कैलालीको लम्की क्षेत्र तनावग्रस्त : प्रहरी कार्यालय तोडफोड गर्दा हवाई फायर (भिडियाे)

कैलाली ।  बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्नुका साथै इलाका प्रहरी कार्यालय घेराउ गर्दा लम्की क्षेत्र तनावग्रस्त बनेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँका कमला देवकोटाको मृत्यु भएको थियो । मृतकका आफन्तले शव इलाका प्रहरी कार्यालय लम्किको गेटमा राखेर प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय भित्र पसेर तोडफोड गर्नुका साथै ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले केही सेल अश्रुग्याँस र हवाई फायर गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले प्रदर्शनकारीले लम्की चोकमा रहेको प्रहरी बिट जनाउनुका साथै इलाका प्रहरी कार्यालयमै पसेर प्रहरीलाई लतार्दै लैजान थालेपछि हवाई फायर गर्नुपरेको बताए।

अहिले लम्की क्षेत्र निकै तनावग्रस्त रहेको बताउँदै प्रहरी निरीक्षक थापाले स्थानीयले गरेको ढुंगामुढाबाट सशस्त्र प्रहरीका डीएसपी र केही प्रहरी समेत घाइते भएको बताए । उनले सो सडक खण्ड भएर चल्ने सम्पूर्ण सवारी साधनहरू अवरुद्ध भएको बताए। ठक्कर दिने बस र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

भिडियाे

 

 

प्रतिक्रिया