विद्यालय खुलेसँगै विद्यार्थीको उत्साहजनक सहभागिता

वीरगञ्ज । लक डाउनपछि सञ्चालनमा आएका जीराभवानी, पटेर्वासुगौली र जगरनाथपुर गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको उपस्थिति करिब शतप्रतिशत पुगेको छ । यो सत्रको आठ महिनापछि सञ्चालनमा आएका सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरू समयभन्दा पहिले विद्यालय आउने क्रम पनि बढेको छ ।

जीराभवानी गापा–२ नेरामावि सेढवा बिर्ताका प्रधानाध्यापक जीतेन्द्रप्रसाद गौरोले लक डाउनपछि खुलेका विद्यालयमा विद्यार्थीहरू १० नबज्दै आउने गरेको बताए । उनले अधिकांश विद्यार्थी समयअगावै आउने गरेको र पठनपाठनमा पनि रुचि देखाउने गरेको बताए । ठूलो कक्षाका मात्र होइन, सानो कक्षाका विद्यार्थीहरू पनि समयमै आउने गरेका छन् । प्रअ गौरोले ८५ प्रतिशत विद्यार्थी विद्यालय आइरहेको बताए । विद्यार्थीको चाप बढेसँगै स्वास्थ्य सुरक्षामा तोकिएका अन्य मापदण्ड पूरा नगरिए पनि विद्यार्थीहरूलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।

यता, विद्यार्थीहरूको संख्या बढे पनि उनीहरूको सिकाइमा भने भिन्नता आएको जगरनाथपुर गापा–३ बाबा वैद्यनाथ प्रावि गढैयाका शिक्षक मोहनलाल दासले बताए । उनले विद्यार्थीहरूले विद्यालय बन्द रहेको आठ महिनामा यसअघि सिकेका कुराहरू बिर्सेको बताए । यसैगरी, यो शैक्षिक सत्रमा कम समय भएकोले पाठ्यक्रम कसरी पूरा गर्ने भन्ने शिक्षकहरूमा तनाव रहेको साहले बताए । सामुदायिक विद्यालयको पठनपाठन सन्तोषजनक रहेको पटेर्वासुगौली गापाका शिक्षा संयोजक शम्भुप्रसाद साहले बताए । उनले विद्यार्थीहरूको अध्ययनलाई गुणस्तरीय बनाउन गापा अन्तर्गतका विद्यालयहरूमा अनुगमन गरिरहेको र सुधारका लागि सुझाव दिएको बताए ।

पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले कोरोना भाइरसका कारण सिकाइ सहजीकरणका लागि पाठ्यक्रम समायोजन ढाँचा २०७७ निर्माण गरे पनि पर्सा जिल्लाका गापा शिक्षा महाशाखाले त्यसतर्फ ध्यान नदिएको नेपाल शिक्षक महासंघ जीराभवानी गापाका अध्यक्ष कृपासिन्धु पटवारीले आरोप लगाए । उनले पाठ्यक्रम समायोजन ढाँचा २०७७ अनुसार शिक्षकहरूलाई तालिम दिइने र सोहीअनुसार पठनपाठन गराउने हो भने पाठ्यक्रम पूरा गर्न सहज हुने दाबी गरे ।

प्रतिक्रिया