‘गोधूलि संसार’ विमोचित

काठमाडौं । साहित्यकार मन्जिला ‘अनिल’ द्वारा लिखित दोस्रो कृति ‘गोधूलि संसार’ उपन्यास सार्वजनिक भएको छ । उक्त कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, सञ्चारकर्मी देवप्रकाश त्रिपाठी, साहित्यकार ज्ञानु पाण्डे, रमेश शुभेच्छुक र कृतिकारले संयुक्त रुपमा विमोचन गरे ।

साहित्यिक पत्रकार संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा कुलपति उप्रेतीले नारी स्रष्टाहरुको अभाव खट्किन नदिन मन्जिलाको लेखनले आगामी दिनमा विशेष भूमिका खेल्ने धारणा व्यक्त गरे । उनले भने, ‘नेपाली साहित्यमा पछिल्लो समय नारी स्रष्टा सशक्त रुपमा अगाडि बढिरहेका छन् । यो निकै सुखद पक्ष हो ।’ विमोचित कृतिका बारेमा साहित्यकार डा. ज्ञानु पाण्डे र रमेश शुभेच्छुकले समीक्षात्मक टिप्पणी गरेका थिए । यसैगरी साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले ऐतिहासिक महत्व रहेको संस्था साहित्यिक पत्रकार संघले आउँदा दिनमा नयाँ ढंगले काम गर्ने धारणा राखे । उनले भने, ‘२०२९ सालमा स्थापित यस संस्थाले आगामी दिनमा नयाँ–नयाँ कार्यक्रमको आयोजना गरी साहित्यिक सक्रियतालाई अझ प्रभावकारी र सिर्जनशील बनाउने छ ।’

कृतिका लेखक ‘अनिल’ ले आफ्नो लेखनयात्रा र कृतिको रचनागर्भका बारे बताइन् । उनले उपन्यासले नेपाली समाजको यथार्थ पक्षलाई चित्रण गर्ने कोशिस गरेका विचार व्यक्त गरिन् । सो कार्यक्रममा गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, नियात्राकार युवराज नयाँघरे, संघका महासचिव पुष्पा खनाल, साहित्यकार द्वारिका कुइँकेलले कृति र कृतिकारका बारेमा चर्चा गरेका थिए । संस्कृतिविद् देउडा गायक यज्ञराज उपाध्याय, शंकर लामिछाने प्रतिष्ठानका महासचिव कमला रिसाल, अनिलनाथ उप्रेतीले गीत सुनाएका थिए । सोही कार्यक्रममा अनेसासको केन्द्रीय उपाध्यक्षमा निर्वाचित साहित्यकार बाबा बस्नेतलाई सम्मान गरिएको थियो ।

त्यस्तै, अमेरिकाबाट नेपाल आएकी साहित्यकार नीता श्रेष्ठलाई सम्मान गरिएको थियो । कोरोनाका कारण सामाजिक दुरी कायम गरी आयोजना गरिएको कार्यक्रममा नेपाली आख्यानमा आएको परिवर्तन र पाठकीय भूमिकाका बारेमा चर्चा गरिएको थियो । संघका अध्यक्ष लेकालीले साहित्यिक पत्रकार संघ नेपाली साहित्यिक समाजमा एउटा विशिष्ट संस्था रहेको जनाउँदै यसले बर्षेनी कविता यात्रा, कथा दिवस, आत्मवाचन कार्यक्रम, साहित्यिक बनभोज कार्यक्रम गर्दै आएको जानकारी दिए । उनका अनुसार संघले मैनाली कथा पुरस्कार, व्यथित काव्य पुरस्कार लगायत स्रष्टाहरुको अभिनन्दन र सम्मान पनि गर्दै आएको छ । यही क्रममा संघले २०३८ सालमा बिपी कोइरालाको अभिनन्दन गरेको थियो । त्यस्तै २०४५ सालपछि २०६४ सालसम्म गाइजात्रे कार्यक्रम आयोजना गरेको जनाउँदै लेकालीले संघले साहित्यिक सक्रियता निरन्तर रुपमा गर्दै आएको उल्लेख गरे ।

प्रतिक्रिया