‘गारबेज’ धरौटी रकम फिर्ता लग्न आग्रह

काठमाडौं । हिमाल आरोहणका क्रममा फोहरमैला व्यवस्थापनसम्बन्धी राखिएको धरौटी रकम फिर्ता लैजाने नेपाल पर्वतारोहण संघले कम्पनीहरूलाई आग्रह गरेको छ । संघले जिम्मा पाएको हिमाल आरोहणका क्रममा राखिएको धरौटी रकम लामो समयसम्म फिर्ता नलगेपछि संघले कम्पनीहरूलाई फिर्ता लैजान अनुरोध गरेको हो । लामो समयदेखि धरौटीबापतको रकम संघको खातामा रहँदा लेखापरीक्षणमा समस्या हुने गरेको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । ‘चार वटा कम्पनीले विगत आठ वर्षदेखिको रकम फिर्ता लगेका छैनन्, पटकपटक अनुरोध गर्दासमेत फिर्ता लैजान आनाकानी गरेपछि बाध्य भएर रकम जफत गर्ने निर्णयमा पुगेका हौँ’, उनले भने ।

कतिपय कम्पनीहरूले अन्य आरोहणका क्रममा सोही धरौटी रकमको प्रयोग गर्ने भन्दै रकम फिर्ता नलग्ने गरेको संघले जनाएको छ । धरौटी रकम फिर्ता लैजान संघले पटकपटक गरेको अनुरोधमा कम्पनीहरूले अरू आरोहणका लागि प्रयोग गर्ने भन्दै फिर्ता लैजान नमान्ने गरेको महासचिव गुरुङले जानकारी दिए ।  उनका अनुसार गत २९ असोजमा बसेको केन्द्रीय सचिवालय बैठकले धरौटीबापतको रकम लामो समयदेखि संघमा रहँदा समस्या भएपछि धरौटी रकम राखेको मितिले दुई वर्षभित्र फिर्ता नलगेमा संघकै आम्दानी हुने निर्णय गरिएको हो ।

विभिन्न नौ कम्पनीले राखेको गारबेज धरौटीबापतको रकम फिर्ता लगेका छैनन् । नौ कम्पनीको पाँच लाखभन्दा बढी धरौटी रकम संघको खातामा रहेको जनाइएको छ । संघले आरोहण व्यवस्थापन गरेको हिमाल आरोहणका लागि प्रतिसमूह पाँच सय अमेरिकी डलर गारबेज धरौटीस्वरूप राखिने गरिएको छ । संघले १२ मंसिरमा एक सूचना प्रकाशन गर्दै ३५ दिनभित्र उक्त रकम फिर्ता नलगेमा स्वतः संघको आम्दानी हुने भन्दै फिर्ता लैजान कम्पनीहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया