ऐतिहासिक फैसला : दाहाल-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको बताउनुभएको छ । फैसलापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनीहरुले फैसला सकारात्मक आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

अध्यक्ष दाहालले सर्वोच्चले जनताको पक्षमा फैसला गरेको भन्दै यो जनताको जित भएको बताए । उनले भुलभुलैवामा लागेका पार्टीका नेता कार्यकर्तालाई फर्किन समेत आग्रह गरे । ‘ओलीसँग गएका सांसदलाई हाम्रो नेतृत्वको नेकपामा स्वागत गर्न म तयार छु’, उनले अगाडी भने, ‘अब सबै भ्रममुक्त हुनुस्, सबै काममा फर्किनुस् ।’
अध्यक्ष दाहालले अब हुने विरोध जुलुसलाई विजय जुलुसमा परिवर्तन गरेर मनाउन सबै नेता, कार्यकर्ता आग्रहसमेत गरे । अध्यक्ष नेपालले अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गर्ने फैसला गरेर आफ्नो गरिमालाई बढाएको प्रतिक्रिया दिए । ‘अदालतले प्रधानमन्त्रीको कदमलाई बदर गर्ने निर्णय गरेर अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला गरेको छ’, उनले भने ।

प्रधानन्यायाधीशलगायत सबै न्यायाधीशको पनि इज्जत र प्रतिष्ठा बढाएको बताउँदै नेता नेपालले आम नेपाली जनताको चाहनाबमोजिम संविधानको प्रावधान, मूल्य र मान्यता, त्यसको व्याख्यालाई न्यायाधीशहरुले सही ढंगले अगाडि सार्ने काम गरेकोे बताए । ‘यो अत्यन्तै प्रशंसनीय काम भएको छ । सम्पूर्ण नेपाली जनता, राजनीतिक दलहरु जो आन्दोलनमा उत्रिनुभएको थियो, नागरिक समाज, मिडिया, समाजका सबै वर्ग तहका जनतालाई धन्यवाद दिन चाहन्छु’, उनले पत्रकारहरुसँग भने । अध्यक्ष नेपालले अब प्रधानमन्त्री ओलीको विरोधमा रहेका दलहरुको संयुक्त सरकार बनाएर अगाडि बढ्ने बताए । यसैबीच अध्यक्षद्वयले एकार्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका थिए । फैसलापछि जिल्लाका विभिन्न ठाउँमा दीप प्रज्ज्वलन गरिएको छ ।

प्रतिक्रिया