आर्थिक अभावले तीन वर्षदेखि ओछ्यानमै 

हुम्ला । तीन वर्ष अगाडि लडेर टाउकोको नशा च्यापिएर बिरामी भएका एक युवकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । स्थानीय र जिल्लामा उपचार गर्दा निको नभएपछि आर्थिक अभावले जिल्ला बाहिर लगिए पनि उपचार गर्न समस्या भएको हो ।

घरको आर्थिक अवस्था कमजोर भएपछि जिल्लाको दक्षिण क्षेत्रको चङ्खेली गाउँपालिका–२ का नगेन्द्र सुनारको उपचार गर्न समस्या भएको उनका बुवा पौमल सुनारले जानकारी दिए ।

तीन वर्ष अगाडि लडेर बिरामी भएका सुनारलाई सुरुमा घरेलु उपचार गरिएको र सञ्चो नभएपछि जिल्ला अस्पतालमा भर्ना गरी उपचार गर्दा पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौं लगिए पनि आर्थिक भावकै कारण समस्या भएको जनाइएको छ ।

चिकित्सकको सुझावअनुसार आफूसँग भएको जग्गा बिक्री गरेर जिल्ला बाहिर लगे पनि उक्त रकम सकिएपछि उपचारमा समस्या भएको हो । तीन महिना अगाडि बिरामीलाई काठमाडौं लगे पनि सञ्चो नभएको बताइएको छ । आर्थिक अभावकै कारण बिरामी छोरालाई अस्पतालमा भर्ना नगरेर एउटा कोठामा राखिएको पौमलले बताए ।

आर्थिक सहयोग प्राप्त भए छोरोलाई बचाउने चाहना रहेको उनले सुनाए । उनले आफूलाई आर्थिक सहयोग गरेर उपचारबाट बचाइदिन आग्रह गरेका छन् । बिरामी सुनारलाई सहयोग गर्न चाहने व्यक्तिले मोबाइल नं ९८४५४४२९३३ मा सम्पर्क गर्न सक्ने परिवारले जनाएका छन् ।

प्रतिक्रिया