मध्य भोटेकोसीको आइपिओ निष्काशन स्थगित

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ निष्काशन स्थगित भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन खुला गरेको आइपिओ तत्काललाई बन्द हुने जनाएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण सिन्धुपाल्चोकमा २३ वैशाख देखि ३१ वैशाखको राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा स्थानीयवासीलाई आइपिओ भर्नका लागि हिँडडुलमा समस्या हुने भएकाले तत्काललाई स्थगित गरिएको हो ।

अब कहिलेबाट बिक्री खुला गर्ने भन्ने बारेमा अर्को सूचना सार्वजनिक गरिने पनि बिक्री प्रबन्धकले जानकारी दिएको छ । मध्य भोटेकोशीले वैशाख २१ बाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपिओ निष्कासन गरेको हो । कम्पनीले कुल ६० लाख कित्ता आइपिओमध्ये ३० प्रतिशतले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ एवं बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ का स्थानीयलाई छुट्टयाइएको छ । त्यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोकका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।

प्रतिक्रिया