सौर्य ऊर्जाको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २ सय ५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभी बीच समझदारीपत्र हस्ताक्षर भएको छ ।

समझदारी पत्रको अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले २ सय ५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ । उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्ड कार्यालयमा सम्पन्न सम्झौतामा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ क्विङले हस्ताक्षर गरेका हुन ।

समझदारी अनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र डिएफएसआर तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ । लगानी बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई डिएफएसआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।

प्रतिक्रिया