मत-विमत

कम्युनिस्टका नाममा भयंकर बेइमानी

मिलन आफन्त २०७७ माघ ७ गते ७:३८ मा प्रकाशित

मिलन आफन्त

बेइमानीको यहाँभन्दा ठूलो पराकाष्ठा अरू केही हुन सक्छ ? पाँच वर्ष स्थिर सरकार दिन्छाैं भनेर जनतासँग मत माग्ने, तर तीन वर्ष बित्दानबित्दै आफैं विभाजित हुने अनि जनमत गुमाएर थान्को लागेको कांग्रेसलाई सत्ता बुझाउन बुढानीलकण्ठ को पहिले पुग्ने भन्दै लिगलिगे दौड गर्ने ? देश र जनतामाथि कम्युनिस्टका नाममा भएको बेइमानीको यो पराकाष्ठा विश्व इतिहासमा ठूलो कलंकित घटनाका रूपमा रहनेछ ।

कम्युनिस्ट नैतिकता नै विश्व समाजको सबैभन्दा उत्कृष्ट नैतिक आचरण हो । कम्युनिस्ट नैतिकताले नै समाजलाई उन्नत अनुशासन दिशातिर लानेछ । कम्युनिस्ट नैतिकतालाई पालना गरेर विश्व समाजलाई नैतिकवान बनाउनु हामी सबै विश्ववासीहरूको दायित्व हो । तर, नेपालका कम्युनिस्ट पार्टीहरू कतातिर गइरहेका छन् ? भन्ने प्रश्न ज्यादै पेचिलो छ । जस्तोसुकै विधि प्रयोग गरेर पनि सत्तामा पुग्ने र सत्तामा पुगेपछि भ्रष्टाचार गर्ने, मोजमस्तीमा रमाउने, गरिब वर्ग माथि थप शोषण गर्ने, राज्यको ढुकुटी धनी तथा दलाल पुँजीपतिहरूलाई पोस्ने प्रवृत्ति नेपालका कम्युनिस्ट नेताहरूमा बढेर गएको छ । कम्युनिस्ट पार्टीहरू नाम मात्रैका छन् । सम्पत्ति आर्जन गर्नका लागि अपराधीहरूले संगठन निर्माण गर्ने र त्यस्तो संगठनलाई कम्युनिस्ट नाम दिने सिलसिला त मुलुकमा सुरु भएको होइन ? भन्ने प्रश्न सर्वसाधारणले उठाउन थालेका छन् । माक्र्सले परिकल्पना गरेको कम्युनिस्ट सिद्धान्त र आचार संहिता, लेनिन र माओले निर्माण गरेको कम्युनिस्ट पार्टीको स्प्रिट र हाम्रा मुलुकका कम्युनिस्ट पार्टी तथा कम्युनिस्ट नेताहरूले प्रदर्शन गरेको चरित्रमा आनकोतान फरक देखिएको छ ।

सबैलाई एउटै टोकरीमा राखेर मूल्यांकन गर्न त नमिल्ला बास्तविक कम्युनिस्टहरूको संख्या पनि नेपालमा कम छैन, तर खोटो मुद्राले सक्कली मुद्रालाई विस्थापन गरेजस्तै नक्कली कम्युनिस्टहरूले सक्कली कम्युनिस्टहरूलाई पार्टी संगठनबाट विस्थापित गरिसकेका छन् । यदि, विस्थापित नगरेका हुन्थे भने मुलुकमा जनताले करिब दुईतिहाइ बहुमतका साथ सरकारमा पु¥याएको कम्युनिस्ट पार्टी तीन वर्ष बित्दानबित्दै धरासायी भएर कांग्रेसलाई सत्ता बुझाउन बुढानीलकण्ठ धाउने थिएनन् । के गत आमनिर्वाचनमा जनताले नेकपालाई दिएको म्यान्डेड सत्ता बुझाउन बुढानीलकण्ठ धाउनका लागि हो । बेइमानीको यहाँ भन्दा ठूलो पराकाष्ठा अरू केही हुन सक्छ ? पाँच वर्ष स्थिर सरकार दिन्छौँ भनेर जनतासँग मत माग्ने, तर तीन वर्ष बित्दानबित्दै आफैं विभाजित हुने अनि जनमत गुमाएर थान्को लागेको कांग्रेसलाई सत्ता बुझाउन बुढानीलकण्ठ को पहिले पुग्ने भन्दै लिगलिगे दौड गर्ने ? देश र जनतामाथि कम्युनिस्टका नाममा भएको बेइमानीको पराकाष्ठा विश्व इतिहासमा ठूलो कलंकित घटनाका रूपमा रहनेछ ।

कम्युनिस्ट आन्दोलनमा लागेका पारखीहरूले अपनाउनुपर्ने नैतिक आचार संहितालाई कम्युनिस्ट नैतिकता भनेर बुझ्नुपर्दछ । हामी कम्युनिसटहरूले थाहा पाउनुपर्ने कुरा यो छ कि कम्युनिज्मतर्फ संक्रमणकालमा समाजको नैतिक सिद्धान्त आधिकारक महत्वपूर्ण हुँदै जान्छ, नैतिक साधनहरूको कार्यक्षेत्र विस्तृत हुँदै जान्छ । हामी कम्युनिस्टहरूको गौरवशाली कम्युनिस्ट पार्टीले पनि कम्युनिस्ट जीवन प्रणालीअनुसार महत्वपूर्ण नियमहरूलाई पुष्टि गर्ने तथा अगाडि बढ्न सहायक हुने नागरिकतासम्बन्धि आत्मानुशासनका सबै सचेत पुरुषहरूलाई प्रोत्साहित गर्दै लानेछ ।

शोषकहरूको वर्ग नैतिकता हामी कम्यनिस्टहरूलाई स्वीकार्य छैन । पुरानो समाजको विकृत, स्वार्थपूर्ण विचारहरू तथा आचरणहरूको विरुद्ध कम्युनिस्टहरू कम्युनिस्ट नैतिकतालाई उन्नत बनाउँछन् । कम्युुनिस्ट नैतिकता जुन सबैभन्दा उदात्त तथा सबैभन्दा न्यायसंगत नैतिकता हो, जसले समस्त श्रमिक मानवताको हितहरू तथा आदर्शहरूको प्रतिनिधित्व गर्दछ । नैतिकता र न्यायको मूलभूत मान्यताहरूलाई शोषकहरूको शासन कालमा निर्लज्जतापूर्वक विकृत पारिएको थियो । तर, नैतिकता र न्यायको मूलभूत मान्यताहरूलाई कम्युनिस्टले देश र जनताहरूको लागि अकाट्य मान्यताको रूपमा स्थापना गरिदिन्छ । विश्व समाजका नैतिक उन्नतिका लागि मजदुर वर्गको क्रान्तिकारी नैतिकताले विशेष महत्व राख्दछ । कम्युनिस्ट नैतिकताको प्रयोगले समाज उन्नतिशील बन्नेमा कुनै शंका छैन ।

समाजवाद, साम्यवाद र कम्युनिज्मको निर्माण कार्य जति–जति अघि बढ्दै जान्छ, त्यतित्यति कम्युनिष्ट नैतिकता पनि नयाँ–नयाँ सिद्धान्तहरूले समृद्धि हुँदै जान्छ । कम्युनिज्मका पारखीहरूले कम्युनिस्ट नैतिकताको निम्ति अपनाउनुपर्ने मूलभूत सिद्धान्तहरू यसप्रकार छ । कम्युनिस्ट ध्येयप्रति उनीहरू निष्ठावान हुनुपर्ने तथा आफ्नो समाजवादी मातृभूमि र अन्य समाजवादी देशहरूप्रति उनीहरूमा उत्कृष्ट प्रेम हुनुपर्नेछ । समाजको भलाइका निम्ति उनीहरूले कर्तव्यनिष्ठ श्रम गर्नुपर्नेछ, जसले काम गर्दैन, उसलाई खाना पनि मिल्ने छैन । सामाजिक सम्पतिको रक्षा र वृद्धिलाई प्रत्येक व्यक्तिले पूरा ख्याल राख्नुपर्नेछ, सार्वजनिक कर्तव्यको सम्बन्धमा उनीहरूभित्र उच्च भावना हुनुपर्नेछ तथा सार्वजनिक हितहरूलाई नोक्सान पु¥याउने कार्यहरूप्रति उनीहरूले तीव्र असहिष्णुता प्रदर्शित गर्नुपर्नेछ । उनीहरूभित्र सामूहिकता र भातृत्वपूर्ण भावले एकअर्काको सहायता गर्ने भावना हुनुपर्नेछ, हरेकले सबैको लागि र सबैले हरेकका लागि काम गर्नुपर्नेछ ।

व्यक्तिहरूको बीचमा मानवीय सम्बन्ध हुनुपर्नेछ तथा एकअर्काप्रति उनीहरूले आदर भाव राख्नुपर्नेछ । मानिसले मानिसलाई साथी, मित्र तथा दाइ, भाइ मान्नुपर्नेछ । उनीहरूको सार्वजनिक तथा वैयक्तिक जीवनमा इमानदारी र सच्चाई, नैतिक शुद्धता, विनम्रता र आडम्बरहीनता हुनुपर्नेछ । अन्याय, परनिर्भरता, बेइमानी, कुर्चिमोह तथा धन लोलुपतालाई कत्ति पनि आश्रय दिनुहुने छैन । विश्व समाजको सबै जनजातिहरूबीच मित्रता र भाइचारा सम्बन्ध हुनेछ, जातीय तथा वर्ण विभेदलाई सहिने छैन । कम्युनिज्म, शान्ति तथा देशहरूको स्वतन्त्रताको शत्रुहरूप्रति अटल विरोधको तरिका अपनाउनु पर्नेछ । सबै देशहरूका श्रमिकहरू तथा सबै देशका जनताहरूसँग भातृत्वपूर्ण एकता राख्नुपर्नेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय