रोनाल्डोको दुर्लभ कीर्तिमान

लण्डन । क्रिस्टियानो रोनाल्डो बुधबारको गोलसँगै फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । नेपोलीलाई २–० ले हराउँदै युभेन्ट्सले सुपर कप जित्दा रोनाल्डोले पहिलो गोल गरेका थिए । विभिन्न क्लब र पोर्चुगलका लागि गर्दै उनको गोल संख्या ७ सय ६० पुगेको छ । ३५ वर्षे फरवार्ड इन्टरविरुद्ध शनिबारकै खेलमा कीर्तिमानी गोलमा पुग्ने अपेक्षा गरिएको थियो । तर युभेन्ट्स सिरि एको त्यो खेलमा २–० ले पराजित भएको थियो । जसका कारण उनले इटालिन सुपर कप सम्म कुर्नुपरेको थियो । उनले ६४ औं मिनेटमा गोल गर्दै कीर्तिमानी बनाएका थिए ।

रोनाल्डोले जोसेफ विकानको ७ सय ५९ को कीर्तिमानलाई तोडेका हुन् । विकानले सन् १९३१ देखि १९५५ को बीचमा त्यो गोल गरेका थिए । अझै केहि वर्ष राष्ट्रिय टोली र क्लबबाट खेल्ने भएकोले रोनाल्डोले फुटबलबाट सन्यास लिदा उनीको गोलसंख्या अझै बढ्नेछ । रोनाल्डोको कीर्तिमानलाई समकालिन खेलाडी मध्ये लिओनल मेस्सीले भेट्ने सम्भावना छ । बार्सिलोना तथा अर्जेन्टिनाका सुपर स्टारले खेल जीवनमा ७ सय १५ गोल गरेका छन् । रोनाल्डो भन्दा १ सय ५० खेल कम खेलेका मेस्सी उनीभन्दा २ वर्षले कान्छा छन् ।

रोनाल्डो फेब्रुअरी ५ मा ३६ औं वर्षमा प्रवेश गर्नेछन् । झन्डै २ दशक लामो आफ्नो खेल जीवनमा स्पोर्टिङ लिस्बन, म्यानचेष्टर युनाइटेड, रियल म्याड्रिडको जर्सी पहिरिएका रोनाल्डोले अहिले युभेन्ट्सबाट व्यसायिक फुटबल खेलिरहेका छन् । जनवरी ३ मा युडिनेसीविरुद्ध ४–१ को जितमा गोल गर्दै उनले ब्राजिलियन विश्व कप विजेता पेले (७ सय ५७) को कीर्तिमानसँग बराबरी गरेका थिए । जनवरी १० मा सासोउलोविरुद्ध ३–१ को जित हासिल गर्दै रोनाल्डोले सर्वाधिक गोलकर्तामा आफूलाई दोस्रो स्थानमा उभ्याएका थिए ।

प्रतिक्रिया