कोरोना : संक्रमणदर घटेपनि मृतक बढ्दै

काठमाडौं । नेपालमा कोरोना संक्रमितको दर दैनिक रुपमा घट्दै गएपनि मृतकको संख्यामा उल्लेखनिय कमि आउन सकेको छैन । सोमबार मात्रै १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चार दिनमा मात्रै ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सोमबार १०, आइतबार ७, शनिवार ८ र शुक्रबार ७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा २ हजार ११ जनाको मृत्यु भएको छ । मृतकको संख्या उल्लेखिय रुपमा नघटेपनि विगतमा भन्दा केही कमि भने देखिएको छ ।

नेपालमा हाल १.२० प्रतिशत संक्रिय संक्रमित रहेका छन् । सोमबार गरिएका ४ हजार ८५८ पिसिआर परीक्षणमध्ये ३३९ जनामा संक्रमण भेटिएको छ । यो भनेको कुल संख्याको ६.९७ प्रतिशत हो । निको हुने दर भने ९८.१ प्रतिशत पुगेको छ भने कुल संक्रमित मध्ये ०.७५ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसैबीच, सरकारले बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरसविरूद्धको खोप लगाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गरेपछि सातै प्रदेशमा खोप लगाउन सुरू गरिने छ । स्वास्थ्य मन्त्रालयले सुरूमा ६२ वटा अस्पतालबाट खोप लगाउने भनेको छ । अस्पतालको संख्या बढ्न सक्ने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जनाकारी दिए । उनका अनुसार सबै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र बनाइने छ ।

काठमाडौं उपत्यकाका हकमा भने महाशाखाले खोप लगाउनलाई १७ वटा अस्पताल तोकेको छ । जसमा काठमाडौंका गंगालाल अस्पताल, नेपाल मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, टिचिङ अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर, वीर अस्पताल, प्रसुति गृह, टेकु अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेज छन् ।

यसैगरी ललिपुरमा पाटन अस्पताल, किस्ट मेडिकल कलेज र आनन्द वन अस्पताल तोकिएको छ । भक्तपुरका कोरियन अस्पताल र भक्तपुर अस्पतालबाट पनि खोप लगाइने छ । उपत्यकाबाहेक चितवन, कास्की, रुपन्देही र मोरङजस्ता धेरै अस्पतालको संख्या भएका जिल्लामा पनि एकभन्दा बढी अस्पतालबाट खोप लगाइनेछ । बाँकी जिल्लाका हकमा भने जिल्ला अस्पतालबाटै खोप लगाइने उनले बताए ।

प्रतिक्रिया