शाहको अमूर्त कला प्रकाशित

काठमाडौं । कलाकार तथा लेखक कृष्णप्रकाश शाहद्वारा लिखित ‘नेपाली एब्स्ट्रयाक्ट पेन्टिङ अ डेभलपमेन्ट एनालाइसिस’ पुस्तक सार्वजनिक भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले प्रकाशन गरेको उक्त कृतिको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विमोचन गरे । मन्त्रीले श्रेष्ठले कला र संस्कृतिको विकासले मात्रै देशलाई विकास र समृद्धिको दिशामा लैजान सकिने विचार व्यक्त गरे ।

उनले भने, ‘राजनीति दलमा चर्किएको विवादले लोकतन्त्र कमजोर पारेको र लोकतन्त्रमा दलहरु बलियो भएमा मात्र लोकतन्त्र बलियो हुन्छ । त्यसका लागि बलियो प्रतिपक्षी आवश्यक हुन्छ, अन्यथा लोकतन्त्र कमजोर हुन्छ ।’ यस्तै, प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली ललितकलाको इतिहास अध्ययन, खोज–अनुसन्धान तथा विकासका लागि प्रतिष्ठानले मिहिन ढंगले काम गरिरहेको बताए ।

उनले कलाको विकासका निम्ति राज्यले समुचित ढंगले काम गर्नुपर्ने जिकिर गर्दै कलालाई देशव्यापी बनाउन प्रतिष्ठानले हरसम्भव प्रयास गरिरहेको जनाए । सो अवसरमा प्रतिष्ठानको चित्रकला विभागले मुहारचित्र प्रदर्शनीको आयोजनासमेत गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले मुहारचित्रको काम ज्यादै कठिन भएको र नेपालमा यस विषयमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

समाजसेवी तथा कलाकार भ्रदकुमारी घलेले कलाले मानिसलाई सिर्जनात्मक बन्न सघाउने धारणा व्यक्त गरिन् । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले आफ्नो मुहारचित्र बनाएको भन्दै कलासँग आफू पनि जोडिएर यसरी बोल्न पाउँदा ज्यादै खुसी लागेको विचार व्यक्त गरे । प्रतिष्ठानले केही हप्ताअघि मुहारचित्र कार्यशालाको आयोजना गरेको थियो ।

सो कार्यशालामा सहभागी कलाकारका तर्फबाट कलाकार बाबुराजा धःलाले नेपालकै वरिष्ठ समाजसेवी, व्यवसायी तथा कलाकारको मुहारचित्र बनाउन पाउँदा आफू र टिमका सबै साथी खुसी भएको बताए । यसैगरी पुस्तकका लेखक कृष्णप्रकाश शाहले अमूर्त कला भन्नाले कल्पना र अनुभवको प्रस्तुति भएको बताए । उनले भने, ‘नयाँ आयामको खोजी नै अमूर्त सोच भएको हो ।

हामी मानव मात्रले अमूर्त सोचका कारणले मूर्त कलाको आविष्कार गरेका छौं । जसको उदाहरण गाडी, घर आदिलाई लिन सकिन्छ ।’ लेखक शाहले कलाको विकास विश्व जगतबाट नेपालमा आइपुग्दाको अवस्था कस्तो छ भनी खोज अनुसन्धान गरी पुस्तक तयार पारिएको जनाए । प्राज्ञ तथा चित्रकला विभाग प्रमुख सुषमा राजभण्डारीले नेपाली कलाको विकास र प्रवद्र्धन गर्ने लक्ष्यका साथ कला प्रदर्शनी तथा पुस्तक प्रकाशन गरेको बताइन् । उनले भनिन्, ‘नेपाली कलाले पनि विश्वमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

अब हामीले नेपाली मौलिकता सहितका कलालाई चिनाउन खोज अनुसन्धान तथा प्रकाशन कार्यमा लाग्नु पर्दछ र यसका काममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लागिरहेको छ ।’ प्रदर्शनीमा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, प्राज्ञपरिषद् सदस्य बुद्धि गुरुङ, आलोक गुरुङ, बाबुराजा धःला, सिर्जन राजभण्डारी, प्राज्ञ गजेन्द्रमान श्रेष्ठ, अशुराम खाइँजू, डिराम पाल्पाली, कृष्णप्रकाश शाह, कृष्णगोपाल श्रेष्ठ, विपना महर्जन, पकबहादुर थापा, रोशन प्रधान, किशोर नर्कमी, कान्छाकाजी भासिमा, प्रदीप श्रेष्ठ, पुजा महर्जन, मदन श्रेष्ठ लगायतका कलाकारका चित्र राखिएको थियो ।

उनीहरुले हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गायिका आनी छोइङ डोल्मा, अभिनेत्री मनिषा कोइराल, समाजसेवी अनुराधा कोइराला, कलाकार तथा समाजसेवी भद्रकुमारी घले, व्यवसायी अम्बिका श्रेष्ठ, कलाकार सुरेन्द्र श्रेष्ठ, कलाकार तथा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, अग्रज कलाकार किरण मानन्धर, सुरेन्द्रवीर मालाकार, प्रदीपकुमार श्रेष्ठ, पृथ्वीबहादुर पाण्डे लगायतका व्यक्तित्वका मुहारचित्र बनाएका थिए । उक्त प्रदर्शनीमा बिक्री भएको कलाकृतिको केही प्रतिशत रकम कालिका मावि सिन्धुपाल्चोक–६ का विद्यार्थीलाई प्रदान गरिने आयोजकले जानकारी दिए ।

प्रतिक्रिया