८ अर्बको ट्रेजरी बिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब १० रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैकले जनाएको छ । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो ।

यो ट्रेजरी १४ बैशाख २०७८ मा परिपक्व हुनेछ । बैंकले ९१ दिनको लागि १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी १५ असार २०७८ मा परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७८ असोज १२ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था यसमा रहेको छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आब्हान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

प्रतिक्रिया