सिटिजन्स बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागि सम्झौता भएको छ । यस प्रणाली अन्तगर्त बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नु हुनेछ । बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस तथा आइपीएसमा भुक्तानी कारोबारहरु गर्न सक्ने बैंकले जानकारी दिएको छ । कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र साधारण आवेदनको स्विकृती लगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ ।

यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकमा बैंकमा उपस्थित नभई नै गर्न सक्दछन्, भने सो सीमा भन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँच पश्चात प्रक्रिया अगाडी बढाउने व्यवस्था रहेको छ ।

यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेसनकोे सुरक्षित व्यवस्था गरिएको छ भने, कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।

यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पूँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया