आवाजविहीनको आवाज बन्न नसकेको नेपाली मिडिया

के.बी. बस्नेत

जतिसुकै राजनीतिक परिवर्तन भए पनि जनताको समस्या जहाँको तँही रहेबाट राजनीतिप्रतिको वितृष्णा बढेको बुझ्न गाह्रो छैन । आन्दोलनका सन्दर्भमा होस् वा चुनावका सन्दर्भमा उठाइएका राजनीतिक मुद्दा र जनताका दैनिक जनजीवनका सवालहरू सम्बोधन हुन सकेको पाइँदैन । पछिल्ला दिनमा मुलुक राजनीतिक गतिरोध र संवैधानिक संकटमा फसेको छ । प्रतिनिधिसभा विघटनले अन्योलता निम्त्याएको छ । यस्तो समयमा राजनीतिप्रतिको नागरिक दृष्टिकोण सकारात्मक नहुनु अस्वभाविक होइन । तर, हाम्रा मिडिया क्षेत्र पनि राजनीतिभन्दा टाढा जान नसक्नु विडम्वनापूर्ण हो ।

वस्तुतः मिडियाको शाब्दिक अर्थ माध्यम हो । कुनै पनि माध्यमको सहायताबाट सूचना प्रवाह गर्ने, मनोञ्जन दिने, शिक्षा दिने, अभिपे्ररणा गर्ने, मध्यस्थताको काम गर्ने, सामाजिकीकरण गर्ने वा समाज परिवर्तनको काम मिडियाले गर्छ । यसको व्यापक र सांगठनिक रूपमा सन्देश प्रदान गर्ने काम पनि गर्छ । साधारणतया मिडिया भन्नाले रेडियो, टेलिभिजन, पुस्तक–पुस्तिका, पत्रपत्रिका, इन्टरनेट, होर्डिङ बोर्ड, सिडी, डिभिडी आदिको समग्र रूपलाई इंगित गर्छ । यसले जनमानसलाई सुसूचित गर्ने तथा सत्य, तथ्य र प्रत्यक्ष समाचार सम्प्रेषण गरी जागरुक बनाउँछ । मिडिया आफैँमा सूचनाको एक परिवर्तित स्रोत हुनाले विश्वमा यसलाई मानव समुदायको परिवर्तनको संवाहकको रूपमा लिने गरिन्छ । यसले सधँै नै निष्पक्ष सत्यताको विशुद्ध मनोभावनाले मानव समाजलाई निरन्तर सफलता दिलाउँछ । मिडियाले हरेक पाइलामा खबरदारी गरिरहने र जनतालाई सचेत तथा सुसूचित गर्ने काम गर्छ । यसले गर्न सक्ने निगरानीको सकारात्मक भूमिकालाई मनन गरेर विद्वान्हरूले यसलाई समाजको पहरेदार र राज्यको चौथो अंग मानेका छन् ।

समाज र राष्ट्रका चरित्र र स्वरूप जस्तो छ त्यस्तै प्रतिरूप मिडियामा प्रतिविम्वित हुने भएकाले यो समाज र राष्ट्रको दर्पण हो । यसले समानता, सुशासन, न्याय र समाजलाई सकारात्मक मार्गतर्फ लैजान्छ र पथप्रदर्शकको रूपमा काम गर्छ । योबाहेक यसले सत्य, तथ्य र यथार्थताको प्रतिनिधित्व मात्र नगरेर विगतदेखि वर्तमानसम्मको समाजको यथार्थ वस्तुस्थितिको व्याख्या एवं विश्लेषण पनि गर्छ । साधारणतः मिडियाको प्रमुख काम भनेको समाजमा विद्यमान विभिन्न किसिमका घटनाहरू, समाजको प्रगति, विज्ञान र प्रविधिले ल्याएको विकास, प्राकृतिक प्रकोपले पारेको असर, धर्म, परम्परा, रीतिरिवाज, चालचलन, चोरी, डकैती, बलात्कार, अन्याय, अत्याचार, समसामयिक राजनीतिक विषयवस्तुहरू आदिको बारेमा सत्य, तथ्य र वस्तुनिष्ठ भएर तिनीहरूको खोज गर्दै समाचारको माध्यमबाट सूचना प्रवाह गर्नु हो ।

वस्तुतः मिडियाले प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले प्रस्तुत विषयको सन्दर्भमा आममानवको विचार निर्माण हुन्छ । जुन कहिले सकारात्मक हुन्छ भने कहिले नकारात्मक । यसले प्रवाह गरेको विषयवस्तुले आम मानव र सामाजिक जीवन वा चरित्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव परिरहेको हुन्छ । मिडियाले समाजलाई सही, तथ्य परक र विश्वसनीय सूचना प्रवाह गर्दै शिक्षा दिनु वा चेतनाको विकास गर्नुदेखि सधैँ राष्ट्र वा समाजको परिवारको रूपमा काम गर्छ । यसले राज्यको महत्वपूर्ण निकायहरूमध्ये न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई विनाबर्दीको सेना तथा प्रहरीको रूपमा शतर्क गराउँछ । मिडियाले समाजका समस्या उजागर गर्ने मात्र होइन, न्यायका लागि प्रशस्त मार्ग निर्माण गर्छ । मानव सामाजिक र चेतनशील प्राणी भएकाले सधैँ नयाँ कुरा जान्न र सुन्न उत्सुक हुन्छ । यही उत्सुकता र कुतूहलता मेटाउने काम मिडियाले गर्छ । यो बाहेक यसले आमजनमानसको सोचमा प्रभाव पार्ने, पारदर्शिता सिर्जना गर्ने, सचेतना बढाउने तथा सामाजिक कुरीतिसँग लड्न सक्ने क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउँछ ।

मिडिया समाजको पथप्रदर्शक हुनाले यसले वास्तविकताको प्रतिनिधित्व मात्र गर्दैन समाजको पुनःनिर्माण पनि गर्छ । यसले निरन्तर रूपमा प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले एकतिर आमनागरिकको विचार निर्माण भइरहेको हुन्छ भने अर्कोतर्फ कतिपय सन्दर्भमा उनीहरूको सोच तथाधारणको पुनर्निर्माण भइरहेको हुन्छ । कुनै पनि व्यक्ति धनवान् वा विद्वान् बन्न सूचना र ज्ञान चाहिन्छ जुन काम मिडियाले गर्छ । आज यो प्रमुख शक्तिको रूपमा विकसित हुँदै गएको छ । कुनै पनि व्यक्तिको विभिन्न अधिकार प्राप्तिका लागि पनि सूचना र सञ्चारको अधिकार अपरिहार्य छ । यस सन्दर्भमा विश्वसनीय सूचना तथा जानकारी दिने माध्यमको रूपमा रहेको मिडियाको ठूलो महत्व छ । तसर्थ, मिडियाको सबै किसिमका विकासमा महत्वपूर्ण भूमिका छ ।

नेपालका मिडियाको प्राथकिमकतामा प्रायः राजनीतिक घटनाक्रमहरूको बोलवाला रहेको पाइन्छ । हुन त, यसको इतिहासदेखि नै राजनीतिक घटनाक्रमको चर्चा गर्नु र राजनीतिज्ञहरूको वरिपरि केन्द्रित रहनु नियति नै बनेको छ । निरंकुश शासनकालमा स्वतन्त्र र व्यावसायिक पत्रकारिताको अभावमा एकथरीले सरकारको गुणगान गाउनु र अर्कोथरीले मिसन पत्रकारिताका नाममा राजनीतिक परिवर्तनको वकालत गर्नु पत्रकारिताको धर्म मानिँदै आयो । जसरी नेपालको लोकतान्त्रिक आन्दोलनको लामो कालखण्ड केबल राजनीतिक परिवर्तनमा सीमित भएको छ । हाम्रो पत्रकारिता पनि त्यसबाट उम्कन सकेको छैन । मुलुकको स्थायित्व, विकास र समृद्धिका लागि पत्रकारिताले आफ्नो पेसागत धर्मको ख्याल गर्नु पर्ने बेला आएको छ । त्यसैले हाम्रो मिडियाको नयाँ आयामको वकालत गर्नु आजको आवश्यकता भइसकेको छ ।

नेपाली समाज सायद विश्वमै सबैभन्दा लामो प्रजातान्त्रिक आन्दोलन लडेको समाज हो । एकपछि अर्को राजनीतिक परिवर्तन भएपनि जनताको वास्तविक समस्याको सम्बोधन आजसम्म पनि हुन सकेको छैन । जुन जोगी आए पनि कानै चिरेका भन्ने नेपाली उखानको चरितार्थ नेपाली राजनीति दल र तिनका सरकारहरूले गरेका छन् । हिजोको तीतो अनुभववाट खारिएका नेपाली नागरिकहरूको मनमा आज राजनीतिप्रति नै वितृष्णा पैदा भएको छ । यो नेपाली राजनीतिको निमित्त एउटा बिडम्बना हो । जतिसुकै राजनीतिक परिवर्तन भए पनि जनताको समस्या जहाँको तँही रहेबाट राजनीतिप्रतिको वितृष्णा बढेको बुझन गाह्रो छैन । आन्दोलनका सन्दर्भमा होस् वा चुनावका सन्दर्भमा उठाइएका राजनीतिक मुद्दा र जनताका दैनिक जनजीवनका सबालहरू सम्वोधन हुन सकेको पाइँदैन । पछिल्ला दिनमा मुलुक राजनीतिक गतिरोध र संवैधानिक संकटमा फसेको छ । प्रतिनिधिसभा विघटनले अन्योलता निम्त्याएको छ । यस्तो समयमा राजनीतिप्रतिको नागरिक दृष्टिकोण सकारात्मक नहुनु अस्वभाविक होइन । तर, हाम्रा मिडिया क्षेत्र पनि राजनीतिभन्दा टाढा जान नसक्नु विडम्वनापूर्ण हो ।

प्रतिक्रिया