मत-विमत

सडक दुर्घटनाका प्रमुख कारणहरू

न्हुंछेनारायण श्रेष्ठ २०७७ चैत २६ गते ७:१५ मा प्रकाशित

न्हुंछेनारायण श्रेष्ठ

समयसमयमा मर्मत सम्भार गरी चुस्त दुरुस्त अवस्थामा राखी सवारी चलाउने, सडकहरू मर्मतसम्भार गर्ने, यात्रु तथा पैदल यात्रुहरू स्वयं सचेत हुने र ट्राफिक नियमको पालना गर्ने परिपाटी अवलम्बन गर्न सकिएको खण्डमा सडक दुर्घटनालाई केही हदसम्म भए पनि न्यूनीकरण गर्न सकिन्छ ।

सरकारले सिन्डिकेट हटेको जनाएता पनि यात्रुहरू गन्तब्यमा सहज रूपमा पुग्न सकेका छैनन् । घण्टौँको पर्खाइपछि सार्वजनिक यातायात कुर्नुपर्ने बाध्यता भएका कारण पनि दुर्घटना बढेको सहजै अनुमान लगाउन सकिन्छ । अधिकांश दुर्घटनाको कारण हेर्दा सवारी सिट क्षमताभन्दा बढी यात्रुहरू बोकेका कारण बसको बे्रकफेल भएर दुर्घटना भएको देखिन्छ । पुराना र थोत्रा गाडीहरू समयमै मर्मत सम्भार नगर्ने बानीले गर्दा यात्रुहरूले अनाहकमा ज्यान गुमाउन पुगेका छन् । सरकारले सडकहरूको निर्माण कार्य र समयमै स्तरोन्नति समयमै सम्पन्न गर्न नसक्दा दिनहुँजसो सवारी दुर्घटनाहरू हुने गरेका छन् ।

सडकहरू जीर्ण, खाल्डाखुल्डी भएका कारण पनि सडक दुर्घटनाहरू बढ्ढै गइरहेका छन् । अझै पनि नेपालका कैयन स्थानहरूमा सडक संजालको योजनावद्घ विकास हुन नसक्दा यातायातको सुविधाबाट नागरिकहरू वञ्चित हुन पुगेका छन् । राजधानी भित्रकै राम्रा र चिल्ला सडकहरूमा समेत दिनहुँ हुने दुर्घटनाबाट कैयन् नागरिकहरूले ज्यान गुमाएका छन् भने कैयन् नेपालीहरू अंगभंग भई अपांग जीवन बिताउन बाध्य भएका छन् । नेपालमा बर्सेनि सडक दुर्घटनाबाट थुप्रै नागरिकहरूले ज्यान गुमाउन नपरोस् भनेर सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नेपाल सरकारले समयसमयमा विभिन्न कार्यक्रमहरू ल्याएता पनि प्रभावकारी हुन सकिरहेको देखिँदैन ।

ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाही ६७ प्रतिशत, यात्रुको गल्तीले चार प्रतिशत, गलत र जथाभावी ओभरटेकबाट चार प्रतिशत, तीव्र गतिका कारण १५ प्रतिशत, यान्त्रिक गडबढीका कारण चार प्रतिशत र अन्य कारणहरूमा ६ प्रतिशत रहेको छ । मुख्यतया सडक दुर्घटना हुने प्रमुख कारणहरूमा ट्राफिक नियम पालना नगर्नु, मौसम, सडकको भौतिक अवस्था, यान्त्रिक कारण, मानवीय त्रुटी आदी कारण मुख्य रूपमा रहेका छन् । सरसर्ति हेर्दा सडक दुर्घटनाका मूख्य कारक तत्वहरूलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ ः

१. यान्त्रिक कारणः सवारी साधनहरूमा प्रयोग हुने नक्कली र कमसल पार्टपुर्जा, कमसल ल्युब्रिकेन्ट प्रयोगका कारणका अलावा चालकहरूले सवारी चलाउनुपूर्व आफ्नो सवारी साधनको क्लच, ब्याट्री, चक्काको नटहरू, टायरको हावा, पानीको चेकजाँच नगरी सवारी चलाउँदा दुर्घटना हुने गरेको पाइएको छ । सवारी ऐन २०४९ मा सवारी साधनहरू परीक्षण गरी चलाउनुपर्ने र निश्चित अवधिपश्चात परीक्षण पछि मात्र सडकमा गुडाउन अनुमति दिनुपर्ने प्रावधान रहेता पनि सार्वजनिक तथा नीजि सवारी साधनहरूविना परीक्षण सडकमा चलाइरहेको हामी पाउँछौँ । यातायात विभागले सार्वजनिक सवारी साधनहरूको परीक्षण गर्ने जिम्मा पाएता पनि व्यवहारमा लागू भएको छैन् । सरकारले दिने हरियो स्टिकरसमेत सवारी साधनहरूको चेकजाँचबिनै पाइनुले यातायात व्यवस्था विभागमा भएको विकृतिको झल्को अवश्यै दिन्छ ।

२. सडकको भौतिक अवस्था र पूर्वाधारः नेपालको भौतिक अवस्था हेर्ने हो भने हिमाल, पहाड र तराई मिलेर बनेको छ । हिमाल र पहाडका अधिकांश सडकहरू घुमाउरो, साँघुरा र उकाली, ओराली र घुम्तीहरू रहेका छन् । एउटै पडाडमा धेरै फन्का लगाउँदा चालकहरूलाई रिंगटा लाग्ने, थाक्ने र सन्तुलन गुमाउने र साना सडकहरूमा सवारी साधनहरूलाई साइड दिँदा सवारी साधनहरू ठोक्किएर दुर्घटना हुने गर्दछन् भने सडकका मोडहरू, ओराली, उकाली बाटोमा ब्रेकले साथ नदिने, स्टेरिङ नउल्टने कारण पनि दुर्घटना हुने गर्दछ । त्यस्तै गरी सडकको स्तरोन्नति नभएका ठाउँहरूमा जबर्जस्ती सवारी चलाउनु, पहाडि सडकहरूमा कालोपत्रे नहुनु, धेरै मोडहरू र घुम्तीहरू हुनु र पर्याप्त मात्रामा ट्राफिक संकेतहरू नहुनु, त्यस्ता सडकहरूमा चालकहरूले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाहरू हुने गरेको छ । त्यस्तै गरी सडकमा सवारी साधनअनुसार लेन फरक नहुनु, सडक छेउमा अव्यवस्थित अतिक्रमण गरी बनाइएका संरचनाहरू, जथाभावी पार्किङले गर्दा पनि दुर्घटना भइरहेका छन् ।

३. ट्राफिक नियमको पालना नगर्नु ः नेपाल सरकारले सडकहरूमा पर्याप्त मात्रामा ट्राफिक लाइटको व्यवस्था गर्न सकेको छैन भने भएका संकेत चिन्हहरू समेत मर्मत गर्न सकिरहेको छैन । सडकमा ट्राफिक प्रहरीको संकेत अनुसार सवारी साधन चलाउनुपर्ने बाध्यता रही आएको छ । उपत्यका भित्रिने र बाहिरिने स्थानहरूमा समेत ट्राफिक चिन्हहरूको अभावका कारण सडक दुर्घटना भइराखेका छन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी चालकहरूले अनिवार्य रूपमा विविध ट्राफिक नियम र लेन अनुशासन पालना गराउने नियम ल्याएता पनि व्यवहारमा लागू हुन सकिरहेको छैन । ट्राफिक प्रहरीको निर्देशन अवज्ञा गर्दै सवारी साधन चलाउने गलत प्रवृत्तिले गर्दा सवारी दुर्घटनामा वृद्घि हुँदै गइरहेको छ । मापसे चेकका अलावा ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू समयसमयमा ल्याई जनचेतना जगाउने कार्यक्रमहरू गरिरहेको देखिन्छ । सडक दुर्घटना कम गराउने दायित्व सडक प्रयोगकर्ता, सवारी चालक सबैको भएकोले सबै सचेत र सतर्क हुन सकेको खण्डमा मात्रै दुर्घटना न्यूनीकरण हुन सक्दछ । नेपालका कतिपय स्थानहरूमा ट्राफिक प्रहरीको पहुँच नपुग्दा सवारी चालकहरूले जथाभावी सवारी साधन चलाउँदा दुर्घटना हुने गरेको छ ।

नेपालमा सबैभन्दा बढी दुर्घटना मोटरसाइकल हुने गरेको छ भने सार्वजनिक सवारी साधनहरू समेत दुर्घटना हुने अग्रपंक्तिमा रहेको छ । सरकारले सवारी अनुमति पत्र प्रदान गर्ने कानुन फितलो भएका कारण जस्तोसुकै व्यक्तिले पनि लाइसेन्स पाएकै कारण दुर्घटना बढ्न गएको कुरालाई नकार्न सकिन्न । सिट बेल्ट नबान्ने, हेल्मेट नलगाउने, मापसे गर्नेलाई हदैसम्मको कारवाही गर्न सकेको खण्डका अलावा सवारी साधनको गति नियन्त्रण गर्न सकिएको खण्डमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । नेपाल सरकारले सडकअनुसार ट्राफिक प्रहरीहरूको संख्यामा समेत वृद्घि गर्नुपर्ने आवश्यकता रहेको छ ।

४. तीव्र गति ः सवारी साधन चलाउँदा सीमित गतिमा चलाउनुपर्दछ । नक्कली लाइसेन्स बोकेका र कलिला उमेरका सहचालकहरूले सवारी साधन चलाउँदा दुर्घटना हुने गरेको पाइएको छ । राजधानीका साँघुरा सडकहरू र भर्खरै बनेका सवारी साधन चलाउन अनुमती प्राप्त नभएका सडकहरूमा तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटना हुने गरिएको पाइएको छ । राजधानी बाहिरिने र भित्रिने राजमार्गहरूमा जथाभावी ओभरटेक गर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि सवारी दुर्घटना हुने गरेको पाइएको छ । तीव्र गतिमा सवारी साधन कुदाउँदा जेब्राक्रसबाट बाटो पार गर्ने सर्वसाधारणहरू, बाटो छेउबाट हिँडिरहेका बटुवाहरू अनाहकमै ज्यान गुमाउन पुगेका छन् भने तीव्र गतिकै कारण ट्राफिक संकेतमा रातो बत्ती बल्दासमेत सवारी साधन रोक्न नसकी अगाडीका सवारी साधनहरूमा ठोक्किन पुगी जनधनको क्षति हुने गरेको पाइएको छ । राजमार्ग बाहिर जाने सवारी साधनहरूमा दुई जना चालकको व्यवस्था गर्नु भन्ने सरकारी नियमलाई समेत लत्याउने र राजमार्गका सडकहरूमा तीव्र गतिमा सवारी हाँक्ने र एकले अर्कालाई उछिन्ने अस्वस्थ प्रतिस्पर्धाले गर्दा सडक दुर्घटना बढ्दै गइरहेको छ ।

५. मौसम तथा अन्य कारणहरू ः नेपालमा हिउँद ऋतुमा विषेश गरी तराईका विभिन्न स्थानहरूमा सडकै नदेखिने गरी लाग्ने बाक्लो हुस्सुका कारण राजमार्ग र सहायक मार्गहरूमा सवारी दुर्घटना हुने गरेका छन् । बर्षातयाममा ढलको उचित व्यवस्थापन हुन नसक्दा सडकहरूबाटै पानी बहने र खाल्डाखुल्डी नदेखिने हुँदा सवारी चालकले सडक नै ठम्याउन कठिन हुने कारणले गर्दा सडक दुर्घटना हुने गरेका छन् । कतिपय स्थानहरूमा पहिरो आई सडक अवरुद्घ हुने र वैकल्पिक बाटो प्रयोग गर्दा सडक माथिबाट ठुल्ठूला चट्टानहरू भmर्न गई दुर्घटना हुने गरेका छन् । मौसममा आउने परिवर्तनले गर्दा बाक्लो हुस्सु, शीतलहर र पानी परेको अवस्थामा सवारी गति नियन्त्रण गरी सवारी नचलाउँदा सडकमा चिप्लिएर दुर्घटना हुने तथ्य ट्राफिक प्रहरीले जनाएको छ ।

 ६. मानवीय कारण ः सवारी चालकहरू मानसिक तनावमा रही लामो दुरीसम्म सवारी चलाउँदा थकान र निन्द्रामा रहनुका कारण आँखाको दृष्टि कम हुन गई दुर्घटना हुने गर्दछ । त्यस्तै गरी कम उमेरमै सवारी चालक अनुमति पत्र पाउनु, मोबाइल प्रयोग, अस्वस्थ्य प्रतिस्पर्धा, देखासिकी, लापरबाहीसँग सवारी साधन चलाउनु, सडकको अवस्थाबारे जानकारी नहुनु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सवारी साधनको बारे प्राविधिक ज्ञान नहुनु, ट्राफिक चिन्हहरू ट्राफिक नियमको कार्यान्वयन नगर्नु सडक दुर्घटनाको मुख्य कारण हो ।

७. सडकमा जथाभावी रूपमा छाडा गाईबस्तु, कुकुर, घरपालुवा जनावरहरू छोड्दा सडक दुर्घटना हुने गरेको पाइन्छ । तिनको उचित व्यवस्थापन सम्बन्धित निकायले समयमै गर्न सकिएको खण्डमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

सडक सुधारकै लागि भनेर उठाइएको सवारी करको समेत सही रूपमा सदुपयोग गर्दै सडक मर्मत सम्भारलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि सरकार र आमनागरिकहरू बेलैमा सचेत र सतर्क हुनु आवश्यक रहेको छ । कमजोर सडक पूर्वाधार, अनुपयुक्त तथा पुराना सवारी साधन, सवारी चालक र सडक प्रयोगकर्ताको लापरबाही कम गर्नका लागि नेपाल सरकारले ट्राफिक सचेतना कार्यक्रम सबै ठाउँमा लागू गराउँदै विद्यालयस्तरदेखि नै पाठ्यक्रममा समावेश गरी जगदेखि नै ट्राफिक नियमको सन्देश प्रवाह गर्न सकिएको खण्डमा भोलिका दिनहरूमा दुर्घटना कम हुने विश्वास लिन सकिन्छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी धनीलाई ब्लु–बुक दिने, सवारी दर्ता खारेज गर्नसक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्नसक्ने अधिकारको व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता रहेको छ । समयसमयमा मर्मत सम्भार गरी चुस्तदुरुस्त अवस्थामा राखी सवारी चलाउने, सडकहरू मर्मतसम्भार गर्ने, यात्रु तथा पैदल यात्रुहरू स्वयं सचेत हुने र ट्राफिक नियमको पालना गर्ने परिपाटी अवलम्बन गर्न सकिएको खण्डमा सडक दुर्घटनालाई केही हदसम्म भए पनि न्यूनीकरण गर्न सकिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय