थ्री नेसन्स कप फुटबल : लक्ष्य भन्दा बढी आम्दानी

काठमाडौं । यसै साता सम्पन्न थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले लक्ष्य भन्दा बढी आम्दानी गरेको छ । झन्डै डेढ करोड आम्दानी हुने लक्ष्य लिएको एन्फाले टिकट, विज्ञापन र प्रत्यक्ष प्रसारण अधिकारबाट १ करोड ७३ लाख ३५ हजार ५ सय रुपैयाँ आम्दानी गरेको छ । जसमा ४ खेलको टिकट विक्रीबाट १ करोड ३६ लाख ३५ हजार ५ सय रुपैयाँ आम्दानी भएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । विज्ञापन र प्रत्यक्ष प्रसारण अधिबारटबाट ३७ लाख रुपैयाँ आम्दानी भएको छ । मैले प्राप्त गरेको आम्दानीको प्रारम्भिक जानकारी यहि हो, एन्फा प्रवक्ता राईले भने, ‘आइतबार सम्ममा हामी आम्दानीको सबै विवरण निकाल्छौं । खर्चको अन्तिम विवरण तयार गर्न भने केहि समय लाग्नेछ ।’

एन्फाले झन्डै १ करोड खर्च हुने अनुमान गरेको थियो । दशरथ रंगशालामा सोमबार भएको फाइनलमा संजोक राई र विशाल राईको गोलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपालले थ्री नेसन्स कपको उपाधि जितेको थियो । सन् १९८४ मा दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) मा स्वर्ण जितेयता नेपाली टोलीले दशरथ रंगशालमा उपाधि जितेको त्यो नै पहिलो पटक हो ।

फाइलनमा मत्र ७४ लाख ७९ हजार रुपैयाँको टिकट विक्रीको जानकारी आफूलाई प्राप्त भएको राईले बताए । फाइनलका लागि एन्फाले भिआईतर्फ एउटा टिकटको २ हजार र साधारण प्यारापिटतर्फ एउटा टिकटको १ हजार मुल्य तोकेको थियो । जबकी त्यसअघि ३ खेलमा साधारणतर्फ ७ सय र भिआईपीतर्फ १ हजार ५ सय टिकट दर तोकिएको थियो । फाइनलमा मात्र भिआइपीतर्फ ९ सय ७७ र साधारणतर्फ ५ हजार ५ सय २५ टिकट विक्री भएको राईले जानकारी दिए । बंगलादेश र किर्गिस्तानबीच भएको पहिलो खेलमा ६६ हजार २ सय, नेपाल र कीर्गिस्तान यू २३ बीचको खेलमा १७ हजार ३९ हजार रुपैयाँको टिकट विक्री भएको बताइएको छ ।

त्यस्तै नेपाल र बंगलादेशबीच राउन्ड रोविनको अन्तिम खेलमा ४३ लाख ५१ हजार रुपैयाँको टिकट विक्री भएको थियो । राउन्ड रोविनमा बंगलादेशले किर्गिस्तानलाई १–० ले हराएको थियो भने बाँकी २ खेल गोलरहित बराबरीमा टुंगिएको थियो । नेपाल र बंगालदेशको खेललाई मात्र फिफाले अन्तर्राष्ट्रिय खेलको मान्यता दिएको थियो ।

एन्फा र नेपाल टेलिभिजनबीच पुरानै सम्झौता अनुसार प्रत्यक्ष प्रसारण गरिएको बताइएको छ । टेलिभिजनले त्यसवापदको २० लाख रुपैयाँ दिएको प्रवक्ता राईले बताए । त्यसबाहेक मैदान वरिपरि राखिएको विज्ञापन बोर्डतर्फ मिडिया हब, नेपाल इन्भेष्टमेन्ट बैंक र चौधरी ग्रुपले समान ५ हजार र राष्ट्रिय टोलीको जर्सी प्रायोजकका रुपमा रहेको केटिएम सिटीले २ लाख रुपैयाँ उपलब्ध गराएको राईले जानकारी दिए । थ्री नेसन्स कप विजेता टोलीका खेलाडीलाई जनही ४ लाख रुपैयाँ पुरस्कार दिने शुक्रबार मन्त्री परिषद्को बैठकले निर्णय गरेको थियो । यसअघि एन्फाले जनही १ लाख रुपैयाँ पुरस्कार दिने निर्णय सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया