‘सामाजिक रुपान्तरणमा महिलाको भुमिका आवश्यक’

काठमाडौ । सामाजिक राजनीतिक रुपान्तरणमा महिलाको भुमिका महत्वपुर्ण र आवश्यक रहेको उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उनले त्यस्तो धारणा राखेका हुन । सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको पुनको भनाई थियो । उनले विश्वमै नेपाल उदाहरणीय बनेको र तर कानुनले दिएका अधिकारको व्यवहारिक कार्यान्वयनका लागि धेरै काम गर्न बाँकी रहेको बताए ।

दिनानुदिन बलात्कारका घटना बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले अपराधीलाई कानुनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको र अन्तराष्ट्रियस्तरमा मुलुकको छविसमेत धुमिल भइरहेको धारणा राखे । उनले महिलाद्वारा सञ्चालित उद्दमको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै जानु चिन्ताको विषय भएको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानलाई करमा विशेष छुट दिन आग्रह गरे । कृषि तथा जलविद्युत क्षेत्रमा जस्तै महिला सञ्चालित उद्यम व्यवसायलाई बैंकहरूले ब्याजदर घटाउने गरी सरकारले नीति ल्याउनुपर्ने श्रेष्ठको भनाई थियो । सरकारले महिलाद्वारा सञ्चालित व्यवसायलाई १५ लाखसम्म बिनाधितो ऋण दिने नीति लिए पनि विभिन्न झन्झट बेहोर्नुपरेको बताए । ‘जति दिने हो, बिना झन्झट, स्वतःस्फुर्त पाउने व्यवस्था मिलाउन अनुरोध गदछौ’ उनले भने । अध्यक्ष श्रेष्ठले महिलाले उत्पादन गरेका सामानहरू प्रयोग गर्न र विदेशसम्म निर्यात हुने वातावरण बनाउन आग्रह समेत गरे ।

नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताइन । महिलालाई आर्थिक रुपले सक्षम नबनाइ कानुनी अधिकारको पूर्ण उपयोग हुन नसक्ने उनको भनाई थियो । महिलाले गर्ने व्यवसायमा कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न उनले माग गरे । नेपाल महिला चेम्बरले महिलाको क्षमता अभिवृद्धिमा कार्य गरिरहेको उल्लेख गर्दै उनले नीतिगत सुधारमा पनि आफूहरूले आवाज उठाइरहेकोमा जोड दिए ।

पाँच महिला सम्मानित
नारी दिवसको अवसरमा महिला चेम्बरले पाँचजना महिला व्यवसायीलाई सम्मान गरेको छ । सम्मानित हुने महिला व्यवसायीलाई प्रमुख अतिथि पुनले सम्मानपत्र प्रदान गरेका हुन । आईटी एन्ड इन्नोभेसन अवार्डबाट अदिति गोयल सम्मानित भएकी छिन । त्यस्तै बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ, एग्रो आन्टरप्रेनर अवार्ड झापाको कन्काई महिला ग्रुपले प्राप्त गरेको छ । त्यस्तै महिला उद्यमी अवार्ड रेखा चौधरी शर्माले प्राप्त गरेकी छिन ।

प्रतिक्रिया