प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ ।

ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा आज बसेको बैठकले पूर्वप्रधानमन्त्री दाहाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको सो समूहको संसदीय दलका सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

अध्यक्ष दाहाललाई दलका नेताका रुपमा अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्ताव गरेको थियो भने सांसद पम्फा भूसालले समर्थन गरेकी थिइन् । सो समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो ।

समूहका २५ प्रतिशत सांसदले दलको बैठक माग गरेका थिए । दलको नेता, उपनेता स्वतःनरहेको अवस्था पैदा भएको हुँदा २५ प्रतिशत सांसदले दलको बैठक डाक्न सक्ने प्रावधानका आधारमा आज बैठक बसेको गुरुङले बताए । बैठकले प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको सरकारको निर्णयको भत्र्सना र पुनःस्थापना गराउने सर्वोच्च अदालतले दिएको परमादेशको स्वागत गरेको छ ।

बैठकले प्रतिनिधिसभा विघटनका विरुद्धमा अग्रपङ्क्तिमा रहेर साथ दिने विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मीलगायतलाई धन्वाद दिने निर्णय गरेको सचेतक गुरुङले जानकारी दिए । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक ठहर्याएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग पनि गरेको छ ।

दलको बैठकले सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको भने स्वागत गरेको छ । यस्तै ताप्लेजुुङमा भएको आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल उचित राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । बैठकमा संसदीय दलको बहुमत सदस्यको उपस्थिति रहेको सचेतक गुरुङले जिकिर गरे ।

प्रतिक्रिया