एनएमबिलाई ‘दि बैंकर्स बैंक अफ दि इयर’ अवार्ड

काठमाडौं । एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट सम्मानित गरेको छ । उक्त सम्मान बैंकले विगत चार वर्षमा तेश्रौं पटक प्राप्त गरेको हो । बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामीण भेगमा शाखा सञ्चालन गरि १२ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरिय बैंकिग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले कर्जा लगानीलाई प्राथमिक क्षेत्र, नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायमा उल्लेख्य वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री भएर फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको जनाएको छ ।

एनएमबि बैंक विदेशी लगानीकर्ता संस्थाहरुका लागि नेपाली वित्त बजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक रहेको दाबी गरिएको छ । बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसका विजेताहरुलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकको हितका लागि गरिने पहल जस्ता मापदण्डबाट मुल्याकंन गरिन्छ ।

प्रतिक्रिया