अर्थबजार

केरा र तरकारी खेतीतर्फ आकर्षित

सौर्य अनलाइन २०७७ चैत २६ गते १३:५३ मा प्रकाशित

गलेश्वर । म्याग्दीको ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अन्य बाली निर्वाहमुखीमात्र भएपछि बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरा र बगरफाँटका तीन दर्जन भन्दा बढी किसानले अन्नबाली हुने जमीन केरा र तरकारी उत्पादनमा उपयोग गर्न थालेका छन ।

खबराका किसान चन्द्रबहादुर कार्कीले केरा र तरकारी खेती सुरु गरेपछि वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न थालेको बताए । अन्नबालीको तुलनामा केरा र तरकारी खेतीबाट तीन गुना बढी फाइदा हुने कार्कीको भनाइ छ । उनले करीब चार रोपनी क्षेत्रफलमा २०० बोट केरा लगाउनुभएको छ भने पाँच रोपनी जग्गामा तरकारीखेती गर्नुभएको छ । बजारमा तरकारी र केराको माग उच्च रहेकाले आफ्नो उत्पादनले राम्रो बजार पाएको उनको भनाइ छ ।

खबराकै अर्का किसान शोभित शर्मा (सापकोटा) ले पनि आठ रोपनी जग्गामा तरकारी र केराखेती गरेका छन् । केरा र तरकारी बेचेर वार्षिक रु आठ लाखभन्दा बढी कमाइ गर्दै आएका शर्माले गत वर्षदेखि विभिन्न प्रजातिका फलफूल समेत लगाएका छन् । आठ वर्षदेखि तरकारी खेती सुरु गरेका सापकोटाले यस वर्ष केराका सय बोट थपेर ७०० बोट केरा लगाउने योजना बनाएका छन् ।

‘राम्रो स्याहार संरक्षण गरेपछि एक घरी केराबाट तीन हजारसम्म कमाइ गर्न सकिन्छ’, किसान शर्माले भने । बगरफाँटका खिमबहादुर कार्की, दुर्गाबहादुर थापा, बेदप्रसाद उपाध्यायलगायतका किसानले पनि धान फल्ने खेतमा केरा खेती गरेका छन् ।

यहाँका किसानले ५० मुरी धान उत्पादन हुने खेतभरि अहिले केरा र तरकारी खेती लगाएर हरियाली बनाएका छन् । केरा बालीभित्र घुसुवा बाली (अदुवा,बेसार) समेत लगाएर यहाँका किसानले दोहोरा आम्दानी गरिरहेका कृषि प्राविधिकले बताएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय