सुनको आपूर्ति बढाउने प्रतिवद्धता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बिहिबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफु पनि जानकार रहेको बताए । बजारको आवश्यक अनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहनगर्न सक्ने तर्फ सचेत रहनुपर्ने आवश्यकता उनले औंल्याए ।

सोही क्रममा महासंघका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री भट्टसँग आग्रह गरे । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे । बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकतामा उनले जोड दिएका थिए । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनले स्मरण गराए । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । यसैवीच नेपाल सुनचाँदी ब्यवासयी महासंघको ८ औं स्थापना दिवस बिहीबार सम्पन्न भएको छ ।

प्रतिक्रिया