राजस्व नै थाहा नभएका माझीहरूलाई करोडौँ रुपैयाँ राजस्व छली मुद्दा !

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका–१ भिरकोट माझी गाउँका आधा दर्जन माझीका परिवारमा त्रास बढेको छ । माछा मारेर जीवनयापन चलाउँदै आएका माझी परिवारलाई न निन्द्रा नै छ न भोक नै । ०७२ सालमा गएको विकासकारी भूकम्पपछि पीडितहरूका लागि खाद्यान्न, लत्ताकपडा, जस्तापाता सहितका राहत लिएर विभिन्न व्यक्ति तथा संघसंस्थाहरू गाउँगाउँमा आउँथे । स्थानीयहरू पनि खेतीपाती नै छाडेर राहत लिन लागे । भूकम्प गएको एक वर्षपछि गाउँमा कपडा बेच्न हिँड्ने मधेसी समुदायका एक जनाले आफूलाई ‘तपाईंको घर ढलेछ, राहत दिने मान्छे भेटाइदिन्छु, काठमाडौं आउनुस्’ भनेको पीडित लछुमन माझी बताउँछन् । उनैको भनाइबाट काठमाडौंमा एक जना मधेसीलाई भेट भयो । उनले तीनपटकसम्म काठमाडौं बोलाए, राहत भन्दै पटकपटक ३६ हजार ५ सय पनि दिए । त्यही बेला पहिलोपटक नागरिकताको फोटोकपी लिए । फोटो खिचेर, फोटो पनि लिए ।

दोस्रो र तेस्रोपटक विभिन्न कागज बनाएर ल्याएछन्, सबैमा सही गर्न लगाएको माझी सम्झन्छन् । सही मात्र गर्न जान्ने तर राम्रो लेखपढ गर्न नसक्ने माझीले उनले भने अनुसार सही गरे । उनले नै विभिन्न ठाउँमा लगेर सही गराए तर पैसा सडकमै ल्याएर दिएको सम्झन्छन् । राहत पाएकाले उनलाई राहत दिनेको नाम, ठेगाना केही जानकारी छैन तर देखे अनुहारसम्म चिन्न सक्ने बताउँछन् । केही दिनअघि तामेली बुझेका लछुमन अदालतमा कसरी जाने भन्नेमा अन्योलग्रस्त छन् । अदालतका तामेली बुझेपछि माझी मात्र होइन, उनको परिवारसमेत राम्रोसँग निदाउन सकेका छैनन् । राजस्व अनुसन्धान आयोगले राजस्व छलीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले गत मंसिर १६ गतेको फैसलाअनुसार प्रतिवादी लछुमनलाई आफ्नो प्रमाणसहित हाजिरीका लागि आह्वान गरेको छ ।

लछुमनको नाममा दर्ता भएको पान नं. बाट ५ करोड २० लाख राजस्व छली भएकोले राजस्व अनुसन्धान विभागले अभियोग पत्र दर्ता गरेको थियो । परिवारको नाममा दुई रोपनीसमेत जग्गा नभएका माझीको परिवार तामाकोसीमा माछा मारेर दैनिकी चलाउँछन् । यस्ता व्यक्तिका नाममा एक्कासि अदालतबाट हाजिर हुन पत्र आएपछि स्थानीय जनप्रतिनिधिसमेत चकित भएका छन् । कम्पनीको बारेमा जानकारी नै नभएका र कम्पनी रजिस्टारको कार्यालयसमेत नटेकेका माझीको नाममा राजस्व छली गरेको अभियोग छ ।

गाउँका अरू पनि लछुमनकै लाइनमा छन । राहतका नाममा लछुमन मात्र होइन । माझीगाउँका अधिकांश गाउँले यसरी नै नागरिकता र फोटो बुझाएर कागजमा सही गर्नेहरू छन् । सोही ठाउँका दिनेश माझी, देवेन्द्र माझी, नारायण माझी, शरण माझीलगायत एउटै व्यक्तिलाई नागरिकता दिएर राहत लिनेमा पर्छन् । गरिबी निवारणका लागि राहत ल्याउनका लागि नागरिकता दिन भन्दै मागेको र सर्लाहीको मलंगवा बोलाएर होटलमा तीन दिनसम्म राखेर फर्कने बेला ११ हजारका दरले दुई जनालाई खर्च दिएको अर्का पीडित वीरबहादुर माझी बताउँछन् । माछा मारेर दैनिक चलाइरहेका माझी परिवार यतिबेला आपूmलाइ राहातको आश्वासन दिएर ठगी गर्ने ब्यक्तिहरूको खोजीमा छन् ।

प्रतिक्रिया