‘जनताको भावना अनुसार काम गर्नु हाम्रो कर्तव्य हो’

भीमबहादुर सेन, अध्यक्ष कपुरकोट गाउँपालिका

सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष हुन् भीमबहादुर सेन । नेकपाबाट निर्वाचित उनी जिल्लाका १० स्थानीय तहमध्ये विकासप्रेमी भएका कारण गाउँपालिकामा मात्र नभएर अन्य स्थानीयमा समेत लोकप्रिय छन् । सेन गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्षसमेत हुन् । कोरोना संक्रमण नियन्त्रणका लागि उनले प्र्रभावकारीे भूमिका खेलेका छन् । जिल्लामा प्रवेश गर्ने मुख्य नाका कपुरकोट भएकै कारण पनि संक्रमण नियन्त्रण गर्नु उनका लागि चुनौती थियो । यिनै समसामयिक विषयमा केन्द्रित रहेर सौर्य दैनिकका लागि अध्यक्ष सेनसँग रमेशकुमार वलीले गरेको संवादको संपादित अंशः

 

कपुरकोट गाउँपालिकामा अहिले कस्ताकस्ता क्रियाकलाप भइरहेका छन् ?
खासगरी आर्थिक वर्ष ०७७/७८ को बजेट कार्यान्वयनका लागि सबै पक्षसँग सहकार्य र समन्वयमा छौँ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणको जोखिम छँदै छ । आवश्यक सुरक्षा सावधानी, आवश्यक सतर्कतासँगै समाजमा सचेतना फैलाउने कार्य जारी राख्दै विकास निर्माणका कार्यलाई कसरी अगाडि बढाउने, नागरिक केन्द्रित दिगो भरपर्दाे विकास कसरी गर्ने भन्नेमा केन्द्रित छौँ ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमण व्यापक भयो । यस्तो अवस्थामा पनि यस गाउँपालिकाभित्र कोराना नियन्त्रण गर्न कसरी सफल हुनुभएको छ ?
कपुरकोट गाउँपालिका कर्णाली प्रदेश प्रवेश गर्ने मुख्य नाका पनि हो । यो नाकाबाट भारतलगायत विभिन्न देशबाट फर्केकाहरू तथा देशका विभिन्न सहर बजारबाट मानिसहरू कर्णालीका विभिन्न जिल्ला भित्रने गर्छन् । यसर्थ कोरोनाको जोखिम पनि देखिने भइहाल्यो । यही कुरालाई मध्यनजर गरेर हामीले कर्णाली प्रदेश सरकारसँगको समन्वयमा गएको १ चैतदेखि नै कपुरकोटमा हेल्थ डेस्क स्थापना गरेर २४ सै घण्टा ज्वरो जाँच तथा आवश्यक परामर्श दिने कार्य गरेका छौँ । १ चैतदेखि असार मसान्तसम्म ५३ हजार ६ सय ९८ जना पुरुष र १५ हजार ९ सय ९३ महिलाको स्क्रिनिङ गरियो । यसका साथै वडाध्यक्षज्युहरूको संयोजकत्वमा सबै वडाहरूमा सतर्कता समिति गठन गरी कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा जनचेतनाका संदेश विभिन्न सञ्चार माध्यमबाट समेत घरघरमा पुर्याउने काम भए । गाउँ टोलहरूमा निगरानी समूह बनाई विदेशबाट फर्किएका व्यक्तिलाई घरपरिवारको सम्पर्कमा जानुभन्दा पहिला आवश्यक परामर्श गरी क्वारेन्टिनमा राखी उहाँहरूको स्वाब संकलन गरी पिसिआर गरियो । गाउँपालिकाले सामुदायिक क्वारेन्टिन, आइसोलेसनको व्यवस्था गरेर कोरोना नियन्त्रण, रोकथामका लागि विभिन्न कदमहरू चाल्यौँ । यसमा नागरिक समाज, राजनीतिक दल सबैसँग समन्वय, सहकार्य गरियो ।

यो गाउँपालिका जिल्ला प्रवेश गर्ने मुख्य नाका पनि भएकाले कोरना संक्रमण नियन्त्रण गर्न जिल्लाका अन्य स्थानीय तहभन्दा बढी भूमिका खेल्नुपर्ने अवस्था थियो त्यसलाई कसरी व्यवस्थापन गरियो ?
मैले अघि पनि भनेँ, कर्णाली प्रदेश प्रवेश गर्ने नाका भएको कारण हाम्रो जिम्मेवारी तथा दायित्व अन्य स्थानीय तहको भन्दा अलि बढी नै रह्यो । कोरोना संक्रमण रोकथामका लागि सुरुदेखि नै हामीले बढी सतर्कता र अभियान सञ्चालन गरेका थियौँ । यसमा स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकाय, प्रदेश सरकार सबै सरोकारवाला निकायहरूको आवश्यक साथ र सहयोग भयो । यस नाकाबाट भित्रने यात्रुहरू, अलपत्रमा परेका नागरिकहरू र वैदेशिक रोजगारीबाट फर्किएकाको व्यवस्थापन गर्न गाउँपालिकाका सबै जनप्रतिनिधिहरू अहोरात्र खटिएर काम ग¥र्यौं । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नाकाको हेल्थडेस्कमा २४सै घण्टा खटेर काम गर्नुभयो । नाकाबाट भित्रने सम्पूर्ण नागरिकहरूको विवरण राख्ने, ज्वरो जाँच गर्ने र उचित परामर्श दिने कामहरू गरियो ।

यस्तै नाकामा अलपत्र परेका अन्य जिल्ला तथा गाउँ÷नगरपालिकाका नागरिकहरूलाई उद्धार, खानपानको व्यवस्था, सवारी साधनको व्यवस्था गरी सम्बन्धित स्थानीयतहसँग समन्वय गरेर सुुरक्षित तरिकाले पठाउने काम गरियो । यस गाउँपालिकाभित्र २३ वटा सामुदायिक क्वारेन्टिन बनाइएको थियो अलपत्र परेकालाई उद्धार गरी गाउँपालिका तथा वडास्तरीय क्वारेन्टिन तथा सामुदायिक क्वारेन्टिनमा पठाउने, क्वारेन्टिनमा रहेका व्यक्तिहरूको स्वाब संकलन गरी प्रयोगशालामा पठाउने र पिसिआर रिपोर्टका आधारमा घर पठाउने व्यवस्था गरियो ।

कोरोनाको नाम सुनेरै मानिसहरू डराइरहेको बेला सडकमा बसेर नियन्त्रणका प्रयासमा जुटेका कर्मचारीको हौसला कसरी बढाउनुभयो ?
यो रोग बढी संक्रामक भएको र सारा विश्वलाई आक्रान्त पारेको अवस्थामा बाहिरबाट आएका नागरिकसँग घुलमिल भई व्यवस्थापन गर्नु सामान्य कुरा थिएन । नाकामा २४सै घण्टा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्य संयोजक, फोकल पर्सन र क्वारेन्टिन तथा आइसोलेसनमा खटिने कर्मचारी बढी जोखिममा थियौँ । हामी जनप्रतिनिधिले उहाँहरूसँगै रहँदा थप आत्मबल बढेको र संक्रमण भित्रन नदिनका लागि काम गर्ने ऊर्जा मिलेको अनुभूति गरेका छौँ । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने सुरक्षाका सम्पूर्ण सामग्री÷उपकरणहरूको समयमै व्यवस्थापन गरिदिँदा स्वास्थ्यकर्मीलाई सहज रूपमा काम गर्ने वातावरण मिलेको छ ।  कोरोना भाइरस रोगको बारेमा सबै जना डराइरहेको अवस्था थियो भने आमनागरिकहरूमा पनि यसको त्रास थियो । यसको लागि हामिले सतर्कता समिति, निगरानी समूह, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, संघसंस्थाहरू, विद्यालय, स्वास्थ्य संस्थाहरू, सामुदायिक समूहहरूमार्फत् समुदायमा व्यापक जनेतनाका कार्यक्रमहरू लगेर घरदैलोसम्म सूचना तथा संदेश दिने काम गर्यौं ।

गाउँपालिकामा बनेका धेरै आइसोलेसन विद्यालयमा थिए । अहिले विद्यालय खुलिसकेको अवस्थामा अब आइसोलेसन नयाँ निर्माण गर्नुहुन्छ ?
प्रदेश सरकारको सहयोगमा र गाउँपालिकाको व्यवस्थापनमा वडा–४ स्थित नेरामावि किमुचौरमा स्थापना गएिको ५० बेडको आइसोलेसन हाल सोही स्थानमा यथावत राखिएको र विद्यायलको पठनपाठनलाई ध्यानमा राखी अर्को स्थानमा स्थानान्तरण गर्ने योजनामा छौँ । संघीय सरकारको कार्यक्रमअनुसार धनवाङ स्वास्थ्यचौकीमा रहने गरी पाँच बेडका कोेभिड विशेष अस्पतालको व्यवस्थापन गरी कर्मचारीहरू पनि नियुक्ति गरिसकेका छौँ ।

गाउँपालिकामा यहाँ निर्वाचित भएर आएपछि जनताले अनुभूति गर्ने गरी के के काम गर्नुभयो ?
हामी कपुरकोटलाई समृद्ध बनाउने दिशातिर अग्रसर छौँ । गाउँपालिकाको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न हुने कुराको महसुस गरी हामीले सुविधा सम्पन्न भवन निर्माण गरी भवनबाट जनतालाई सेवा दिएका छौँ । यस्तै वस्तीमा खानेपानीको समस्या थियो उक्त समस्या अन्त्य गर्न विभिन्न वडाहरूमा लिफ्ट सिस्टमबाट खानेपानी योजना सम्पन्न गरेका छौँ । कति यस वर्ष सुरु भइसकेका छन् । कृषि, पशु र पर्यटनलाई विकास गर्न विभिन्न शाखा कार्यालयबाट धेरै योजनाहरू कार्यान्वयनको चरणमा छन् ।  अब एक/दुई वस्तीवाहेक सबै ठाउँमा सडक पुगेको छ । गाउँपालिकाका मेरुदण्डको रूपमा रहेका मुख्य सडकहरू कपुरकोट गाडापानी हुँदै फालावाङ जोड्ने सडक, कपुरकोट खालि हुँदै दहवन जोड्ने सडक, कपुरकोट रिम हुँदै सिनवाङ जोड्ने सडक, जुन कृषि सडकको रूपमा परिचित छन्, यी सडकहरू निकै साँघुरा, जोखिमयुक्त र वर्षायाममा सञ्चालन हुनै नसक्ने अवस्थाका थिए । यी सडकलाइ फराकिलो बनाउने कार्य भएको छ । जसले तरकारी तथा फलफूल खेतीमा लागेका किसानको उत्पादन बजारसम्म सहयोग पुग्नेछ ।

यस्तै हरेक वडामा कृषि सडक, कृषि टहरा निर्माण गरेका छौँ । कर्णाली प्रदेशको प्रवेशद्वारको रूपमा रहेको कपुरकोट बजारमा खानेपानीको अभाव थियो अहिले लिफ्ट सिस्टमबाट खानेपानी योजना सञ्चालन गरेका छौँ । फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गरेर ट्रयाक्टरबाट नियमित फोहोर उठाइरहेका छौँ । विद्यालयका समस्या समाधान, विद्यालय भवन निर्माण, कृषिलाई व्यवस्थित र आधुनिक बनाउन छुट्टै कृषि मोबाइल एप्स, विद्यालयमा छात्राहरूका लागि निःशुल्क स्यानेटरी प्याड तथा प्राथमिक उपचारका सामग्री र औषधिहरूसहित छुट्टै रेस्ट रुमको व्यवस्था गरिएको छ ।  यो गाउँपालिका बेमौसमी तरकारी खेतीका लागि चर्चित ठाउँ पनि हो बेमौसमी तरकारी खेती प्रवद्र्धनका कस्तो योजना निर्माण भएका छन् ।  गाउँपालिकाको मुख्य नारा नै ‘कृषि, पर्यटन र पूर्वाधार, कपुरकोट गाउँपालिकाको विकासको आधार’ भन्नेछ । गाउँपालिका बेमौसमी तरकारी खेतीका लागि नेपालभरमै प्रख्यात क्षेत्र हो । यहाँका किसानहरूले व्यवसायिक रूपमा खेती गरिरहनुभएको छ । त्यसैले कृषिको धुनिकीकरण र नमुना प्लटहरू निर्माणतर्फ हामीले ध्यान दिइरहेका छौँ । कृषि सडक निर्माण, कृषि टहरा निर्माण, कृषिमा यान्त्रीकीकरण, उन्नत बिउवीजन वितरण, विभिन्न प्राविधिक सेवा, खेती प्रविधिबारे तालिम लगायतका क्रियाकलापहरू निरन्तर चलिरहेका छन्, र यसले नतिजा पनि राम्रै दिइरहेको छ ।

गाउँपालिकामा उत्पादन भएको तरकारीमा विषादी प्रयोग अधिकतम भएको गुनासो छ यसलाई न्यूनीकरण गर्न गाउँपालिकाबाट केही पहल भएको छ कि ?
अधिकतम विषादीको प्रयोग भन्ने कुरा स्वीकार्न मिल्दैन । यहाँ विषादी प्रयोगशाला नभए पनि हामीलाई प्राप्त जानकारीअनुसार विभिन्न सहरमा पुगेको कपुरकोटको तरकारी तथा फलपूmल परीक्षण हुँदा एकदमै खानयोग्य छ । यद्यपि हामीले सुरुदेखि नै विषादीको न्यूनीकरण र अर्गानिक खेतीमा किसानहरूलाई प्रेरित र सचेत गराइरहेका छौँ । यसको असरका बारेमा अभिमुखीकरण गरेका छौँ । यहाँ कृषि उपज बजार सञ्चालक समिति, कृषक मूल समितिलगायत विभिन्न कृषक समूह छन् । उनीहरू पनि गाउँपालिकासँगको समन्वयमा कृषिलाई व्यावसायिक र आधुनिक ढंगले कसरी अगाडि बढाउन सकिन्छ ? कसरी विषादी प्रयोग नगरेरै अर्गानिक तरिकाले खेती गर्न सकिन्छ र कसरी किसानलाई उत्पादनको उचित मूल्य प्रदान गर्न सकिन्छ भनेर लागिरहेका छन् । किसानहरू व्यवसायी बन्नुभएको छ र विषादी न्यूनीकरणसँगै अर्गानिक खेतीतर्फ अग्रसर हुनुभएको छ ।

गाउँपालिकालाई अझै व्यवस्थित बनाउने मुख्य समस्या के के हुन् ? यसको समाधानका लागि कस्तो खालाको रणनीति बनाउनुभएको छ ?
सीमित साधन स्रोतले असीमित आवश्यकता पूर्ति गर्न कठिन हुन्छ । गरिबी, बेरोजगारी, वैदेशिक रोजगारी र अज्ञानता हाम्रा लागि चुनौती हुन् । चुनावी प्रतिबद्धतालाई आत्मसाथ गर्दै विस्तारै हामीले विकासको लय लिन थालेका छौँ । विकास गर्दा अफ्ठेरो स्थिति आउँछन् नै, तर अहिलेसम्मको अनुभवले ती कठिनाइहरूलाई पार गर्दै अघि बढ्न सफल भएका छौँ । नीतिगत ज्ञान, प्राविधिक समस्याहरूले गर्दा जनअपेक्षाअनुसार विकासमा गति दिन नसकेको कुरा केही हदसम्म हामीले स्वीकार्नु पनि पर्दछ । आर्थिक स्रोतको कमी र नागरिकमा चेतनाको कमीलाई मैले प्रमुख चुनौतीको रूपमा ठानेको छु । तैपनि मेरो कार्यकालभित्र देखिने र जनताले महसुस गर्ने गरी कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा आर्थिक विकास र समृद्धिका काम गर्ने गरी योजना निर्माण गरेर अगाडि बढ्ने प्रयत्नमा छु ।

जनताका आवश्यकता समाधान गर्न खोज्दा कस्ता चुनौतीहरू सामना गर्नुभएको छ ?
चुनौती त देखिन्छ नै मैले अघि पनि भनेँ, गर्नुपर्ने धेरै छ, जनअपेक्षा धेरै छन्, तर साधन स्रोतको अभाव छ । तैपनि हामीले प्राथमिकताका आधारमा नागरिकहरूको आवश्यकता पूरा गर्नेतर्फ अग्रसर भइरहेका छौँ । विकासे काममा ढिलो गरी सम्झौता गर्नु हुँदैन असारे विकासलाई ताक्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ भन्ने उद्देश्यअनुसार कामहरू अगाडि बढाएका छौँ । जनताको आवश्यकता के हो ठोस पहिचान गरेर आवश्यकताका आधारमा योजना छनोट गरियो भने त्यसको अनुभूति पनि जनताले गर्न पाउँछन् भनेर हामीले त्यही अनुरुप पूर्वाधार विकाससँगै नागरिकको सीप, क्षमता र चेतनास्तरमा वृद्धि गर्ने गरी काम गरिरहेका छौँ ।

स्थानीय जनताले अब जनताको शासन छ भनेर महसुस गर्नका लागि गाउँपालिकाले मुख्यगरी कुनकुन क्षेत्रमा कार्य गरिरहेको छ ?
हामीले योजनाको पहिचान, योजना तर्जुमादेखि विकासको प्रतिफल वितरणसम्मका हरेक चरणमा समुदायको निर्णायक सहभागिता बनाउने कोशिस सुरुका वर्षदेखि नै गरिरहेका छौँ । यसले पनि हाम्रा नागरिकहरूले विकासमा अपनत्वको महसुस गरिरहनुभएको छ होला जस्तो मलाई लाग्छ । यहाँका विभिन्न सम्भावनाहरूलाइ विकासमा बदल्नका लागि कृषि, पशु, पर्यटन, शिक्षा, पूर्वाधार, उद्यमशीलतालगायत मानव विकासका क्षेत्रलाइ प्राथमिकतामा राखेका छौँ ।

आफैँले निर्माण गरेका नीतिनियमहरू, पुरानो कर्मचारी संरचना, कागजीप्रक्रिया, बजेट अभावजस्ता कुराहरूले कहिलेकाहीँ समस्या ल्याउँछन् कि ल्याउँदैनन् ?
केही केन्द्र तथा प्रदेशका नीति स्थानीय तहमा अनुकूल हुँदैनन् । हामीले स्थानीय तहमा निर्माण गरेका नीतिनियमहरू नागरिकका बीचमा छलफल गरेर बनाइएका छन् । अझै स्थानीयस्तरको मनोभावना र सुहाउँदो नीतिका बारेमा छलफल गर्ने, परिमार्जन गर्ने गरिरहेका छौँ । कर्मचारीको सन्दर्भमा पुराना कर्मचारीबाट त्यति समस्या भएको हामीले देखेका छैनौँ । तथापि नयाँनयाँ कर्मचारीहरू पनि हामीसँग हुनुहुन्छ । पुरानो अनुभव, नयाँ जोश सबैलाई समायोजन गरेर जनशक्ति परिचालन गरिरहेका छौँ । नागरिकका धेरै समस्याहरू अझै पनि समाधान गर्नुपर्नेछन् । नागरिकको काम छिटो छरितो भइदिए हुन्थो भन्ने हाम्रो चाहना हो ।

अब त पाँच वर्षे कार्यकाल पनि सकिँदै छ , यो अवधिमा यहाँहरूले जनताका अगाडि गरेका वाचाअनुसार कतिको काम गर्न सफल हुनुभयो ? अब गाउँपालिकमा गर्नुपर्ने बाँकी कामहरू के के छन् ?
हामीले नागरिकसामु गरेका प्रतिवद्धताहरू क्रमिक रूपमा पूरा गरिरहेका छौँ । चौतर्फी विकासका आधारहरू तयार गरेका छौँ । हामी जनताबाटै जनताकै लागि निर्वाचित भएका आएर हौँ । त्यसैले हामीले जनताको भावना र समस्यालाई समाधानको बाटो पहिल्याउनु हाम्रो कर्तव्य हो । धेरै कुरा अगाडि पनि आइसकेका छन्, निर्वाचित भएपछि पालिकाभित्रका समस्यालाई केन्द्रित गरेर विकास निर्माणका कार्यहरू अगाडि बढाइरहेका छौँ ।  यस्तै योजनालाई प्रभावकारी बनाउन बजेटको सवाल आउँछ, बजेटको अभाव सबैभन्दा ठूलो समस्या हो । केन्द्र र प्रदेशले दिने अनुदानको दायरामा रहेर योजना बनाउनुपर्ने बाध्यता छ । मतदाताका अपेक्षाहरू अनगिन्ति छन् तर स्रोत थोरै छ । सोचेजति काम गर्न गाह्रो छ । सीमित स्रोतसाधन र भौगोलिक विकटताले वस्ती वस्तीसम्म चाहेको जस्तो विकास पुर्याउन समस्या जरुर देखापरेका छन् । समग्र मतदाताले विश्वास गरेर नै मलाई यो स्थानसम्म ल्याइपुर्याउनुभएको हो । यसर्थ विकासमा उहाँहरूको सहयोग पूर्ण रूपमा मैले पाएको छु । म सम्भव भएसम्म सबै वडाका स्थानीय समुदायलाई भेट्ने कोशिस गर्छु, विभिन्न कार्यक्रम र अवसरहरूमा । त्यस क्रममा उहाँहरूले आफ्ना गाउँठाउँका समस्याहरू खुलेर राख्नुहुन्छ, केही दिनुपर्ने सुझावहरू दिनुहुन्छ । यही त हो नि सहयोग । त्यसैले सबै आदरणीय गाउँपालिकावासी आमा, बुबा तथा दिदीबहिनीहरूलाई म धन्यवाद दिन चाहन्छु । र अझै केही सुझाव छन् भने, तपाईंहरूले समस्याहरू बेहोर्नुपरेको छ भने खुलस्त रूपमा मसँग राख्न आग्रह गर्दछु ।

प्रतिक्रिया