छिट्टै बहुमतको नयाँ सरकार बन्छ : नारायणकाजी श्रेष्ठ

गोरखा । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले छिट्टै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि वर्तमान सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गरे ।

‘अहिलेको सरकारले भोलि (सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन’, उनले भने, ‘छिट्टै बहुमतको नयाँ सरकार बन्छ ।’ प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक–आर्थिक रुपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको तथा कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाए ।

‘अहिले कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ’, प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीले स्पष्ट रुपमा सरकारलाई विश्वासको मत दिन सक्दैनौँ भनेर निर्णय गरिसकेका छौं ।’

प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख बैठकमा भाग लिन नसक्ने घोषणा गरेका परिस्थितिमा संवैधानिक आयोगमा गरिएको नियुक्तिसमेत असंवैधानिक भएको बताए ।

प्रतिक्रिया