गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर सेवा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । बैंक र सो यातायात बीच क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्था सुरु भएको हो । कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्यूआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए । कार्यक्रममा गागलफेदी यातायात प्रालिका संचालक बद्रिबहादुर खड्का, नारायण खड्का, कुमार ध्वज खड्का, आनन्द खड्का तथा अन्य सेयरधनीको उपस्थिति थियो ।

गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ । नगदरहित भुक्तानी ब्यवस्थालाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरुप बैंकले देशभरका विभिन्न सेवामुलक क्षेत्रमा क्यूआर कोड सुविधाबाट भुक्तानी गर्ने ब्यवस्थालाई प्राथमिकता दिँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया