नयाँ सालको हार्दिक शुभकामना

आजदेखि नयाँ साल आरम्भ भएको छ अर्थात ०७७ साल समाप्त भई ०७८ साल प्रारम्भ भएको छ । नयाँ सालको पहिलो दिन खुसीयालीका साथ मनाउने प्रचलन छ । नयाँ सालको पहिलो दिनलाई नव वर्ष या नयाँ वर्ष भन्ने प्रचलन पनि छ । एकआपसमा शुभकामना आदानप्रदान गर्ने, साथी–भाइ, इष्ट–मित्र जम्मा भएर खुसियाली मनाउने प्रचलन छ ।

सरकारले पनि नयाँ वर्षको उपलक्ष्यमा आफ्ना कर्मचारीलाई बिदा दिने गर्दछ । निजी क्षेत्रका श्रमिकहरूले पनि संभव भएसम्म घरमै बसेर नयाँ वर्ष मनाउने गर्दछन् । धार्मिक रूपमा पनि नयाँ वर्षको अवसरमा विभिन्न अनुष्ठान गर्ने प्रचलन छ । कसैले मठमन्दिरमा गएर र कसैले आफ्नै घरमा गच्छेअनुसार आफ्नो दीर्घायु, तथा सुख शान्तिको कामना गर्दै धार्मिक अनुष्ठान गर्दछन् ।

संवत् भनेको समयको अभिलेख राख्ने पद्धती हो । लामो सभ्यता बोकेको समुदाय तथा राष्ट्रको आफ्नै संवत् हुन्छ । त्यसैले विश्वमा धेरै संवत्हरू प्रचनमा छन् । सानै भए पनि हाम्रो मुलुक नेपालमा करिब एक दर्जन संवत् अस्तित्वमा छन् । जसमध्ये राज्यको प्रशासनिक कामकाज तथा अभिलेखका लागि विक्रम संवत् प्रचलनमा छ ।

विक्रम संवत् कसले र किन सुरु गर्यो ? भन्ने सर्वसम्मत प्रमाण अहिलेसम्म भेटिएको छैन । राजा विक्रमादित्यले यो संवत् सुरु गराएको भनिए पनि उनी को हुन् ? भन्ने विषयमा इतिहासविद्हरू एक मत हुन सकेका छैनन् । एउटा सत्य कुरा के हो भने विक्रम संवतलाई अपनाउने मुलुक नेपाल मात्रै हो । त्यसैले नेपाल भित्रका विभिन्न समुदायमा प्रचलित अन्य संवत् जस्तै विक्रम संवत् पनि नेपालको मौलिक संवत् हो ।

तर नेपालका कुनै पनि समुदायको धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा भने विक्रम संवत् खासै प्रवेश गर्न सकेको देखिन्न । माघे संक्रान्ति र साउने सक्रान्तिबाहेक अन्य चाडपर्वहरू विक्रम संवत् अनुसार मनाइएको खासै देखिन्न । तर, अन्य चाड पर्वको तुलनामा माघे संक्रान्ति र साउने संक्रान्ति मनाउनेहरूको संख्या नेपालमा सर्वाधिक छ ।

सूर्यको गतिका आधारमा तय भएकाले विक्रम संवत्को महत्व वैज्ञानिक रूपमा पनि पुष्टि भएको हाम्रा ज्योतिषविद्हरू बताउँछन्, तैपनि हाम्रो मुलुकमा बहुसंख्यक जनताले आफ्नो धार्मिक एवं सांस्कृतिक क्रियालाप चन्द्रमासअनुसार चल्ने नेपाल संवत्का तिथि अनुसार गर्ने गरेको पाइन्छ । सूर्यमास अनुसार चलेको विक्रम संवत्मा गते वा मितिको गणना गरिन्छ, चन्द्रमासअनुसार चलेको नेपाल संवत्मा तिथिको गणना गरिन्छ ।

छिमेकी मित्रराष्ट्र भारतलगायत विश्वका धेरै मुलुकले र संयुक्त राष्ट्र संघले समेत चलाएका कारण इस्वी संवत् अंगीकार गर्नु नेपालका लागि वाध्यता बनिसकेको छ । विश्वव्यापीकरणको यो युगमा इस्वी संवत् इन्कार गर्न सक्ने अवस्थामा नेपाल नहुनु स्वभाविकै हो । यसैगरी नेपालको करिब ९० प्रतिशत जनसंख्याले आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप नेपाल संवत्का तिथिअनुसार चलाउँदै आएका छन् ।

गुरुङ, शेर्पा, किरात, तामाङ, मुसलमानलगायत उल्लेख्य समुदायका धार्मिक तथा सांस्कृतिक क्रियाकलाप पनि आफ्नै संवत्अनुसार चल्दै आएका छन् । त्यसैले बेलाबेलामा नेपालका केही वुद्धिजीवीहरूले विक्रम संवत्को औचित्यका बारेमा पनि प्रश्न उठाउने गरेका छन् ।

धार्मिक तथा सांस्कृतिक क्रियाकलापका लागि विभिन्न समुदायका आ–आफ्ना संवत् प्रचलनमा रहेका छँदैछन्, सरकारी कामकाज तथा अभिलेखका लागि इस्वी संवत् अपनाए भइहाल्यो, विक्रम संवत्को झण्झट किन बेहोर्ने ? भन्ने तर्क दुई वर्षअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उठाउँदा मुलुकमा ठूलो तरंग उत्पन्न भएको थियो ।

तर, यस विषयमा विद्वानहरूले विभिन्न तर्क दिएर बहस गर्नुभन्दा पनि विरोधका लागि विरोध मात्रै गरेको देखिएको छ । यस विषयमा गम्भीर बहस जरुरी छ । निवृत्त २०७७ जस्तै कष्टदायी २०७८ नहोस्, २०७८ मा विश्वले सुख शान्ति पाओस्, कोरोना महामारीको सामाना गर्न विश्वजगत सफल होस्, हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया