खोप दिने भारतको आश्वासन

काठमाडौं । भारतले कोरोनाविरुद्धको खोप नेपाललाई पनि उपलब्ध गराउने आश्वासन दिएको छ । कोरोनाविरुद्धको खोपसहयोग गर्ने राष्ट्रमा नेपाल पहिलो प्राथमिकतामा रहेको भारतले प्रतिबद्धता जनाएको हो ।  नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा भारतले कोरोना विरुद्धको खोप सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आयोगको बैठकसहित भारतमा केही उच्चस्तरको भेटवार्ता गरी शनिवार स्वदेश फर्किएका मन्त्री ज्ञवालीले पत्रकार सम्मेलन गरी खोप उपलब्ध गराउने निर्णय भएको बताए । भारतका विदेशमन्त्री एस जयशंकरसँग भएको वार्ताका क्रममा नेपालमा कोभिड भ्याक्सिनको तत्कालको आवश्यकता भारतले पूर्ति गरिदिने सहमति भएको जानकारी गराएका छन् ।

मन्त्री ज्ञवालीले अब सीमा समस्यालाई छिटो समाधान गर्न दुवै मुलुक प्रतिबद्ध भएको बताएका हुन् । ‘सबैभन्दा ठूलो कुरा के हो भने यो छलफल (आयोग र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगको भेट) पछि अब हामी सीमा समस्यालाई छिटो समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छौं । जहाँ–जहाँ सिमांकन गर्न बाँकी छ । जहाँचाहि नापी गर्न बाँकी छ । जुन भागमा सीमा सम्बन्धी विवादहरु छन्, तिनीहरुलाई छिटो टुंग्याउनको लागि दुवै पक्ष सहमत भएका छन्,’ मन्त्री ज्ञवालीले भने । उनले शनिवार नेपाल फर्कनु अघि रक्षामन्त्री सिंहसँग उनै निवासमा भेटवार्ता गरेका थिए ।

आयोगको बैठकले कोरोनाका कारण बन्द रहेको हवाई तथा स्थल मार्गहरु अनूकुलता हेरी खुला गर्ने, हुलाकी सडक अन्र्तगतका सम्पन्न ११ वटा खण्ड हस्तान्तरण गर्ने, रक्सौल–काठमाडौं रेल निर्माणका लागि भइरहेको फिल्ड लोकेशन सर्भे तत्काल सुरु गर्ने, जयनगर– कुर्थासम्मको रेल लाइन वर्दिबाससम्म निर्माण गर्नेलगायत निर्णय भएको पराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

उनले भारत भ्रमणले दुई देशको सम्बन्ध मजबुत बनाउन योगदान पुगेका बताएका छन् । भारत भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘भारत भ्रमणले घनिष्ठ, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने दिशामा योगदान पुगेको विश्वास छ’, उनले भने, ‘थप द्विपक्षीय भ्रमण हुने र सम्बन्ध मजबुत हुने विश्वास छ ।’ भारतीय भूमिमा निर्मित सडकबाट नेपालको सीमा क्षेत्रमा हुने गाउँ तथा सहर डुबानको समस्या समाधानको लागि विगतमा सम्झौता कार्यान्वयन गर्ने बारे पनि छलफल भएको छ । कृषि क्षेत्रमा थप सहकार्य गर्ने र सरकारले सरकारसँग (जीटुजी) आधारमा मल खरिद गर्ने सम्झौता पनि भएको छ ।

मन्त्री ज्ञवालीले द्धिपक्षीय सम्बन्ध सुद्धढ गर्नको लागि भ्रमण फलदायी भएको बताउँदै नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक दुबै पक्षलाई अनुकूल हुने समयमा नेपालमा बस्ने सहमति समेत भएको बताए । साथै, शनिबार विहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगको भेटमा दुई देशबीचको समसामयिक विषयमा छलफल भएको समेत मन्त्री ज्ञवालीले बताए । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठक शुक्रबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको थियो । बैठकको सह–अध्यक्षता नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट विदेश मन्त्री एस. जयशंकरले गरेका थिए ।

प्रतिक्रिया