खुसीको खबर

विगत एक वर्षदेखि विश्वलाई नै तवाह बनाएको कोभिड–१९ महामारी नियन्त्रणमा आउने दिन अब धेरै नै नजिकिएको छ । यतिबेला सारा विश्वका लागि यो भन्दा हर्षको समाचार अरू सायदै होला । बेलायत, अमेरिकालगायत केही मुलुकहरूले अबको एक साताभित्र कोरोना विरुद्धको खोप प्रयोग गर्ने भएका छन् । फाइजर र बायोटेकले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन (खोप) प्रयोगका लागि बेलायत सरकारले अनुमोदन गरेको छ । सबै जनताका लागि खोप लगाने गरी अनुमोदन गरिएको हो । कोरोना विरुद्धको खोप सबैका लागि प्रयोगको अनुमोदन गर्ने विश्वको पहिलो देश बेलायत बनेको छ । खोप प्रयोगमा पनि बेलायत नै पहिलो देश बन्ने संकेत देखिएको बिबिसीले जनाएको छ । बिबिसीले गत मंगलबार जनाएअनुसार यो खोप ९५ प्रतिशतसम्म सुरक्षित छ । आगामी सातादेखि नै उच्च प्राथमिकतामा परेका व्यक्तिहरूलाई यो खोप लगाउन थालिनेछ ।

सुरुमा यो खोप बेलायतमा फ्रन्टलाइनमा काम गरिरहेका व्यक्ति, उच्च हेरचाह गर्नुपर्ने कर्मचारी, सामाजिक हेरचाहकर्मी तथा ८० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई दिइनेछ । यो खोप सन् २०२१ को सुरुका तीन महिनाभित्रै सबै नागरिकलाई पु¥याइसक्ने लक्ष्य बेलायतले लिएको छ । कम्पनीले जोखिममा परेका संक्रमितका लागि सुरुमा एक करोड खोप उपलब्ध गराउने र केही दिनमा थप डोज दिनेछ । फाइजर र बायोटेकले विकास गरेको खोपले विभिन्न चरण पार गरिसकेका छन् ।

बेलायत, अमेरिका लगायतका सम्पन्न राष्ट्रहरूले खोप प्रयोग आरम्भ गरे भन्दैमा हामीजस्ता विपन्न मुलुकका नागरिकहरू तत्काल ढुक्क हुने अवस्था भने छैन । खोप विकास भए पनि विश्वभर पुग्न समय लाग्ने भएकाले विशेषज्ञहरूले कोरोना भाइरसबाट जोगिन उचित ख्याल गर्न आग्रह गरेका छन् । धनी तथा खोप उत्पादक देशहरूले आफ्ना जनतालाई पहिलो प्राथमिकता दिनु स्वभाविकै हो । त्यहाँका सबै जनताले पाएपछि मात्रै हामीकहाँ आइपुग्ने हो । त्यसैले हामीकहाँ आइपुग्न छिटोमा अब ६ महिना लाग्ने अनुमान गर्न सकिन्छ । त्यतिञ्जेल सम्मका लागि धैर्यता तथा समाजिक दुरी कायम राख्दै उच्च सतर्कता अपनाउनुबाहेक हामीसँग अर्को विकल्प छैन । हामीकहाँ कोरोनाको संक्रमण यतिधेरै फैलनुको मुख्य कारण लापरवाही पनि हो ।

कोरोना केही पनि होइन भन्ने दुष्प्रचारको पछि लागेर हामी नेपालीले ठूलो गल्ती गरिसक्यौँ, अब खोप आइहाल्यो भन्दै ढुक्क हुने अर्को गल्ती हामीले गर्नुहुन्न । किनकी कोरोनाले आक्रमण गरिसकेपछि यो खोपले काम गर्दैन । आक्रमण गर्नुपूर्व नै लगाइसक्नुपर्छ । त्यसका लागि कम्तिमा ६ महिना धैर्य गर्नुको विकल्प छैन ।  नेपालमा कत्तिको छिटो र कुन मूल्यमा खोप उपलव्ध हुन्छ ? भन्ने कुरा सरकारका क्रियाकलापमा पनि भर पर्छ ।

कोरोना संक्रमणवृद्धि रोकथाम तथा लक्षणको उपचारका लागि विदेशबाट औषधि उपकरण आयत गर्ने मामिलामा हाम्रो सरकारले ढिलाइ मात्रै गरेन लापरबाहीसमेत ग¥यो । भ्रष्टाचारका समाचारसमेत आए । अनावश्यक उपकरण खरिद गरिएका तथ्यहरूसमेत बाहिर आए । खोप आयत गर्नु भनेको अरू औषधि तथा उपकरण आयत गरेजस्तो सजिलो होइन । बेलायतले अनुमोदन गरेको खोप भण्डारण तथा ओसारपसारका लागि माइनस ७० डिग्री तापक्रम आवश्यक पर्छ । यो तापक्रम म्यान्टेन गर्दै सर्वसाधारण कहाँ पु¥याउन हाम्रोजस्तो मुलुकका लागि मुस्किल हुने विज्ञहरूले बताएका छन् । हामीकहाँ आयत तथा प्रयोग गर्न सकिने भनेको बढीमा माइनस १० डिग्री सेन्टिगे्रड तापक्रममा भण्डारण तथा ओसारपसार गर्न सकिने खोप हो ।

जुन खोप सर्वसाधारणका लागि उपलव्ध हुन अझै केही समय लाग्ने उत्पादक कम्पनीहरूले जनाएका छन् । यसैगरी तराईमा खुला सिमाना भएका कारण खोप तस्करी रोक्नु हाम्रा लागि अर्को चुनौती हो । छिमेकी मुलुक भारतले सहयोगीको भूमिका निर्वाह ग¥यो भने त ठिकै छ, नेपालसँग सीमा जोडिएका क्षेत्रलाई भारतले कम प्राथमिकतामा राख्यो भने हामीलाई समस्या हुने देखिन्छ । संभावित समस्या तथा चुनौतीबारे अहिले नै चनाखो हुँदै जतिसक्दो छिटो खोप आयात गर्नेतर्फ सरकार जुटोस् । साथै निष्पक्ष रूपमा प्राथमिकता निर्धारण गरोस् ।

प्रतिक्रिया