बिमा विधेयकमा दफावार छलफल प्राधिकरण गठनको तयारी

काठमाडौं । बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय तुल्याई बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले संसदमा बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गरी बनाएको विधेयकमाथि दफावर छलफल सुरु भएको छ । छलफलमा नेपाल बिमा प्राधिकरण गठन तथा त्यसका काम, कर्तव्य र अधिकार, प्राधिकरण सञ्चालक समिति, अध्यक्ष वा सदस्यको नियुक्तिका विषयमा पनि छलफल भएको थियो ।

संसद् विघटन बदर पछि बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि अर्थ समितिमा बुधबार देखी पुनः छलफल प्रारम्भ भएको हो । समितिका सभापति कृष्णप्रसाद दाहालका अध्यक्षतामा सुरु भएको बैठकमा विधेयकमाथि दफाबार छलफल गर्दै अर्थ मन्त्रालय र बिमा समितिका पदाधिकारीले व्यवसायको स्वच्छ प्रतिस्पर्धा तथा त्यसको प्रभावकारी नियमन सम्बन्धमा सुझाव दिएका छन् ।

समितिका सदस्यको जिज्ञासा, प्रचलित कानून, ऐन, नियम तथा बिमा सम्बन्धी प्राविधिक पक्षबारे मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनी र समितिका अधिकारीले जानकारी दिएका थिए । बैठकमा बिमा ऐन २०७५, नेपाल बिमा प्राधिकरण गठन तथा त्यसका काम, कर्तव्य र अधिकार, प्राधिकरण सञ्चालक समिति, अध्यक्ष वा सदस्यको नियुक्ति, उनीहरूको योग्यता, पदावधि, काम, कर्तव्य र अधिकार, पदाधिकारीको स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज, कर्मचारीसम्बन्धी व्यवस्था, प्राधिकरणको कोष, लेखा तथा लेखापरीक्षणलगायत विषयमा दफावार छलफल भएको थियो ।

अनुमतिपत्र नलिई बिमा व्यवसाय गर्न वा गराउन नपाइने, बिमा कम्पनीको स्थापना, प्राधिकरणले कम्पनी खोल्न पूर्वस्वीकृति दिन इन्कार गर्न सक्ने, कोष, बिमकको पूँजीकोष तथा सेयर बाँडफाँट, चुक्ता पूँजी कायम गर्नुपर्ने, अनिवार्य जगेडा कोष, महाविपत्ति कोष राख्ने, दावी भुक्तानी कोष तथा जगेडा कोषको व्यवस्था, दायित्वभन्दा बढी सम्पत्ति हुनुपर्नेजस्ता विधेयकका सबै दफामा छलफल जारी रहेको छ ।

८२ अर्ब बिमा शुल्क
फागुन महिनासम्ममा संचालनमा रहेका १९ जीवन बिमा कम्पनीले ८२ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । माघमा जीवन बीमा कम्पनीले ७४ अर्ब ५५ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका थिए । यो रकम अहिले ७ अर्ब ६५ करोड रुपैयाँले बढेर ८२ अर्ब २० करोड रुपैयाँ पुगेको छ । बिमा समितिका अनुसार जीवन बीमा कम्पनीले फागनु महिनासम्ममा प्रथम बीमा शुल्क २८ अर्ब ९ करोड रुपैयाँ आर्जन गरेका छन भने नविकरण बीमा शुल्क ५३ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको छ । वैदेशिक रोजगार बिमा शुल्कबाट ३२ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ ।

चालु आर्थिक बषएको ८ महिनामा बिमा कम्पनीले ८१ लाख ८७ हजार ९६८ वटा बिमा पोलिसी जारी गरेका छन् । यस्तै वैदेशिक रोजगार बिमा लेखको संख्या ७ लाख २३ हजार ८ सय १७ रहेको छ । यो अवधिमा धेरै बिमा शुल्क आर्जन गर्ने कम्पनी पहिलो नेपाल लाइफ इन्स्योरेन्स बनेको छ । इन्स्योरेन्सले २२ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ पछि लाइफ इन्स्योरेन्स कर्पोशन नेपालले १० अर्ब ८८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ भने तेस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ७ अर्ब ८३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सरकारी स्वामित्व भएको राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ५२ करोड, मेट लाइफले ३ अर्ब ५१ करोड, एशियन लाइफले ४ अर्ब ४ करोड, सूर्या लाइफले २ अर्ब ९६ करोड, गुँरास लाइफले २ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै प्राइम लाइफले २ अर्ब ७५ करोड, आइएमई लाइफले १ अर्ब ६१ करोड, यूनियन लाइफले ४ अर्ब ६७ करोड, ज्योती लाइफले १ अर्ब ९९ करोड, रिलायन्स लाइफले १ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया