‘बच्चन पाण्डे’ मा ज्याक्लिन

मुम्बई । साजिद नाडियाडवालाको एक्सन चलचित्र ‘बच्चन पाण्डे’ मा अभिनेत्री ज्याक्लिन फर्नाडिजको इन्ट्री भएको छ । अभिनेता अक्षयकुमार, अभिनेत्री कृति सेसन, अरसद वारिसपछि उक्त चलचित्रमा ज्याक्लिनलाई निर्माण पक्षले अनुबन्धित गरेको हो । चलचित्रमा काम गर्ने पक्का भएपछि अभिनेत्री ज्याक्लिनले आफू एकदमै उत्साहित भएको प्रतिक्रिया दिएकी छन् ।

उनले भनिन्, ‘म साजिदका लागि हाउसफूलमा ‘धन्नो’ गीतमा काम गरेकी थिएँ, त्यतिबेलैदेखि हाम्रो सम्बन्ध र मित्रता रहँदै आएको छ । म उहाँसँग फेरि काम गर्न पाउँदा उत्साहित छु ।’ उनले साजिदसँग ‘बच्चन पाण्डे’ ‘जुडवा’ र ‘हाउसफूल’ सिरिजपछिको हाम्रो आठौं चलचित्र रहेको जानकारी दिइन् । अभिनेत्री ज्याक्लिनले आफू अक्षयसँग पुनर्मिलनको लागि उत्सुकतापूर्वक पर्खिरहेको र ‘बच्चन पाण्डे’ का क्रममा निकै रमाइलो गर्ने विश्वाससमेत व्यक्त गरेकी छन् । उनले आफू जनवरीमा सुरु हुने सुटिङको पर्खाइमा रहेको सुनाइन् ।

यसअघिका भूमिकाभन्दा बिल्कुल फरक रहेको प्रतिक्रिया दिँदै उनले आफ्नो भूमिकाका विषयमा तत्काल धेरै बताउन नचाहेको जनाइन् । यस्तै उनी अभिनेता सलमान खानको ‘किक २’ मा समेत अनुबन्ध भएकी छन् । चलचित्र ‘बच्चन पाण्डे’ एक ग्याङस्टारको कथामा आधारित रहेको जनाइएको छ । जसमा नायक बन्ने इच्छा राख्ने ग्याङस्टारको भूमिकामा अभिनेता अक्षय छन् । त्यस्तै, अभिनेत्री कृति पत्रकारको भूमिकामा देखिने जनाइएको छ ।

प्रतिक्रिया