नेपाली कृषिवस्तुको मूल्य भारतीयको हातमा

इलाम । केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) रु एक लाख नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर कतिले राम्रै प्रगति गरे तर स्थिति त्यही रहेन । समायान्तरमा अलैँचीको मूल्य घट्दै गयो ।

लाखबाट घटेर रु ७५ हजार, रु ५० हजार हुँदै अहिले करिब रु २५ हजारको सेरोफेरोमा मूल्य छ । अलैँचीको मूल्य अझै घट्दो क्रममा छ । कुन बेला मूल्य घट्छ वा बढ्छ भन्न सक्ने अवस्था पनि छैन । यसरी अलैँचीको मूल्य अस्थिर हुँदा अलैँची बिक्री गर्ने किसान अलमलमा परेका छन् । यसको प्रत्यक्ष मारमा किसान परेका छन् । कुनै वर्ष फसल बढेको बेला भाउ घट्ने र फसल बढेको बेला भाउ घट्ने अनभिज्ञ छन् ।

सैद्धान्तिक हिसाबले हेर्ने हो भने किसानकै हातमा अलैँचीको भाउ निर्धारण गर्ने अधिकार हुनुपर्ने हो । वस्तुका मालिक किसान भएकाले वेच्ने मूल्य किसानकै हातमा हुनुपर्ने हो तर यसको ठ्याक्कै उल्टो अरूले निर्धारण गरेको मूल्यमै आफ्नो परिश्रम बेच्नुपर्ने बाध्यतामा किसान छन् । कृषिजन्य वस्तुको बजारलाई हेर्ने हो भने अलैँची मात्र होइन अम्लिसो (कुचो), अदुवा, चिया सबैको स्थिति एउटै छ ।

बजारमा कसैले चलाएको मूल्यकै आधारमा किसान उत्पादन बेच्नुपर्ने बाध्यतामा छन् । समग्रमा अझैपनि किसान वस्तु उत्पादन गर्ने ठाउँमा छन् तर मूल्य निर्धारण गर्ने ठाउँमा छैनन् । अर्थशास्त्रको मूल्य सिद्धान्तलाई हेर्ने हो भने वस्तुको मूल्य माग र आपूर्तिलाई हेरेर निर्धारण गरिन्छ । उत्पादकले उत्पादन लागतभन्दा माथि बजारको माग र आपूर्तिलाई आधार बनाएर वस्तुको मूल्य निर्धारण हुन्छ तर हाम्रा वस्तुको मूल्य निर्धारण भने यसको विपरीत भइरहेको छ । उत्पादन लागतलाई समेत ध्यान नदिइ बजार मूल्य निर्धारण हुने गरेको देखिन्छ । वस्तुको लागत नै निर्धारण नगरिने भएकाले वस्तुमा लागेको परिश्रम, तयारी खर्च वा अन्य मूल्य नजोडिने समस्या छन् ।

यसैले कुनै दिन उत्पादित वस्तुको लागत मूल्यभन्दा कममा वस्तु बेच्नुपर्ने बाध्यता आउन सक्ने अनुमान चिया व्यवसायी कमल मैनालीको छ । चियाको मुख्य बजार भारत हो । भारतले राखिदिएका मूल्यमै नेपाली किसानले चिया बेच्न बाध्य छन् । चियाको बजार मूल्य निर्धारणमा किसान होइन, नेपाली व्यवसायीको समेत संलग्नता रहदैन । मैनालीका अनुसार हामीले उत्पादन गरेको चियाको लागत मूल्य निर्धारण नभएकाले पनि जतिसुकै मूल्यमा बेच्नु पर्ने बाध्यता छ । उनका अनुसार लागत मूल्य नै निर्धारण नहुनाले किसानले सीमित(तोकिएको) बजारमा चलेकै बजारमा चिया बेच्नुपर्ने बाध्यता छ ।

‘हामी यथास्थिति धरातलमा छौ । हामीले चिया बेच्नुपर्ने पनि छ तर कम मूल्य छ’, मैनालीले भने, ‘यसलाई चिर्नका लागि हामीले उत्पादनको लागत मूल्य निर्धारण गरेर बजार भाउ तोक्नुपर्छ । अनि बजारमा वस्तु पु¥याउनु पर्छ ।’ चियाकै जस्तो समस्या अन्य कृषिजन्य वस्तुको बजारमा पनि छ । बजारकै अभावका कारण कम मूल्यमा अलैँची बेच्नु परेको अलैँची व्यवसायी निर्मल भट्टराईको तर्क छ । भारत नै अलैँचीको मुख्य बजार भएकाले उसैले राखेको मूल्यमा किसान र स्वदेशी व्यवसायीले अलैँची बेच्नु पर्नेछ ।

भट्टराईका अनुसार अलैँचीको मूल्य वार्षिक वा मासिक रूपमा घटबढ हुने मात्र होइन दिनमै पनि फरक फरक हुनसक्छ । एकदमै अस्थिर बजारमा नेपाली किसानले अलैँची बेच्नुपर्ने बाध्यता छ । भट्टराईका अनुसार नेपाल सरकारले वस्तुको उत्पादनको प्रवद्र्धन गर्न नसक्दा यो समस्या आएको हो । नेपाली व्यवसायीको जोडबलले ट्रक नाका कटाउनु पर्ने अवस्था रहेको छ । भारतले नेपाली सामग्री किन्न नचाहदा पनि किनिदिनु पर्ने बाध्यता रहेकाले मूल्य निर्धारण समेत भारतले नै गर्ने गरेको अदुवा तथा अलैँची व्यवसायी मात्रिका घिमिरेको भनाई छ ।

यसको प्रत्यक्ष मारमा किसान परिरहेका छन् । यता लागत मूल्य बढ्ने तर बजार मूल्य घट्दै जाने गरेकाले कृषि व्यवसाय ठूलो मारमा परेको छ । वस्तुको मूल्य निर्धारणका लागि सरकारले चाँडो काम शुरु गर्नुपर्ने कृषिविज्ञ डा. योगेन्द्रमान श्रेष्ठको भनाइ छ । – रासस

प्रतिक्रिया