सरोज उत्कृष्ट निर्देशक

काठमाडौं । नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । अभिनेता खनालले पहिलो निर्देशनमै यो अवार्ड जितेका हुन् । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्रप्रसाद कँडेल निर्मित ‘देशमाथि’ ले जित्न सफल भएको छ । स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रिएसनले आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा १९ वटा सर्ट फिल्म प्रतिस्पर्धामा भाग लिए थिए । जसमध्ये ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवं नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले जानकारी दिए । बिजेतालाई पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्का लगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।

त्यस्तै, सर्वोत्कृष्ट खलपात्रको अवार्ड कलाकार तुलसीप्रसाद श्रेष्ठले चलचित्र नशा र सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड अभिनेता शेखर खनालले चलचित्र धुर्तकाजीबाट हासिल गरेका छन् । सर्वोत्कृष्ट नवनायकको अवार्ड सुरज पोखरेलले चलचित्र हाम्रो नाता, सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता धु्रवदत्तले चलचित्र सहारा, सर्वोत्कृष्ट नवनिर्देशकको अवार्ड निर्देशक आशुतोष अधिकारीले चलचित्र हाम्रो नाता हासिल गरे । सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र लकडाउन, सर्वोत्कृष्ट कथा (डायस्पोरा) बाट पुरु राईले चलचित्र सहाराबाट प्राप्त गरेका छन् । अवार्ड समारोहमा निर्देशकतर्फको जुरी अवार्ड केडी प्रशितलाई चलचित्र मेरो भगवानका लागि प्रदान गरियो । यस्तै सर्टफिल्म निर्देशकको इनकरेजमेन्ट अवार्ड अमिर बरालले चलचित्र ज्यान जाने पिरिमबाट प्राप्त गरे ।

प्रतिक्रिया