समुदायस्तरमा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यका र प्रदेश–२ मा कोरोना संक्रमण समुदायस्तरमा पुगेको देखाएको छ । सरकारले सातै प्रदेशमा गरेको एन्टीबडी मापन परीक्षणमा उपत्यका र प्रदेश–२ मा समुदायस्तरमै संक्रमण पुगेको देखाएको हो । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोरोना संक्रमण फैलिएका ठाउँबाट ३ हजार १ सय ५० जना व्यक्तिको रगतको नमुना लिएर एन्टीबडी मापन गरेको थियो । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले संक्रमणको तत्कालीन अवस्था र समुदायमा कोरोना संक्रमण कुन स्तरमा फैलिएको छ भनेर थाहा पाउन सेरोलोजी परीक्षण गरिएको बताए ।

अहिलेसम्म सबैभन्दा धेरै कोरोना संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् । एक लाखभन्दा बढि संक्रमित काठमाडौंमा भेटिएका थिए भने त्यसपछि प्रदेश–२ मा सबैभन्दा बढी भेटिएका हुन् । महाशाखाको सर्भे टोलीका सदस्य रामकुमार महतोका अनुसार सबै उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको बताए । बागमती र प्रदेश–२ बाहेकका अन्य प्रदेशमा समुदायस्तरमा संक्रमण नफैलिए पनि कलस्टर केसहरू रहेको पाइएको छ ।

यो सर्भे दसैँअघि दुई हप्ताको समय लगाएर गरिएको थियो । सर्भेमा इडिसिडीका निर्देशक डा. पाण्डेसहित ६ जनाको टोली सहभागी थियो । इडिसिडीले सर्भेको उक्त रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइसकेको छ । तर, मन्त्रालयले भने अहिलेसम्म उक्त रिपोर्ट सार्वजनिक गरेको छैन ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) ले १४ मंसिरमा जारी गरेको नयाँ नक्सा अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दो रहेको देखाएको छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमित नयाँ बजार, सोह्रखुट्टे, चामती, डल्लु, क्षेत्रपाटी, लाजीम्पाट, कुलेश्वर, डिल्लीबजार लगायतका क्षेत्रमा छन् । सिसिएमसीका अनुसार मैतीदेवी, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, लगनखेल, कमल विनायक, इमाडोल, नख्खीपोट, बुद्धनगर लगायतका क्षेत्रमा पनि उच्च संख्यामा कोरोना संक्रमित रहेकाले ती क्षेत्रलाई जोखिम भनिएको छ ।

उपत्यकामा संक्रमित बढेसँगै मन्त्रालयले एन्टिजेन परीक्षण सुरु गरेको छ । उपत्यकामा सोमबारदेखि २० मिनेटमै रिपोर्ट दिने परीक्षण सुरु गरेको हो । करिब एक लाखको संख्यामा परीक्षण गर्ने गरी काम भइरहेको महाशाखाका निर्देशक पाण्डेले जानकारी दिए । काठमाडौं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गरिन सुरु भएको हो । डा. पाण्डेका अनुसार काठमाडौं महानगरका कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । उनले सोमबार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएकोे र २०÷२५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताए । एन्टिजेनमा पिसिआरजस्तै विधि भएको बताउँदै डा. पाण्डेले घाँटीबाट स्वाब संकलन गरेर परीक्षण गरिन्छ ।

संक्रमितको सम्पर्कमा आउनेलाई स्थानीय तहको सहयोगमा एन्टिजेन परीक्षण गरिने थालेको हो । डा. पाण्डेले ३ हजार ५ सय जनसंख्यामा एन्टिजेन परीक्षण गरेर त्यसको नतिजाका आधारमा थप परीक्षण गरिने जानकारी दिए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता हुन्छ ।

यसैबीच, विगत २४ घण्टामा नेपालभरि १ हजार ३ सय ४ मानिसमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ८ हजार ५ सय ८३ जनाको परीक्षण भएको हो । सो अवधिमा २१ जनाको कोभिड–१९ का कारण मृत्यु भएको सरकारी तथ्यांकले देखाउँछ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या २ लाख ३३ हजार नाघेको छ ।

प्रतिक्रिया