सागको खर्च विवरण सार्वजनिक : पूर्वाधारमा दुई अर्ब ८६ करोड र खेलमा एक अर्ब ३१ करोड खर्च

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले गत वर्ष मंसिरमा सञ्चालन भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण एक वर्षपछि सार्वजनिक गरेको छ । राखेपले आइतबार पत्रकार सम्मेलन गर्दै गतवर्ष मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन भएको सागको खर्च विवरण प्रस्तुत गरेको हो । साग सम्पन्न भएको तीन महिनाभित्रै सागको हिसाबकिताब सार्वजनिक गर्ने बताएका राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले तोकिएको समयमा त्यो काम गर्न नसकेको भन्दै क्षमा समेत मागेका छन् । आइतबार सार्वजनिक खर्च विवरण अनुसार साग खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ १५ पैसा खर्च भएको छ । यस्तै पूर्वाधार निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरण सार्वजनिक भएको छ ।

राखेपले सरकारबाट प्राप्त, टिकटबाट उठेको रकम, विज्ञापनको रकम र सहभागी राष्ट्रबाट प्राप्त भएको रकम गरी कूल १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी भएको जनाएको छ । त्यस्तै १ करोड ९३ लाख ८० हजार २२४ रुपैयाँ रकम खर्च गर्न नसकी फ्रिज भएको पनि जनाएको छ । यस्तै टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६७५, विज्ञापनबाट २० लाख ९९ हजार १५० रुपैयाँ र सहभागि राष्ट्रहरुबाट ११ करोड २१ लाख ३५ हजार ५९८ रुपैयाँ प्राप्त भएको सिलवालले बताए । साग प्रतियोगिताको उद्घाटन र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख ८८ हजार ८०४ रुपैयाँ खर्च भएको विवरण राखेपले सार्वजनिक गरेको छ ।

यस्तै होटल बसोबासमा १३ करोड ५९ लाख ६७ हजार ६८३ रुपैयाँ खर्च भएको छ । खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख ८३ हजार ८८१ रुपैयाँ, राष्ट्रिय टीम व्यवस्थापनमा ३० करोड ८० लाख ८१ हजार ९३९ रुपैयाँ खर्च भएको छ । सचिवालय खर्च (काठमाडौं) ६ करोड ७४ लाख ५६ हजार ४७९, पोखरामा ७ करोड ६२ लाख ९८ हजार २२४ र जनकपुरमा ८० लाख ३७ हजार २१२ रुपैयाँ खर्च भएको छ ।

१३ औं सागका पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय संघहरुलाई पुरस्कारवापत २२ करोड ७६ लाख वितरण गरिएको समेत जनाएको छ । उक्त रकम भने सरकारबाटै वितरण भएको राखेपले जनाएको छ । साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख भएपनि आयोजनास्थलको हिसाब किताब समयमा नआएको र कोरोना महामारीका कारण खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको जनाएको छ ।

सदस्य सचिव सिलवालका अनुसार ३ करोड ५५ लाख ७१ हजार १३७ रुपैयाँ बैंक मौज्दात रहेको छ । नेपाल सरकारले प्रतियोगिता आयोजना गर्न १ अर्ब २३ करोड १८ लाख ४८ हजार दिएको थियो । १४ औं साग आयोजना गर्ने पालो पाकिस्तानको भएपनि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन । पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असफल भए बंगलादेश र श्रीलंकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको पनि सिलवालले बताए ।

प्रसारण अधिकारको रकम पाएन
राखेपले सार्वजनिक गरेको आय–व्यय विवरणमा प्रसारण अधिकार रकमबापत प्राप्त गर्ने भनिएको रकम समावेश गरिएको छैन । राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी)सँगको सहकार्यमा सागको सम्पूर्ण प्रसारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चर (नक्षत्र न्युज) लाई बेचेको थियो ।

सम्झैताअनुसार एनके मिडियाले एसएओसीलाई ८ करोड रुपैयाँ र विज्ञापनको ५० प्रतिशत रकम दिने उल्लेख थियो । प्रसारण अधिकार र विज्ञापनवापत प्राप्त हुने रकमको ५० प्रतिशत रकम राखेपले प्राप्त गर्ने उल्लेख थियो । सातै देशमा विभिन्न १५ च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुने सम्झौतामा उल्लेख थियो । तर सम्झौताअनुसार प्रत्यक्ष प्रसारण भएको थिएन भने तोकिए अनुसारको रकम पनि नेपालले पाएको छैन ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले एनके मिडियाले दिएको चेक बाउन्स भएको बताए । सिलवालका अनुसार अहिले नेपाल कानुनी लडाइँमा छ । ‘उनीहरुले चेक दिएका थिए । तर त्यो चेक बाउन्स भयो । उनीहरुसँग वार्तामा छौं । त्यो विषय अहिले मुद्दा मामिलातिर गइसकेको छ । त्यसैले यस विषयमा म धेरै बोल्न चाहन्न’, सिलवालले भने ।

प्रतिक्रिया