विश्व

न्यूजील्यान्डद्वारा अस्ट्रेलियासँग हवाई उडान सुरु गर्ने घोषणा

सौर्य अनलाइन २०७७ चैत २४ गते १४:१० मा प्रकाशित

वेलिङ्टन । न्यूजील्यान्डले आगामी अप्रिल १९ देखि अस्ट्रेलियासँग सीमित संख्यामा हवाई उडान सुरु गर्ने घोषणा गरेको छ । दुई छिमेकी मुलुकबीच प्रारम्भ हुन लागेको हवाई मार्गबाट यात्रा गर्नेहरुले क्वारेन्टाइनमा बस्नु पर्ने छैन । कोरोना भाइरस महामारीका कारण दुबै मुलुकमा अलपत्र परेका र आफन्तजनलाई भेटघाट गर्न यो सुविधाले ठूलो मद्दत पुग्नेछ ।

साथै कोरोनाका कारण संकट व्यहोरी रहेको पर्यटन उद्योगलाई पनि यसले राहत दिने विश्वास गरिएको छ । दुबै मुलुकले कडा लकडाउन गरी कोरोना भाइरसको प्रसार रोक्न ठूलै सफलता हासिल गरेका थिए । न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आफ्ना स्वास्थ्य अधिकारीहरुले अस्ट्रेलियाबाट कोरोना संक्रमण हुने खतरा निकै न्यून रहेको र अब यात्रा निकै सुरक्षित रहने बताएको जानकारी दिएको छ ।

प्रधानमन्त्री आर्डेनले भने, ‘हवाई उडानको थालनीले अर्थतन्त्रलाई पुनः गतिशील तुल्याउन मद्दत गर्नेछ, यात्राको क्रममा भाइरसको संक्रमण रोक्न उच्चस्तरीय प्रबन्ध पनि गरिने छ ।’ अस्ट्रेलियाले यसअघि पनि न्यूजील्यान्डबाट अस्ट्रेलिया आउने यात्रुलाई क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको थियो, तर न्यूजील्यान्डले निकै सावधानी अपनाएको थियो ।

अस्ट्रेलियाबाट न्यूजील्यान्ड आइपुगेका हरेक व्यक्तिलाई दुई साताको क्वारेन्टिनमा बस्नैपर्ने नियम लगाइएको थियो । दुबै देशले विश्वका अन्य मुलुकसँगको यात्रालाई निकै कडा बनाएका थिए ।

कोरोना देखिएका मुलुकका नागरिक अस्ट्रेलिया आइपुगे उनीहरुलाई कडा क्वारेन्टिनमा राख्ने गरिएको थियो । क्विन्सल्यान्डस्थित दी काउ रेस्टुराँका मालिक माल प्राइसले यस वर्ष आफ्नोमा ८० प्रतिशतले ग्राहक घटेको बताए । उनले अब बिस्तारै व्यवसायले गति लिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय