मंगलबारदेखी एकद्वार प्रणाली

काठमाडौं । भन्सार विभागले आगामी मंगलबार देखि एकद्वार प्रणाली लागू गर्ने भएको छ । विभागले भन्सार दिवसको अवसर पारेर सो प्रणाली लागू गर्न लागेको हो । ७ देखि १३ माघसम्म विभागले भन्सार सम्बन्धि विभिन्न कार्यक्रम तथा गतिविधि गरेर भन्सार सप्ताह मनाइरहेको छ ।

सो अवसरमा आइतबार कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको तीन वटा विभागसँग एकद्वार प्रणाली लागू गर्ने सम्बन्धमा सम्झौता गर्न लगेको विभागका महानिर्देशक सुमन दाहालले बताएका छन । आइतबार कृषि विभाग, पशुसेवा विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग सम्झौता हुने पनि उनले बताए । एकद्वारा प्रणाली कार्यान्वयनको लागि प्रक्रिया अघि बढाइएको र भन्सार सप्ताहकै बीच अर्थ, कृषि र उद्योगमन्त्रीलाई राखेर यस सम्बन्धमा कार्यपत्र समेत प्रस्तुत गरिसकेको दाहालको भनाई छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रको सेवा एकै प्रणालीमार्फत प्रदान गरिने प्रणाली कार्यान्वयनबारे विभागले अर्थ, उद्योग र कृषि मन्त्रीलाई जानकारी गराइसकेको पनि विभागले जनाएको छ ।

आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्न लागिएको हो । एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयमा डिजिटल प्रणालीको सुरुवात हुने विश्वास भन्सारले गरेको छ । व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गर्न लागिएको हो ।

नेपालमा आयात हुने तर मानव जीवनमा प्रतिकूल असर पार्ने खाद्यान्न तथा औषधि, अरु उपकारण लगायतका मालवस्तुको मापन गर्नुपर्ने पनि बिभागले जनाएको छ । आयात हुने त्यस्ता मालवस्तुको करिब ९० प्रतिशत कृषि, पशुसेवा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हिस्सा रहन्छ ।

प्रतिक्रिया