प्रत्रकारितामा महिला : अवस्था र चुनौती

मीरा राजभण्डारी अमात्य

एक त महिला पत्रकारको दोहोरोतेहरो घरदेखि पेसागत जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता त्यसमाथि समाजले पत्रकारिताको मर्म, धर्म र कार्यगत प्रकृति नबुझ्नाले महिला पत्रकारलाई हेर्ने दृष्टिकोणकै कारण पनि यस क्षेत्रमा महिला पत्रकारहरू व्यावसायिक रूपमा टिक्न सकिरहेको अवस्था छैन ।

पत्रकार उमा सिंहको ‘गरमागरम चाय’ र ‘काल ध्वनी’ जस्ता कार्यक्रम अहिले ओझलमा परेको छ । जनकपुरमा पत्रकार उमाको हत्यापछि उमाजस्तो सशक्त पत्रकार अहिलेसम्म जन्मिन सकेको छैन । रुकुमकी पत्रकार टीका बिष्टको कथा पनि उस्तै छ । स्थानीय जन्ती धारा साप्ताहिकमा ‘किन चाहियो माओवादीलाई तीर्थाको सिन्दुर’ भन्ने लेख छापिए लगत्तै माओवादीद्वारा आक्रमणमा परी सख्त घाइते भएको कथन पत्रकार टीका विष्टको छ । नेपाली पत्रकारितामा महिला पत्रकारको हत्या र आक्रमणको सिलसिलालाई जे जस्तो मिथक कथासँग पछिल्ला दिनमा जोडेर हेर्ने गरिएता पनि उनीहरूमाथि भएको आक्रमण र हत्यासँग उनीहरूको पत्रकारितामा संलग्नता पनि जोडिएकै छ भन्न कंजुस्याइँ गरेमा महिला पत्रकारमाथि थप अन्याय हुनेछ । नेपालको पत्रकारिताको इतिहासमा मारिने ३४ पत्रकारको लर्कोमा उमा सिंह पहिलो महिला पत्रकार हुन् । राज्यका तर्फबाट हत्या गरिनेमा विनिता लुँइटेल प्रथम पत्रकार महिला हुन् ।

पत्रकारिताको इतिहासमा नेपालको पर्दापण विक्रम संवत १९५५ मा भयो । सुधासागर म्यागजिनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक र दैनिक हुँदै निरन्तरता दियो प्रजातन्त्रको पुनर्बहालीसम्म । यस बीचमा शारदा दैनिकलगायत थुप्रै पत्रिकाहरू निकले पनि पत्रकारितामा महिलाको खासै भूमिका रहेन । तर, २००७ सालको क्रान्तिमा महिला नेतृत्वको समेत निर्णायक भूमिका रहे पश्चात महिला नेतृहरूकै पहलमा उत्साह र रहरको उपजका रूपमा विक्रम संवत २००८ सालमा मुलुकको पहिलो महिला पत्रिका ‘महिला’ मासिक प्रकाशित भयो । साधना प्रधानको सम्पादकत्वमा प्रकाशित सो पत्रिका नेपालमा महिलाहरूले पहिलोपटक भोट हाल्न पाउने अधिकार प्राप्त भएको खुसियालीमा प्रकासित भएको थियो तर सो एक मात्र महिला पत्रिका पनि कालान्तरमा बन्द भयो ।

परिवार, समाज तथा राष्ट्र विकासका लागि महिला विकास अनिवार्य छ । वैदिक कालमा समेत महिला विकासका लागि नीति तथा व्यवहारहरू निर्माण भएका थिए । हाम्रा धर्मग्रन्थ तथा पुराणमा समेत ‘यत्र नारी पूज्यते तत्र रम्यते देवता’ श्लोकमार्फत समाजले महिला वर्गलाई सम्मान गर्न आव्हान गरेको छ । वर्तमान विश्वमा विश्व शान्ति तथा विकासका लागि संयुक्त राष्ट्र संघले महिला विकासलाई आधार स्तम्भ मानेको छ । मानव विकासका लागि महिला विकास अपरिहार्य पक्ष हो भने महिला विकासका लागि एउटा पक्षधरको रूपमा महिला पत्रकारको अस्तित्वलाई स्विकार्नु आवश्यक छ । कारण विकासका आधारभूत पक्षको रूपमा शिक्षालाई मानेको अर्थमा महिला विकासका लागि आवश्यक शिक्षा सचेतना तथा सूचनालाई प्रत्याभूति दिलाउन महिला पत्रकारको भूमिका सहजकर्ताको रूपमा रहन्छ । तर, जनसंख्याको हिसाबले ५१ प्रतिशत ओगटेको महिला वर्गको उपस्थिति राज्यका अन्य निकायमा न्यून रहे भैmँ यो वर्गको उपस्थिति पत्रकारितामा पनि समेत अत्यन्त न्यून छ । यसमा तुलनात्मक रूपमा आदिवासी जनजाति महिला पत्रकारको संख्या त अझै न्यून रहेको अवस्था छ ।

गोरखा भारत जीवनबाट सुरु भएको नेपालको पत्रकारिताले हालका दिनसम्म आइपुग्दा थुप्रै चुनौति पार गरेको छ । पत्रकारितामा महिला पत्रकारहरूको योगदान सर्वप्रथम विक्रम संवत १९७१ मा बनारसबाट प्रकासित हुने चन्द्र मासिकमा प्रकासित ‘स्त्री शिक्षा’ (सुकेसी) तथा ‘वीर पत्नीको साहस’ (कादाम्विनी ) नामक लेखहरूबाट भयो । त्यस्तै क्रममा विक्रम संवत १९८३ मा देहरादुनबाट प्रकाशित गोरखा साप्ताहिकमा दिव्यकुमारीदेवी कोइरालाद्वारा लिखित ‘स्त्री शिक्षाको महत्व’ शीर्षक अन्तर्गतका लेखहरूबाट निरन्तरता लिँदै गयो । विगतमा वेदको अध्ययनका लागि तत्कालीन समाजले छुट दिएता पनि पछिल्ला समाजले महिला शिक्षामाथि लगाएको बन्देजका कारण महिलाहरू नीतिगत तहमा पुग्न र निर्णायक भूमिका निर्वाह गर्नबाट वञ्चित हुँदै गएको विषयमा सशक्त कलम चलाउने संभवतः दिव्यकुमारी पहिलो महिला पत्रकार थिइन् जसले सर्वप्रथम तत्कालीन रुढीग्रस्त सामाजलाई महिलाको मूल्य मान्यतालाई ग्रहण गर्न घच्घच्यायाइन् ।

आधुनिक कालमा २००७ सालमा प्रजातन्त्रको आगमनपश्चात नेपाली पत्रकारितामा महिला पत्रकारहरूको आगमन ‘महिला’ नामक पत्रिका प्रकाशनसँगै प्रारम्भ भयो । साधना प्रधान तथा कुमारी कामक्षादेवी तथा प्रियम्वदा शर्माद्वारा सम्पादित उक्त पत्रिका महिलाहरूले सर्वप्रथम भोट हाल्ने अधिकार प्राप्त गरेको खुसियालीमा प्रकाशित भएको थियो । उक्त पत्रिककाको मुख्य पृष्ठमा भोट हालेको झोलाबाट भोट खसाल्दै गरेका महिलाहरूको चित्र थियो । तर, अत्यन्त उत्साहका साथ प्रकाशित सो मासिकका सम्पादन मण्डलहरू व्यावसायिक पत्रकार नरहेका र अधिकांश राजनीतिमै अल्मलिनुपरेका कारण सो दुर्लभ पत्रिकाले निरन्तरता लिन सकेन । जसको अभाव पछिल्ला ३० वर्षे नेपाली पत्रकारितामा रहिरह्यो ।

प्रजातन्त्रको पुनस्र्थापनापश्चात भने पत्रकारितामा महिलाहरूको सहभागिता क्रमशः बढ्दै गयो र महिला अधिकार तथा महिलाका विविध मुद्दामा प्राथमिकताका साथ कलम चलाउन अस्मिता पब्लिेकेसनजस्ता पत्रिकाहरूको सुरुआत भयो । महिलामाथि हुने हिंसा र दमनका विरुद्ध सशक्त रूपमा कलम चल्ने सो पत्रिका प्रकाशन पश्चात यस क्षेत्रमा महिला पत्रकारहरूको संख्या तथा महिला पत्रकारको सम्पादनमा निक्लने पत्रिकाहरू पनि क्रमशः बाक्लिँदै गयो । तर, महिलाका मानवअधिकारका सवालमा जे जस्ता देशीय तथा अन्तर्राष्ट्रिय दस्तावेजहरूको प्रत्याभूति भएता पनि व्यावहारिक रूपमा ती सवाल तथा मुद्दाहरूमा पत्रकारिता जगतले खासै समेट्न नसकेका गुनासा महिला जगत तथा महिला पत्रकारहरू माझ रहेको छ । समग्रमा हेर्दा महिलाका अधिकार र महिला हिंसाजस्ता विषयवस्तुले सम्पूर्ण मानव समुदायलाई असर पार्ने भएता पनि ती सवालहरू महिलाकै मात्र जस्तो देखिएको र ती विषयवस्तु तथा मुद्दामा लेखन र प्रकाशन प्रशारणमा महिला मात्रै संवेदनशील हुनुपर्ने बाध्यता रहेको छ । सबैभन्दा दुःखलाग्ग्दो कुरा महिला वर्गको हित र महिला विकासका उद्देश्यले छापालगायत पत्रकारिताका अन्य सामग्रीमा महिलाको हित र सवालमा भन्दा पनि महिलाको छवी बिगार्ने प्रस्तुतिले प्राथमिकता लिँदै गएको देखिन्छ ।

स्त्री शिक्षाको आवश्यकता लगायतका लेखहरूबाट पर्दापण भएको महिला पत्रकारिताले ‘अस्मिता’ तथा ‘नारी’ लगायतका पत्रिकासम्म आइपुग्दा थुप्रै चुनौतीहरू पार गरिसकेको छ । अझै पनि पत्रकारिता महिलाहरूको लागि खासै मौलाइनसकेको ठहर महिला पत्रकार जमातले गरेको छ । रहरकै कारण पत्रकारितामा आउने तर व्यावसायिकतातर्फ सशक्त नहुनाका कारण पत्रकारितामा महिलाहरूको खासै व्यावसायिक उपस्थिति भेटिँदैन । नेपाली पत्रकारितामा महिला पत्रकारको उपस्थिति पुरुष पत्रकारको तुलनामा अत्यन्त न्यून छ । कुल जनसंख्याको ५१ प्रतिशत ओगटेको महिलाहरूको उपस्थिति राज्यका अन्य निकायमा भैm राष्ट्रको चौथो अंग पत्रकारिता क्षेत्रमा समेत न्यून रहेको तथ्यांकहरूले देखाउँछ । एक त महिला पत्रकारलाई यस क्षेत्रमा रहरकै रूपमा मात्र प्रवेश गरेको उदाहरण पनि पाइन्छ भने यस क्षेत्रलाई नै पेसा बनाउँछु भन्ने मानसिकतासहित प्रवेश गरेका महिला पत्रकारलाई टिकाउन र बिकाउनकै पनि थुप्रै समस्या छन् । एक त महिला पत्रकारको दोहोरोतेहरो घरदेखि पेसागत जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता त्यसमाथि समाजले पत्रकारिताको मर्म धर्म र कार्यगत प्रकृति नबुभ्mनाले महिला पत्रकारलाई हेर्ने दृष्टिकोणकै कारण पनि यस क्षेत्रमा महिला पत्रकारहरू व्यावसायिक रूपमा टिक्न सकिरहेको अवस्था छैन ।

पत्रकार टीका विष्टकै भनाइलाई लिने हो भने राजनीतिक बिट लिँदा संसद्को रिपोर्टिङमा ढिलो हुने र घरबेटीले ‘नानीको काम आधारातसम्म कस्तो काम हो’ भनी प्रश्नवाचक तनाव दिने र कोही पुरुष साथीले घर पु¥याउन आउँदा छिमेकीले भ्mयालबाट हेर्न थाल्ने र भेटघाट हुँदा प्रश्न ओइरिने गरेकै कारण यो बिट छोड्न बाध्य भएको घटनाले महिला पत्रकारलाई पत्रकारितामा आउने र मौलाउने वातावरण घरदेखि समाजसम्म नभएको प्रष्ट हुन्छ । न्यूनतम पारिश्रमिक समेतको व्यवस्था नहुँदा सुरुमा रहरकै कारण प्रवेश गरेका महिला पत्रकारहरू पनि अन्य पेसामा पलायन हुने गरेको छ । अर्कोतर्फ पूर्ण व्यावसायिक भइसकेका महिला पत्रकारहरू पनि आकर्षक पारिश्रमिक र पहँुचको कारण गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रमा प्रवेश गर्नेको जमात पनि बढी छ । जसले गर्दा महिला पत्रकारको उपस्थितिमा अस्थिरतासमेत देखिन्छ ।

प्रतिक्रिया