देउवालाई प्रधानमन्त्री बन्न दाहाल–नेपालको प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल–माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । औपचारिक रुपमा केही दिनभित्रै र अनौपचारिक रुपमा प्रस्ताव पठाइसकेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका सांसदहरुलाई आफ्नो कित्तामा ल्याउने र जनता समाजवादी पार्टीसँग मात्र भएपनि मिलेर सरकार बनाउने प्रयास विफल भएपछि देउवालाई प्रधानमन्त्री बनाउन तयार भएको छ । सर्वोच्च अदालतको फैसलाबाट फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि देउवा निवास पुगेका दाहाल–नेपालले सरकारमा सहकार्यको प्रस्ताव गरेका थिए । त्यस बेला उनिहरुले प्रधानमन्त्रीको प्रस्ताव गरेका थिएनन् ।

देउवालाई पाँचौ पटक प्रधानमन्त्री बनाउने तयारी स्वरुप सोमबार बसेको दाहाल–नेपाल पक्षको स्थायी समितिको बैठकले दाहाललाई प्रधानमन्त्री बनाउन नसकिने निचोड निकाल्दै प्रधानमन्त्री ओली विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने निर्णय गरेको थियो । मंगलबार विराटनगर पुगेका अध्यक्ष माधव नेपालले अहिलको सर्न्दभमा आफ्नो समूह, कांग्रेस र जसपाको सरकार बन्ने दाबी गरे । नयाँ सरकार गठनका लागि कांग्रेस र जसपा तयार भए प्रधानमन्त्री पद छाड्न तयार रहेको नेपालको भनाइ थियो ।

नेता नेपालले भने, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल जारी छ। हामी सहमतिमै नयाँ सरकार गठन गर्ने तयारी छौँ । यसक्रमा हामीलाई प्रधानमन्त्री नचाहिने बताइसकेका छौँ ।’ आफ्नो नेतृत्वमा सरकार बनाउने हरेक प्रयास विफल भएपछि प्रतिनिधिसभा बैठक अगाडी कांग्रेससँग सहमति जुटाउने प्रयास गरिरहेको छ । तर, कांग्रेसले भने पहिला कुन पार्टी हो कानुनी रुपमा आधिकारिकता लिएर आएमात्र छलफल गर्न सकिने स्पष्ट पारेको छ ।

नेकपा संसदीय दलमा प्रचण्ड नेपाल पक्षमा ८७ र ओली पक्षमा ८३ जना सांसद रहेको दाबी गरिन्छ । तर, पछिल्ला केही दिनमा सांसदले आफ्नो क्याम्प बदल्ने क्रम जारी रहेको छ । सभापति देउवालाई प्रधानमन्त्री बन्न नेकपाका दुवै पक्षबाट तारन्तार प्रस्ताव आइरहेको सहमहामन्त्री प्रकाशशरण महतले स्वीकार गरे । ‘उहाँलाई सरकारको नेतृत्व लिन नेकपाका दुवै समूहबाट औपचारिक/अनौपचारिक रुपमा पटक पटक प्रस्ताव आइरहेको छ,’ महतले भने । तर, नेकपा कानुनी रुपमा विभाजन नभएसम्म कांग्रेसले सरकारका विषयमा कुनै निर्णय नगर्ने स्पष्ट पारे ।

प्रतिक्रिया