कोरोनाले कसरी सिथिल पार्दैछ अर्थतन्त्र ?

केबी बस्नेत

सरकारी तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन वा जिडिपी साढे ३४ खर्ब रुपैयाँ छ । वर्षभरिको देशका यावत् आर्थिक गतिविधि, उत्पादन र कमाइ जोड्दा हुन आउने रकम नै जिडिपी हो । सरकारले यो कुल परिमाणलाई सात प्रतिशतले बढाउने लक्ष्य राखेको थियो । तर कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीले निम्त्याएको ‘लक डाउन’ ले सरकारको लक्ष २० प्रतिशत पनि पूरा हुन सकेन । कोरोना संक्रमण जति लम्बिन्छ, त्यति नै यसको घातक असर बढ्दै जाने निश्चित छ । अघिल्लो आर्थिक वर्ष विदेशमा रोजगारी गरिरहेका लाखौँ नेपालीले कमाएर घर पठाएको विप्रेषण आम्दानी ८ खर्ब ७९ अर्ब रुपैयाँ थियो । त्यो देशको कुल गार्हस्थ्य उत्पादनको एकचौथाइ हो । ठूलो योगदान गर्ने यो क्षेत्र कोरोनाभाइरस संक्रमणका कारण गम्भीर जोखिममा परेको छ ।

पर्यटनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ठ्याक्कै कति योगदान गर्छ भन्नेमा स्पष्ट छैन । तर, कम्तीमा तीनदेखि सात प्रतिशत योगदान गर्ने ठानिएको छ । भनिन्छ एक जना विदेशी पर्यटक आउँदा नौ जनाको रोजगारी सिर्जना हुन्छ । नेपालमा वार्षिक १३ लाख विदेशी पर्यटक आउन गरेकोमा सन् २०२० मा करिव डेढ लाख मात्रै विदेशी पर्यटक आए । पर्यटन क्षेत्रमा लागेका मध्ये कम्तिमा पनि ३० लाखले रोजगारी गुमाएको यो तथ्यांकले देखाउँछ । कोरोना भाइरस महामारीले विश्वभरि नै सबैभन्दा मारमा परेको भनेको पर्यटन तथा यातायातको क्षेत्र नै हो । एक त जीवन र जीविका नै खतरामा परेपछि बाहिर डुल्न निस्किन सक्नेको संख्या लामैसम्म कम रहने देखिन्छ भने अर्कोतिर चाहना नै भए पनि ‘लक डाउन’ र सामाजिक दुरी कायम राख्नुपर्ने तथा क्वारेन्टाइनमा बस्नुपर्ने अवस्थामा समयमा मानिस घुमफिरमा उत्सुक हुँदैनन् । जो पर्यटक भएर यहाँ आउँथे ती मानिस नै बेरोजगार भएको अवस्था छ । साना÷मझौला व्यवसायीले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशतको योगदानका साथै १७ लाखलाई रोजगारी दिएका थिए, तर उनीहरूको व्यवसाय समाप्त भएको छ ।

कोभिड–१९ रोगको कारण लाखौँ व्याक्तिहरूको मृत्यु भएको छ भने करोडौँ संक्रमित भई उपचारको अवस्थामा छन् । आज विश्वले एकैपटक स्वस्थ्य र आर्थिक संकट बेहोर्नुपरेको कारण गरिबी, बेरोजगारी र आय असमानता बढ्ने अनुमान छ । कोभिड–१९ रोगको संक्रमणबाट हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीपछि बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा लगानी अत्यन्त न्यून भएको कारण निक्षेपमा क्रमशः वृद्धि हुँदै गइरहेको छ । फलतः वित्तीय बजारमा अधिक तरलताको अवस्था सिर्जना भएको छ । कर्जा प्रभावकारी मात्रा बढ्न नसक्दा ब्याज आम्दानीमा उल्लेख्य मात्रामा कमी आउने देखिन्छ भने निक्षेप संकलन निरन्तर रूपले बढ्दै गई बैंकिङ क्षेत्रमा अत्यधिक तरलताको अवस्थामा लामो समयसम्म रहिरहँदा र अर्थतन्त्रमा नयाँ लगानीका अवसरहरू थप हुन नसक्दाको अवस्थामा वित्तीय संस्थाहरूको सञ्चालन मुनाफामा समेत असर पर्ने कुरा निश्चित छ ।

आज विश्वमा अर्थतन्त्र सन् १९३० को दशकको महामन्दीपछिको ठूलो संकुचनमा गएको छ । यति मात्र होइन, कोभिड–१९ को संक्रमणपछि यसको नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी रूपमा अवलम्वन गरिएको उपायहरूबाट उत्पादनदेखि आपूर्तिसम्मका शृंखला अवरुद्ध भई विश्व अर्थतन्त्र संकुचनमा गएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले जुन २०२० मा अध्यावधिक गरेको बल्र्ड एकोनोमिक आउटलुक अनुसार सन् २०२० मा विश्व अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको थियो ।

विकसित मुलुकहरूको अर्थतन्त्र सन् २०१९ मा १ दशमलव ७ प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ८ प्रतिशतले संकुचन हुने अन्तर्राष्ट्रिय मुुद्रा कोषको प्रक्षेपण छ । उदीयमान तथा विकासशील अर्थतन्त्र सन् २०१९ मा ३ दशमलव ७ प्रतिशतले वृद्धि भएकोमा सन् २०२० मा तीन प्रतिशतले संकुचन हुने र चीनको अर्थतन्त्र एक प्रतिशतले बढ्ने प्रक्षेपण छ । नेपालको आर्थिक वृद्धि भने एक प्रतिशतमा सीमित हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । कोभिड–१९ को कारण साष्टिगत मार्गमा संकुचन आउनुको साथै पेट्रोलियम पदार्थको मूल्यमा समेत गिरावट आएकोले मुद्रास्फीति केही न्यून रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुसार विकसित देशहरूमा सन् २०१९ मा मुद्रास्फीति पाँच प्रतिशत थियो भने सन् २०२० मा ४ दशमलव ४ प्रतिशत हुनेछ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक लगायतका संस्थाहरूले कोभिड–१९ रोगको महामारीको कारण विश्व आर्थिक मन्दीतर्फ उन्मुख भएको जनाएका छन् । सन् २०२० मा विश्व अर्थतन्त्र संकुचित हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । किनभने विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिमको कारण गरिएको बन्दाबन्दीले उत्पादन, सेवा क्षेत्र आदिमा ह्रास आएको छ ।

विश्व अर्थतन्त्रमा देखिएका चुनौतीहरू सामना गर्न अधिकांश मुलुकहरूले विस्तारकारी मौद्रिक एवं वित्त नीतिहरू अवलम्बन गरेका छन् । कोभिड–१९ संकटबाट सिर्जित अनिश्चितताका बाबजुद धेरै मुलुकहरूले आर्थिक क्रियाकलाप सहज बनाउन बन्दाबन्दी लगायतका व्यवस्थाहरू क्रमशः खुकुलो बनाउँदै लगेका छन् । नेपाल राष्ट्र बैंकको मौद्रक नीतिका अनुसार कोभिड–१९ ले अनपेक्षित चुनौती थपेको छ । नेपालको अर्थतन्त्रमा लगातार तीन वर्ष उच्च आर्थिक वृद्धिपछि आव ०७६÷७७ मा प्रभावित क्षेत्रको कर्जा व्यवस्थापन र नेपाल राष्ट्र बैंकको पहलमा सहजीकरण गर्नुपर्ने र वित्तीय साधनहरूलाई उद्यमशीलता विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेतर्फ प्रोत्साहित गर्नुपर्ने भएको छ ।

कोभिड–१९ को कारण कर्जाको प्रभावकारी माग बढ्न नसक्दा व्याज आम्दानीमा उल्लेख्य मात्रामा गिरावट आउने देखिन्छ भने निक्षेप संकलन निरन्तर बढ्दै गई बैंकिङ क्षेत्रमा अत्याधिक तरलताको अवस्था लामो समयसम्म रहिरहँदा र अर्थतन्त्रमा, नयाँ लगानीका अवसरहरू थप हुन सक्दाका अवस्थामा वित्तीय संस्थाहरूको सञ्चालन मुनाफामा समेत प्रभाव पर्न जाने निश्चित छ । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य संकटले सिर्जना गर्न आर्थिक संकट नेपालका लागि पनि अर्थतन्त्रको विस्तार र व्यवस्थापनका थप चुनौती बनेको छ । आन्तरिक आर्थिक क्रियाकलापमा देखिएका शिथिलता, आपूर्ति शृंखलामा परेको असहजताको कारण वित्तीय बजारको सन्तुलन प्रभावित हुने सम्भावना छ ।

नेपालमा कोरोनाको महामारीपछि आउने बजेट उद्योगमैत्री, व्यवसायमैत्री र किसानमैत्री हुने आमजनताको अपेक्षा थियो । तर, यस्तो हुन सकेन । नेकपा अध्यक्षको नेतृत्वको सरकार आफ्नै कार्यशैलीका कारण चौतर्फी घेराबन्दीमा परेको छ । यो सरकारबाट जनताले विश्वास र समृद्धिको अपेक्षा गरेका थिए । परन्तु आज जनअपेक्षा विपरीतको व्यवहार सहन परिरहको छ । चालु आवमा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ८ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान भए पनि विश्व बैंकको प्रक्षेपणअनुसार यो शून्य दशमलव ६ प्रतिशतमा खुम्चिनेछ । यसबाट यहाँको आर्थिक विकासमा नकारात्मक प्रभाव पर्नेछ ।

राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार कोरोनाले शिथिल पारेको अर्थतन्त्रको सुधार गर्न ६ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक पर्नेछ । कोरोनाको कारण नेपाली अर्थतन्त्रमा परेको प्रभाव अध्ययनबाट उक्त आयोगले यो निष्कर्ष निकालेको हो । वस्तुतः गत आर्थिक वर्षको पछिल्लो चार महिना लगभग बन्दाबन्दीमै अर्थतन्त्र गुज्रियो । ११ चैतमा सुरु भएको बन्दाबन्दी असारमा केही खुकुलो भए पनि नयाँ आर्थिक वर्षको पहिलो दुई महिनासम्म निषेधाज्ञमै बित्यो र अर्थतन्त्र चलायमान हुन सकेन । विगत चार/पाँच वर्षयता केही सुधार हुन थालेका आधारहरू धराशायी बने । सबैभन्दा बढी पर्यटन अर्थतन्त्रमा प्रभाव प¥यो । अरू क्षेत्रमा विस्तारै सुधार भए पनि बाह्य पर्यटक आगमन लगभग ठप्प हुँदा यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव प¥यो । तर, वर्तमान समयमा यहाँको मुद्रस्फीति बढेको र निर्यात घटेकोले अर्थतन्त्रमा केही सुधार हुने लक्ष्यण देखिएको छ ।

प्रतिक्रिया