ओली सरकारको औचित्य समाप्त

न्हुछेनारायण श्रेष्ठ

भारतमा मजदुरी गर्न गएका कैयन् नेपाली कोरोनाकै कारण मृत्युवरण गर्न बाध्य भएका छन् भने बाँचेकाहरू नेपाल फर्कने क्रम तीव्र रूपमा भइरहेको देखिन्छ । सीमा नाकाहरूमा कडाइका साथ चेकजाँच गरी क्वारेन्टिनमा राख्नुपर्ने अवस्थामा ती बिरामीहरू सिधै घरमा जाँदा कोरोना समुदायमा फैलिएको देखिन्छ । हेलचेक्रयाइँ, झुठ र चोरबाटो प्रयोग गरी नेपालमा छिर्ने गलत प्रवृत्तिका कारण नेपालमा पनि भुसको थुप्रोमा आगो सल्के झैं कोरोना बढ्दै गएको देखिन्छ ।

नेपालमा कोभिड–१९ रोगका संक्रमणको पुष्टि २०७६ माघ १० गते भएको थियो । कोरोनाको महामारीका कारण सबै क्षेत्र प्रभावित बन्यो र विश्वकै आर्थिक स्थिति कमजोर बनायो । विश्वका कतिपय धनी देशहरूको आर्थिक स्थितिलाई कमजोर मात्रै बनाएन आर्थिक गतिविधिसमेत ठप्प पारिदियो । कैयौँ कलकारखान, उद्योगहरू बन्द भए । सरकारको राजस्वमा समेत नराम्रो असर प¥यो । नेपालमा पनि कोरोननाको कारण कैयौँ कलकारखानाहरू बन्द भए भने उद्योग, कलकारखान, होटल लगायतका क्षेत्रहरू बन्द हुँदा कैयन् मजदुरहरूको रोजगारीसमेत गुम्न पुग्यो । अहिले नेपाल सरकारले बन्दाबन्दीकै अवस्थामा समेत कर तिर्न अनुरोध गरेको छ भने निजी क्षेत्रले कर तिर्ने म्याद बढाउन आग्रह गरिरहेका छन् । बन्दाबन्दीको कारण उद्योग, कलकारखाना लगायतका क्षेत्रहरू बन्द भएका कारण कर बुझाउन कठिन पर्ने भन्दै उद्योग महासंघ लगायतले सरकारलाई कर तिर्ने समयसीमा बढाउन माग गर्नुलाई सकारात्मक मान्नु पर्दछ ।

बन्द भएका उद्योग कलकारखाना, होटल सञ्चालन कहिले हुने एकिन हुन सकिरहेको छैन् । चाँडोभन्दा चाँडो सुरक्षा रणनीति अपनाएर सञ्चालन गर्नेतर्फ सरकार लाग्नुपर्ने देखिन्छ । अर्कातर्फ कोरोनाको समयमा खाद्यान्न लगायतका बस्तुहरूको विस्तारै अभाव र कृत्रिम मूल्यवृद्धि हुन थालेका कारण सरकारले अनुगमन गर्न थालेको जनाएको छ भने साना व्यापारी र खुद्रा व्यापारीहरू स्थानीय निकायले गरेको निषेधाज्ञाका कारण चर्को मारमा परेका छन् । त्यस्तै गरी दैनिक मजदुरी गर्ने मजदुरहरू, बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएर व्यापार, व्यवसाय गरेकाहरू चर्को मारमा परेका छन् । सरकारले निजी स्तरका उद्योगी व्यवसायीहरूको पीर, मर्का बुझ्नु जरुरी रहेको देखिन्छ । कोरोनाको समयमा अनलाइन कक्षा लिने निजी विद्यालयहरूले अभिभावकहरूलाई पहिले लिएकै जस्तै विद्यालयको फिः को बिल पठाउन थालेका छन् । अम्दानी शून्य, रोजगारी गुमेको बेला सरकारले नीजी तथा सरकारी विद्यालयको फिः कोरोना अवधिको छुट दिनेतर्फ ध्यान जानुपर्दछ । गरिब र निमुखा अभिभावकहरूले कहाँबाट ल्याएर फिः तिर्ने, विद्यार्थीहरूको भविष्य डामाडोल भइसकेको छ, शैक्षिक सत्र कुनलाई मान्ने आदि प्रश्नहरूको तत्काल समाधान हुनुपर्ने देखिन्छ ।

कोरोनाको दोस्रो लहरले विश्व पुनः आतंकित हुन पुगेको छ । संसारभरी कोरोना संक्रमितको आँकडा दिनप्रतिदिन बढ्दै गइरहेको अनुमान गरिएको छ । भारतमा तीव्र दरमा बढिरहेको कोरोनाका कारण दिनहुँ लाखौँको संख्यामा संक्रमित थपिँदै गएका छन् भने मृत्युदर पनि बढिरहेको तथ्यांकले देखाइरहेको छ । समयमै विशेषज्ञहरूको अनुमानलाई बेवास्ता गरिँदा भारतमा मानवीय क्षति हुन पुगेको यथार्थ हो । भारतका सम्पूर्ण अस्पतालहरू बिरामीले भरिसकेको र खुल्ला आकासमुनिसमेत उपचार भइरहेको दृष्य टेलिभिजनका पर्दाहरूमा देख्न सकिन्छ । अति नै दर्दनाक अवस्था रहेको भारतमा कोरोनाबाट मृत्युहरूको चौबीसै घण्टा सामूहिक अन्येष्टिको दृष्यले कसको मन नरोला र ? अक्सिजनको अभाव, औषधिको अभावका कारण कोरोनाको खोप उत्पादन गर्ने भारत अहिले स्वास्थ्य उपचार गर्न नसकेर चपेटामा परेको छ । भारतमा मजदुरी गर्न गएका कैयन् नेपाली कोरोनाकै कारण मृत्युवरण गर्न बाध्य भएका छन् भने बाँचेकाहरू नेपाल फर्कने क्रम तीव्र रूपमा भइरहेको देखिन्छ । सीमा नाकाहरूमा कडाइका साथ चेकजाँच गरी क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा ती बिरामीहरू सिधै घरमा जाँदा कोरोना समुदायमा फैलिएको देखिन्छ । हेलचेक्रयाइँ, झुठ र चोरबाटो प्रयोग गरी नेपालमा छिर्ने गलत प्रवृत्तिका कारण नेपालमा पनि भुसको थुप्रोमा आगो सल्के भैmँ कोरोना बढ्दै गएको देखिन्छ । नेपालमा पनि संक्रमितको दर र मृत्युदर दिनानुदिन बढ्दै गइरहेको तथ्यांक स्वास्थ्य मन्त्रालयले गरेको प्रेस रिलिजबाट थाहा पाउन सकिन्छ ।

पछिल्लो समय नेपाल सरकारले कोरोना रोकथामका लागि विभिन्न प्रयासहरू गरिरहेको देखिन्छ । सो रोगबाट बच्नका लागि नेपाल सरकारले ग्रामीण क्षेत्रहरूमा दुई सय र सहरी क्षेत्रमा पाँच सय संक्रमित पुगेपछि निषेधाज्ञा जारी गर्न सुरु गरिसकेको छ । निषेधाज्ञा जारी गरी सर्वसाधारण नागरिकहरूको जिउ ज्यान जोगाउने कार्यमा सरकारको मुख मात्रै ताकेर हुँदैन हामी सबै सतर्क र नियम पालना गर्नुपर्ने आवश्यकता रहिआएको छ । लकडाउनको समयमा सरकारले निषेधित गरेका कार्यहरू अहिले पनि पहिलेजस्तै गरी सुचारु गर्न खोज्नु सकारात्मक मान्न सकिँदैन । काठमाडौं उपत्यका लगायतका सहरी र ग्रामीण क्षेत्रहरूमा अहिले सुरक्षा मापदण्ड अपनाएर जात्रा पर्व मनाइरहेको देखिन्छ तैपनि मानिसहरूको भिडमा गरिएको सो पर्व र जात्राका कारण कोरोनाको दोस्रो लहरलाई टेवा पुग्दैन भन्ने के ग्यारेन्टी छ र ? स्थानीय निकायहरूले जात्रा, पर्व मनाउन स्वास्थ्य मापदण्डको विषय उठाउनु सकारात्मक भएता पनि पालना नहुनु दुर्भाग्य नै हो । अनावश्यक रूपमा भिडभाड नगर्ने, अनावश्यक रूपमा बाहिर निस्कने, भेटघाट गर्नेजस्ता क्रियाकलापलाई रोक्न सकेको खण्डमा पनि कोरोना नियन्त्रण गर्न सकिन्छ । हुन त सरकार आफैंले पनि बैठक, उट्घाटनजस्ता कार्यहरूमा कोरोनाको निश्चित मापदण्डहरू पालना गरेको देखिँदैन । सरकारले पनि नियम पालना गर्नुपर्दछ । दिनहुँ सो रोगका नयाँ भेरियन्टहरू फेला परिरहेका छन् । धेरै किसिमका औषधिहरू भ्याक्सिनहरू आएता पनि सबै नागरिकहरूले भ्याक्सिन लगाउन पाएका छैनन् । भ्याक्सिन लगाएका र नलगाएका सबैले यो रोगबाट बच्न प्रयास गर्नुपर्छ । मास्क अनिवार्य लगाई साबुनपानीले नियमति हात धुने, घर–अफिसमा दुई मिटरको दुरी कायम गर्ने, भिडमाडमा ननिस्कने, धार्मिक, पर्व र जात्राहरूमा समावेश नहुने, विवाह, व्रतबन्धजस्ता कार्यहरूमा सकभर थोरै सहभागी भएर सम्पन्न गर्ने, स्यानिटाइजरको नियमित रूपमा प्रयोग गर्नसकेको खण्डमा दोस्रो लहरको कोरोनालाई न्यूनीकरण गर्न सकिन्छ । यो रोगप्रति बेवास्ता गरेको खण्डमा भारतकै हालत नहोला भन्न सकिँदैन । त्यसैले तपाईं हामी सबैले सरकारले तोकेको न्यूनतम मापदण्ड अपनाऔँ, घरभित्रै बसौँ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कौँ । कोरोना रोग फैलिन नदिन र संक्रमण हुन नदिनका लागि सुरक्षाका उपाय अवलम्बन गर्नु नै मुख्य औषधि हुन सक्छ । पूर्व सावधानीलाई अपनाउने बाहेकको कुनै विकल्प देखिँदैन । नेपाल सरकारले समयमै स्थानीय स्तर, जिल्ला स्तर र केन्द्रमा समेत बिरामीहरूका लागि बेड र उपचारको प्रबन्ध समयमै मिलाउनुपर्ने आवश्यकता रहेको देखिन्छ ।

विश्वका अन्य देशहरूले समयमै रोग नियन्त्रणका लागि पहल नगर्दा भएका दर्दनाक दृष्यहरू तपाईं हामीहरूले अहिलेदेखि नै रहेका छौँ । विशेषगरी इटली, फ्रान्स, स्पेनले समयमै रोग नियन्त्रणका उपाय नगरेको र हेलचेक्र्याइँ गरेका कारण लाखौँ व्यक्तिले त्यहाँ ज्यान गुमाइएको प्रमाण हामीले देखेकै छौँ । त्यस्तो हविगतबाट बच्न पनि लकडाउनको आवश्यकता रहेको देखिन्छ । कोभिड–१९ ले कुनै धर्म, वर्ण, लिंग, जातजाति र राष्ट्र छुट्याउँदैन भन्ने उदाहरण हामीले देखी, भोगीसकेका छौँ । कोरोनाका कारण अहिले दैनिक मजदुरी गरी खाने श्रमिकहरू सर्वसाधारणहरू मर्कामा परेका छन् । त्यस्तै गरी नेपालमा विभिन्न भिसाबाट आएका पर्यटकहरूलाई उनीहरूकै देशमा फर्काउने कार्य, सीमाहरूमा कडाइ तथा विदेशबाट आएकाहरूलाई सरकारले निर्माण गरेको क्वारेन्टिनमा अनिवार्य रूपमा १४ दिनसम्म बस्नुपर्ने नियमलाई पालना गर्नुपर्ने देखिन्छ । रोगसँग लड्नका लागि जतिसुकै समय पनि नागरिकहरूले कुर्न सक्दछन, अहिलेको अवस्थामा धैर्य, साहस र आपसी सहयोग र सद्भावको आवश्यकता रहेको अवश्य पनि हो । अहिले सरकारले गरेकोे लकडाउन आफैँका लागि हो । आफ्नो स्वास्थ्यभन्दा ठूलो केही हुन सक्दैन । लकडाउनको समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई नेपाल सरकारले नियमित तथा छड्के बजार अनुगमन गरी त्यस्ता कार्य गर्नेलाई कडा कानुनी कारबाही गर्नुपर्दछ । त्यस्तैगरी खाद्यान्न, औषधि लगायतका अतिआवश्यक पर्ने चिजहरूको आयात र वितरणलाई पारदर्शी बनाउनुपर्ने आवश्यक देखिन्छ । यो रोग मानिसबाट मानिसमा सर्ने भएको हुँदा संक्रमितहरूसँग सम्पर्क, भेटघाट भएकाहरूले समेत क्वारेन्टिनमा बसी, रोग परीक्षण गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया