मोटरेबल पुल जीर्ण बन्दा जोखिमपूर्ण यात्रा

पर्वत । निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा यहाँको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ । समयसमयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एक मात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एक मात्र सडक दोबिल्ला फलेबास–सडकको मोदीखोलामा निर्मित मोटरेबल पुल जीर्ण बनेको हो । कुश्मा नगरपालिका– ८ दोबिल्लास्थित मोदीखोलामाथि रहेको सो मोटरेबल पुलको समयसमयमा मर्मत नहुँदा सवारीसाधन र यात्रुहरूसमेत जोखिमपूर्ण रूपमा वारपार गर्न बाध्य भएका छन् ।

पुलको अधिकांश ठाउँमा नटबोल्टु खुस्किएको, पुलमा रहेका पाता उप्किएका तथा ठाउँठाउँमा खिया लागेको, पुलको दुवै छेउमा माटो जमेको भए पनि कुनै निकायले मर्मतमा ध्यान नदिँदा सवारीसाधन र यात्रु जोखिममा परेका छन् । पुलका पाता नै उप्किएर खाल्डा परेका छन् । तत्कालीन जिल्ला विकास समितिले हेरालो राखेर नियमितरूपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जीर्ण बन्दै गएको सवारी चालकको गुनासो रहेको छ ।

पुलको नियमितरूपमा रेखदेख नहुँदा ओभर लोड गरिएका गाडी, डोजर, लोडर लगायतका हेबी इक्युमेन्टसमेत पुलबाटै वारपार गर्ने गर्दा पुलका पातामा प्वाल पर्ने समस्या देखिएको स्थानीय चित्रसागर श्रेष्ठले बताए । उनले भने, ‘पुलमा जुनसुकैबेला पनि ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ । पुलबाट पाँच स्थानीय तहका ४५ भन्दाबढी वडामा सवारीसाधन आवातजावत आउने गर्दछन् । दैनिक सयौँको संख्यामा सवारीसाधन चल्ने उक्त पुल १५ टन भारवहन क्षमता भएको भए पनि ओभरलोड गरी लैजाँदासमेत कुनै निकायले कारबाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताए । ठूलाठूला डोजर, लोडरजस्ता उपकरणहरू यहीँबाट तार्ने गरेकोसमेत पौडेलको भनाइ छ ।

जिल्ला समन्वय समितिले पुल मर्मतका लागि कोष नभएकाले रेखदेख भए पनि जीर्ण बन्दासमेत मर्मतको काम गर्न नसकिएको बताएको छ । पूर्वाधार विकास कार्यालयले पुलमा पाता मिलाउनेबाहेक अन्य मर्मतको योजना नरहेको जनाएको छ । टुक्रिएका, छुट्टिएका फलामका पाता बोल्डिङ गरेर जोड्नेबाहेक अरू योजना नरहेको सो कार्यालय प्रमुख कृष्ण आचार्यले बताए । पुल मर्मतका लागि लागत तयार गरेर मन्त्रालयमा माग गरिएको र रकम निकासा भएमा पूर्णरूपमा मर्मत गर्न सकिने उनको भनाइ छ । स्थानीय विकास मन्त्रालयले नेपालमै नमुना पुलका रूपमा सस्पेन्डेड मोडलमा सो पुल निर्माण गरेको थियो ।

प्रतिक्रिया