प्रतिष्ठाका लागि पैसा तिरेर आफ्नै छोरीको हत्या

रौतहट । रौतहटमा गत २६ कात्तिक राती गोली प्रहार गरी एक युवतीको हत्या भयो । सुतिरहेकी अमृता कुरारीको दाहिने कञ्चटमा गोली हानी हत्या भएको थियो । आखिर कसले र किन जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोल बस्ने रामअयोध्या साह तेलीको १७ वर्षीया छोरी अमृताकुमारी साहलाई माइती घरमै मा¥यो भन्ने प्रश्न अनुत्तरित रहेका बेला जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको अनुसन्धानपश्चात् आइतबार गरेको पत्रकार सम्मेलनले छर्लंग बनाइदिएको छ । इज्जत, प्रतिष्ठा जाने डर र समाजमा अपहेलित जीवन व्यतित गर्नुपर्ने कारणबाट बाबुआमा र भिनाजुकै योजनामा १७ वर्षीया छोरीलाई गोली हानेर हत्या गराइएको रौतहट प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गौरमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त घटनाका दोषीहरू सार्वजनिक गर्दै एसपी सिद्धीविक्रम शाहले मृतक अमृताको सोही स्थानका ३० वर्षीय सोसिन्द्रप्रसाद भगतसँग विगत तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको भए पनि परिवारको दबाबमा ०७६ साल फागुन महिनामा सर्लाही जिल्ला विष्णुपुर गाउँपालिका–३ मानकी साहको छोरा रुपेश साहसँग मागि विवाह भएकोमा अमृताले प्रेमीसँग मिलेर पतिमाथि छुरा प्रहार गराएर मार्नेसम्म गरेको, रुपेशमाथि छुरा प्रहार भएपछि अमृतालाई माइती घर फिर्ता पठाएर गत असार महिनामा सम्बन्धविच्छेद भएको र सम्बन्धविच्छेद भएपश्चात पति पक्षबाट मृतक अमृता र निजको प्रेमी सोसिन्द्र प्रसाद भगतमाथि ज्यान मार्ने उद्योग मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्तासमेत भएको एसपी शाहले जानकारी गराए ।

अमृता र सोसिन्द्र बीचको प्रेम सम्बन्ध बुबाआमा तथा घरका अन्य सदस्यालाई स्वीकार्य नरहेको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी शाहले पत्रकार सम्मेलनमा जानकारी गराए । समाजमा इज्जत प्रतिष्ठा जाने र अपहेलित जीवन बिताउनु पर्ने सोचेर बुबा रामअयोध्या र गौर नपा–६ सपगढा बस्ने मृतकको भिनाजु लक्ष्मण साहले अमृतालाई हत्या गर्न योजना बनाए । सो योजना अनुरुप परोहा नगरपालिका–४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँमा भारतमा उपचारको बहानामा लगेर हत्या गर्ने तय गरियो । भारत विहारमा विधान सभाको निर्वाचनको कारण त्यहाँ योजना सफल हुनु अगावै अमृता भागेर पुनः माइती घर आएको एसपी शाहले बताए । पहिलो योजना विफल भएपछि पुनः रामअयोध्या र ज्वाई लक्ष्मणले अर्को योजना बनाए । देवाही गोनाही नगरपालिका–२ करुनियाका कैमुल देवान, शेख अलियास, बहुदल भन्ने इस्लाम अन्सारी, शेख इम्ताजलाई एक लाख रुपैयाँमा हत्या गर्ने योजना अनुसार २६ कात्तिक राती अमृताको हत्या गराइएको पक्राउ परेका अभियुक्तहरुले वयान दिएको एसपी शाहले बताए ।

प्रहरी नियन्त्रणमा रहेका मृतक अमृताको बुबा रामअयोध्या, आमा सीतादेवी साह, शेख अलियास, इसलाम अन्सारी, शेख इम्ताज, छोटेलालसहित ६ जनालाई जिल्ला अदलात रौतहटबाट ज्यानसम्बन्धी कसुरमा आइतबार सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको जानकारी दिँदै एसपी शाहले कोभिडको कारण ज्यानसम्बन्धी अपराधमा अलि वृद्धि भए पनि समग्र रूपमा गत बर्षको तुलनामा अपराध घट्दै गएको बताए । समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी २४सै घण्टा खटिरहेको हुँदा आमजनताको सहयोग सहकार्य भएमा रौतहटलाई अपराध मुक्त जिल्ला बनाएर छाड्ने प्रतिबद्धता समेत एसपी शाहले जनाएका छन् ।

प्रतिक्रिया