गाउँपालिकाका लागि १० थान र बाँकी आठ स्थानीय तहका लागि चार थानका दरले पिपिइ र ६३ प्याकेट सर्जिकल मास्क उपलब्ध गराइएको समाजका कार्यालय प्रमुख कँडेलले जानकारी दिए । स्वास्थ्य कार्यालय बागलुङलाई शव व्यवस्थानमा चाहिने सर्जिकल ग्लोब्स तीन प्याकेट, ताराखोला गाउँपालिकालाई चार प्याकेट सर्जिकल ग्लोब्ससहित ३० वटा थर्मोमिटर पनि प्रदान गरिएको छ ।

यस्तै जिल्लामा क्रियाशील पत्रकारका लागि सर्जिकल मास्क १२ प्याकेट र पाँच लिटर स्यानिटाइजर समाजद्वारा प्राप्त भएको महासंघका अध्यक्ष नरेश कँडेलले बताए । सदरमुकाममा सामग्री हस्तान्तरण गरिए पनि ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्था र आइसोलेशन केन्द्रमा आज सामग्री पठाइने भएको छ ।

सामग्री बुझ्दै अस्पतालका अध्यक्ष रानामगरले महामारीसँग जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मीलाई अत्यावश्यक सामग्री सहयोग गरेर समाजले उल्लेखनीय कार्य गरेको बताउनुभयो । संकटको घडीमा राज्य एक्लैले सबैथोक गर्न नसक्ने हुँदा नागरिकस्तरबाट सहयोगको हातेमालो हुनुपर्ने उनको भनाइ थियो ।

अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र वि पोखरेलले सीमित स्रोत, साधनका बीच पनि बिरामीको सेवामा आफूहरु दिनरात नभनी खटिएको बताए । अस्पतालले दक्ष जनशक्ति, स्वास्थ्य उपकरणसहित भौतिक संरचनाको समेत अभाव झेलिरहेको उनले उल्लेख गरे ।

समाजका उपाध्यक्ष बेलुकाजी थापाले जिल्लाको तत्कालीन आवश्यकता हेरेर स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको बताए । उनका अनुसार महामारीको स्थिति हेरेर समाजले आउँदा दिनमा पनि सहयोगलाई निरन्तरता दिने भएको छ । आवश्यकता पर्दा बागलुङमा रहेको समाजको कार्यालयलाई आइसोलेशन कक्षका रूपमा प्रयोग गर्न सकिने निर्णयसमेत गरिएको उपाध्यक्ष थापाले बताए ।

प्रतिक्रिया